म बोल्नै परे अङ्रेजी बोलुँला,
हिन्दी, फ्रेन्च बोलुँला अब म मेरो मातृभाषा बोल्दै बोल्दिन !
———-
रेडियो र टिभीमा नबज्ने
मेरो मातृ भाषा
राष्ट्रिय बजेट नपर्ने
मेराे मातृ भाषा
किताब र पत्रिकामा नछापिने
मेरो मातृ भाषा
मेरो जिब्रो र दिमाग बाक्लो पार्ने
मेरो मातृ भाषा
मलाई आदिवासी र मधेसी बनाउने
मेरो मातृ भाषा
अब म बोल्दै बोल्दिन ।
मेरो पार्टी
काङ्ग्रेस एमालेको
सभापति अध्यक्षले
नबोल्ने र नबुझ्ने
मेरो मातृ भाषा
म अब बोल्दै बोल्दिन ।
विद्यालय र विश्वविद्यालयमा
संसद र मन्त्रिपरिषदमा
अदालत र सरकारि कार्यालयमा नचल्ने
शपथ खान काम नलाग्ने
अछुत र बिटुलो मेरो मातृ भाषा
अब म बोल्दै बोल्दिन ।
मेरो देशको राष्ट्रपतिले
प्रधानमन्त्री सभामुखले
प्रधानन्यायाधीश र सेनापतिले
मुख्यसचिव र आईजिपिले
सुन्नै नरूचाउने मेरो मातृभाषा
म अब बोल्दै बोल्दिन ।
मेरो मातृभाषीलाई
खुसि पारेर के पाउँछु
बरू नेपाली भाषीलाई खुसि पारे
साथ पाउँछु साथि पाउँछु
बरू मेराे पार्टीका
अध्यक्षका भाषा बोले
टिकट र ठेक्कापट्टा पाउछु
राजनीतिक नियुक्ति र अस्थाई जागिर पाउँछु
त्यसैले मातृ भाषा बोल्दै बोल्दिन ।
बरू म बोल्नै परे अँग्रेजि बोलुँला
हिन्दी फ्रेन्च बोलुँला
चाईनिज जापानीज बोलुँला
कसम बोल्नै परे म
लेटिन र सँस्कृत बोलुँला
तर मेरो मातृ भाषा
म बोल्दै बोल्दिन ।
मेरो मातृ भाषा बोलेर
म असभ्य र जंगलि हुनु छैन
भिकारि र गरिब हुनु छैन
आत्माग्लानी र लज्जित हुनु छैन
कसैको हाँसोको पात्र बन्नु छैन
सभापति र अध्यक्षलाई रिस उठाउनु छैन
त्यसैले मेरो मातृ भाषा बोल्दै बोल्दिन ।
मेरो शिक्षकले नपढाएको
मेरो प्रोफेशरले नसुनेको
शहरिया समाजले नसिकाएको
त्यस्ता जाबा
पाखे बाजेबजैले चिनाएको
पाखे आमाबाले सिकाएको
पाखे समाजले सुनाएको
मेरो मातृ भाषा
म बोल्दै बोल्दिन ।
मेरा बच्चालाई
मेरा नातानातिनीलाई
मेरा पनातापनातिनीलाई
मातृ भाषा बाेल्नै सिकाउँदिन
काम न काजकाे उखानै छ
बुढा मरे भाषा सरे
तर
म त भन्छु बुढा मरे भाषा मरे
मेरै पुस्तामै भाषा सिध्याउन
म मातृ भाषा बाेल्दै बाेल्दिन ।
खस भाषा त नेपाली भाषा अरे
खस भाषा त राष्ट्रिय भाषा अरे
तर
मगर तामाङ
लिम्बु गुरुङ
नेवार राई
शेर्पा थारु
अवधि भोजपुरी
भाषाहरु
जातीय भाषा अरे
अराष्ट्रिय भाषा अरे
अनेपाली भाषा अरे
यहि कारणले
म मातृ भाषा बोल्दै बोल्दिन ।
मातृ भाषाको कुरा गर्नैपरे
अभियन्ता र नेता बनेर
चुनावको बेलामा
संगठन निर्माणमा
गाउँमा गएर
गँवार जनतासँग
आईफोन किन्न नसक्नेसँग
पब, दोहोरी डिस्को
आउन नसक्ने
जाहाज र गाडि त के
साइकल नभएका दरिद्र जनतासँग
म पनि त मगर हुँ
म पनि त तामाङ हुँ
शेर्पा, लिम्बु हुँ भनौला
भोट दिनुन हाम्रो नेता
हाम्रै मान्छे हुँ भनौला
तर मरिजाम
अरु बेला म मातृ भाषा बोल्दै बोल्दिन ।
मलाई सपना देख्नु छैन
मेरो मातृ भाषा
शासकिय र प्रशासकिय भाषा बनेको
सञ्चार र अध्यन अध्यापन भाषा बनेको
बरु म नोकर नै सहि
कार्यकर्ता नै सहि
सास भाको लास नै सहि
साहस नभएको दास नै सहि
धरोधर्म
म मेरो मातृ भाषा बोल्दै बोल्दिन !
-पूर्ण बहादुर राना