‘रुपन्देही २ का जनताले यसपटक एजेण्डा र इमान्दारिताभएको युवा खाेजेका छन्’-केशवबहादुर थापा (सूर्यवंशी)

Read Time:17 Minute, 29 Second

बुटवल,कार्तिक २१ ।

पाल्पामा जन्मिएर ४३ वर्षदेखि बुटवललाई नै कर्मभूमि बनाएर चिरपरिचित र लोकप्रिय भएका केशवबहादुर थापा (सूर्यवंशी) बुटवल सुक्खानगरका बासिन्दा हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका उनी विद्यार्थी समूहकै नेतृत्व गरी सम्वत् २०४६ को जनान्दोलनमा सलंग्न भएका थिए ।केशवबहादुर थापा (सूर्यवंशी)

वाणिज्य र मानविकीमा स्नातक तहसम्म अध्ययन गरेका उनी त्यसबीचमा बुटवलको मानवज्ञान स्कूल (हाल कालिका मानवज्ञान मावि)लाई सुदृढ् गराउने अभियानमा लागे । त्यहीँ ५ वर्ष पढाए । वर्षे विदामा निःशुल्क शिक्षण कार्यक्रम संचालन गर्ने अभियानको थालनी गरे । त्यसबेला राष्ट्रिय स्तरमै चर्चित नन्दन पुस्तकालयको स्थापना गरी चार वर्षसम्म त्यसको नेतृत्व गरे । नवलपरासीको दुम्कीवासमा लखन थापा मेमोरियल स्कूल स्थापना गरी नेतृत्व दिए ।

साहित्य सिर्जना गरेर कथा साहित्यमा राष्ट्रिय व्यक्तित्व बने । अनेक स्मारिका र किताबहरुको सम्पादन गरे । समाजसेवाका अनेक कामहरुमा संलग्न भए । केही वर्ष पत्रकारिता गर्दै बुद्घ सन्देश, राज्यसत्ता, संघीय एक्सप्रेस लगायतका पत्रपत्रिकाहरुमा सम्पादक, स्तम्भ लेखक र सल्लाहकार सम्पादक भएर काम गरे ।

एक कुशल, स्पष्ट र गम्भीर वक्ताका रुपमा समेत चिनिने उनी विद्यार्थीकालमै युवाहरुका बीचमा राष्ट्रिय रुपमा चर्चित वक्ता भइसकेका थिए । नेकपा मालेसँग पार्टी एकीकरण भई एमाले बनेपछि राजनीतिक मतान्तरका कारण उनी २०५३ मा राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध भए ।केशवबहादुर थापा (सूर्यवंशी)

यो त्यही पार्टी थियो जसलाई इतिहासको एउटा कालखण्डमा कम्युनिष्ट राजनीतिमा चर्चाको केन्द्रमा रहेका नेताहरु एम.एस. थापा र गोरे बहादुर खपांगीले ३२ वर्ष अघि समानुपातिक प्रतिनिधित्वको सैदान्तिक आधारमा स्थापना गरेका थिए । समय क्रममा पार्टीको साधारण सदस्यबाट युवा मोर्चाको नेतृत्व गर्दै केन्द्रीय सदस्य, उपमहासचिव र महासचिव भएर जिम्मेवारी पूरा गर्दै उनी अहिले पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्षको रुपमा कार्यरत छन् ।

पार्टीलाई सैद्घान्तिक र वैचारिक रुपमा जनपक्षीय र सुदृढ गराउँदै कथित् जातीय राजनीतिको साँघुरो घेराबाट निकालेर सबैको साझा बनाउने अभियानमा उनको प्रमुख भूमिका रहेको छ । पार्टीको कार्यक्रम र संगठन, जनजीविका र राष्ट्रिय मुद्दाहरुमा दृष्टिकोण निर्माण र आन्दोलनको दिशा निर्देशमा निरन्तर लागिरहेका उनी मंसिर ४ गतेको निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका छन् । उनै सूर्यवंशीसँग नागरिक अनलाइनले गरेको कुराकानीको सम्पादित अंश–)

बलिया ठानिएका एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावमा भिड्दै हुनुहुन्छ,कस्तो छ चुनावी तयारी ?

नेता निर्माण गर्ने आम मानिसले हो । इतिहासका निर्माता पनि आम मानिस नै हुन् । त्यसैले शक्तिको स्रोत भनेको आम मानिस नै हो । त्यसैले कुन कुन नेता कति शक्तिशाली छन् भन्ने कुरा हाम्रो सरोकारको विषय होइन । हाम्रो सरोकारको विषय राजनीतिक संघर्ष हो, सत्ता संघर्ष होइन ।

महाकवि रविन्द्रनाथ ठाकुरले भने झैं यो संघर्षमा एक्लै हिँड्न पनि तयार भएर हामी निस्केका हौँ । यही क्रममा म अहिले रुपन्देही क्षेत्र नं. दुईबाट उम्मेदवार भएर चुनावी मैदानमा छु । तयारी उत्साहजनक ढंगले अघि बढिरहेको छ । सम्पूर्ण तह र तप्काबाट मैले व्यापक समर्थन र सहयोग पाएको छु ।केशवबहादुर थापा (सूर्यवंशी)

चुनाव जित्ने तपाईंका आधारहरु के हुन् ?
पहिलो कुरा त म यहाँको पुरानो वासिन्दा हुँ । म यहीँको धूलोमा खेलेर हुर्किएको हुँ । शिक्षा, समाजसेवा, साहित्य र पत्रकारिता हुँदै राजनीतिक यात्रामा हिँड्न बुटवलले नै सिकाएको हो मलाई । ४२ वर्षदेखि बुटवल नै मेरो कर्मभूमि रह्यो । त्यसैले यहाँका युवाहरुले, दाजु दिदीहरुले, बुबाआमाहरुले, बाजेबज्यैहरुले म को हुँ र के गर्दैछु भन्ने कुरा राम्ररी बुझ्नु भएको छ । किशोरहरुले बुझ्दैछन् ।
दोस्रो कुरा, गठबन्धनले हामीलाई पूरापूर समर्थन र सहयोग गरेको छ । स्वतन्त्र युवाहरुको ठूलो जमातले सक्रिय भएर हातेमालो गरेको छ । तेस्रो कुरा, हामीसँग विषयहरु छन् । इस्यूहरु छन् । कुनै दलले घोषणापत्र अनुसार काम नगरेर ढाँटेमा उम्मेदवारको पद वा दलको मान्यता नै खारेज गर्न सकिने ‘राइट टू कोर्ट’ को कानुनी अधिकारको एजेण्डा छ । समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको निर्मूलीकरण, पूर्ण सङ्घीयता, नागरिकता र जनजीविकाको अधिकार लगायतका एजेण्डाहरु छन् । जनताले यसपटक एजेण्डा र इमान्दारिता हेरिरहेका छन् ।

स्थानीय एजेण्डाहरु के-के छन् ?
प्रदेश राजधानी खोई ? दुई दशक अघि देखिको झुम्सा खानेपानी योजना खोई ? हरेक वर्ष स्थानीयमा त्रास फैलाउँदै बढ्दै गएको पहिरो नियन्त्रण र सुरक्षाको योजना खोई ? सुकुम्वासीहरुको व्यवस्थित बसाईको योजना खै ? वर्षौअघि बुटवल मण्डपमा शिलान्यास गरिएको बुटवल–नारायणगढ सडक खण्डको विस्तारको काम खोई ? वेलहिया–बुटवलको जस्तो चौडा व्यापारिक सडक त मेचीदेखि महाकालीसम्म थुप्रै छन् तर राजमार्ग चौराहादेखि गोलपार्कसम्म वर्षौदेखि मूल सडकको जुन दुर्दशा छ, त्यस्तो अरु शहरहरुमा कहीँ छ ?

मेगा प्रोजेक्टका रुपमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमाथिको लगानीको औचित्य सावित गर्ने योजना र संयन्त्र खोई ? धागो कारखानाको पुर्नसंचालन खोई ? अंग्रेजलाई हराएको जितगढी किल्लालाई पुँजीकरण गरेको खोई ? साहित्य, कला र संस्कृतिको संवद्र्घन खोई ? सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण खोई ? कतै छ सहरमा एउटा मात्रै सार्वजनिक शौचालय ? कहाँ छ रंगमञ्च ? कहाँ छन् नाट्यशाला र डबलीहरु ? व्यवस्थित रोजगारीका लागि हजारौंका संख्यामा पलायन भइरहेको वा डीभीको लाइनमा उभिएका युवा वर्गले साधिरहेको छ–रोजगारी खोई ? विकास खोई ? दशकौंदेखि खोजिएको समृद्घि खोई ? सवालहरु सयौं छन् ।

यी सवालहरुको जवाफ नखोजेसम्म राजनीतिमा परम्परागत ढाँट र अपराध जारी रहनेछ । हामी राजनीतिमा परम्परागत अपराधका विरुद्घ उभिएको हौँ । त्यसैले सवाल गर्नु अनिवार्य छ । हाम्रा स्थानीय एजेण्डाहरु यिनै सवालहरुमा केन्द्रित छन् । हामी यी सबै समस्याहरुलाई शीघ्र र सरल ढंगले समाधान गर्ने प्रविधि र दृष्टि हामीसँग छ ।

लगातार चुनाव जित्नलाई भोट बैंक बचाइराख्न मुद्दाहरुलाई अल्झाइराख्ने बल्झाइराख्ने प्रवृत्ति विरुद्घ जुझ्नुको विकल्प हामीसँग छैन । किनभने हामी वैकल्पिक शक्ति हौं ।दुई पक्षीय चुनावी द्वन्द्वमा प्रतिद्वन्द्वीले विकासका पूर्वाधार निर्माणका लागि अर्बौ बजेट ल्याएर जनतामा राम्रो एप्रोच र एक्सेस बनाइसकेकाले उनको हाइटलाई चुनौति दिन गाह्रो त छ नि है ? कति बजेट आयो भन्ने कुराले केही अर्थ राख्छ तर बजेट कति आयो भन्दा पनि त्यो के मा र कसरी सदुपयोग वा दुस्पयोग भन्ने कुराले बढी अर्थ राख्छ । पटक पटक सरकारको नेतृत्व गरेको, अर्थ मन्त्रालय सम्हालेको जनप्रतिनिधिको क्षेत्रमा दस बाह्र अरब हाराहारीको मात्रै बजेट आउनु कुन उपलब्धि भयो ? तपाईं अरु जिल्लामा गएको बजेट पनि हेर्नुस् । अनि दुई दशक बढीमा जुन विकास भएको भनिन्छ, त्यो विकासमा रिभोलुशन होइन, इभोलुशन मात्रै हो ।

इभोलुशन त जो कोही सत्तामा गए पनि हुन्छ, हुन्छ । आजको पुस्ताले बिकासमा इभोलुशनले मात्रै सन्तुष्ट हुन सक्दैन । रिभोलुशन खोजेको छ ।तपाईंले जस्तै मलाई धेरैले हाइटको फण्डा सुनाएका छन् । म हाइटमा विश्वास गर्दिन । म कर्म र निरन्तर कर्ममा विश्वास गर्दछु । अढाई दशकको राजनीतिक संघर्षमा आम मानिसले मलाई यही सिकाएका छन् । अनि यो हेभीवेट र हाइटको जुन कुरा छ नि, त्यो त आम मानिसले उम्मेदवारको कथित् हाइट मात्रै सुनुन्, तिनको अनुहार नदेखुन् भनेर ल्याइएको प्रष्ट छ किनभने तिनका अनुहारमा अनेक काण्डका काला काला धब्बा छन् र मुखबाट बासी घोषणपत्रको गन्ध आइरहेको छ ।

उसाेभए चुनाव जित्नेमा आशावादी हुनुहुन्छ ?
हामी देश र आम मानिसको जीवन बदल्न हिँडेका हौँ । हामीलाई निराश हुने छुट छैन । जीतमा हामी आशा गर्दैनौँ, एक सय एक प्रतिशत विश्वास गर्दछौं । हामीलाई आफैप्रति अविश्वास गर्ने छुट छैन । हेर्नोस्, सोह्र ३६ कुलाईका लागि तिनाउमा झाराको काम गर्दागर्दै, तिनाउमा पौडी खेल्दाखेल्दै, तिनाउको बाढी– विध्वंशको पीडा बोध गर्दै र तिनाउको पानी पिउँदै हुर्केको एक साधारण किसानको छोरा हुँ म । मलाई तिनाउको भूगोल र आयतन राम्ररी थाहा छ । मलाई तिनाउको गहिराई थाहा छ । मैले यही कर्मभूमि बनाएर आएको छु । चार दशक बढी यसैसँग दुःखसुख बाँडेको छु । त्यसैले म बुटवल र सेरोफेरोलाई आत्मादेखि नै चिन्दछु । म यो क्षेत्रको सुखदुःख, यसको सपना र यथार्थ, इतिहास र वर्तमानसँग परिचित छु । अब यसको भविष्य बदल्नु छ । त्यो जिम्मा हाम्रै काँधमा छ । यही जिम्मेवारीबोधका कारण मैले सबैको विश्वास पाएको छु । त्यही विश्वासले मलाई जिताउँछ ।

यो गठजोड लामै जान्छ कि चुनावसम्म मात्रै हो ?
हाम्रा मुद्दाहरुमा हामीले गठबन्धनलाई कन्भिन्स गर्न सकेर लान सकेसम्म र गठबन्धनको मुद्दामा हामी कन्भिन्स भएर जान सकेसम्म सहकार्य र सहयात्रा गर्दा उपलब्धिमूलक नै हुन्छ । हामी यसमा स्पष्ट छौं ।केशवबहादुर थापा (सूर्यवंशी)

चुनाव जित्नुभयो भने संसद्मा तपाईंहरुको भूमिका कस्तो रहन्छ ?

पत्रकारिताको पनि एक विद्यार्थी भएको नाताले तपाईंहरुको प्रेस जगत भनेको आवाजविहीनहरुको आवाज हो भन्ने एउटा परिभाषा मलाई थाहा छ । तर बेला बेलामा टाउको उठाउन खोज्ने प्रतिगमनकारी पुरातन राजनीतिको भूतले आम मानिसको आवाजलाई सँधै लत्याउँदै आएको छ । राज्यको चौथो अंग प्रेसको आवाज समेत निमोठ्न खोजेको छ । संसद् भनेको जनताको आवाज उठाउने ठाउँ हो । मुद्दाहरुमा राष्ट्रिय नीति निर्धारण गर्ने ठाउँ हो । कानुन बनाउने ठाउँ हो । जनमतलाई अभिव्यक्त गर्ने ठाउँ हो । जनताको आकांक्षालाई सम्बोधन गर्ने ठाउँ हो ।

तर यो कुरालाई बिर्सेर प्रतिगमनकारीहरु केवल खोक्रा विकास निर्माणका आश्वासन मात्रै बाँडिरहेका छन् । तिनलाई एउटा सांसदको भूमिका के हुनु पर्दछ भन्ने कुरा समेत थाहा छैन । दशकौंदेखि सांसद भएर खोक्रा आश्वासन बाँड्ने बाहेक तिनले तिनले के गरिरहेका छन् ? संसद्मा नजाने, गए पनि हाइ काड्ने, निदाउने, नेताको भाषणमा ताली पिट्ने, कनिका छरेजस्तै बजेट छरेर आफ्नै स्वार्थ पूरा गर्ने बाहेक के गरेका छन् तिनले ? केवल भत्ता तथा सुविधा मात्रै कुम्ल्याइरहेका न छन् ! हामीले त्यस्तो कदापी गर्ने छैनौं । हामी जन आवाजको पहरेदार र प्रतिध्वनि बन्ने छौं ।

तपाईको चुनाव चिन्ह घरमै किन भोट हाल्ने ?
समृद्घिको एजेण्डा कुनै दलको विशेषको एजेण्डा होइन । यो एक राष्ट्रिय एजेण्डा हो । तर भ्रष्टाचारको अन्त्य त्यसको पहिलो शर्त हो । हामी यसमा प्रष्ट छौं । हाम्रो पहिलो आवश्यकता गास, बास र कपास नै हो । त्यसको जोहो नगरी हामी कुनै आकाश खसाल्न सक्दैनौं । हामी चाहन्छौं सबैभन्दा पहिले धरती ओच्छयाएर अनि आकाश ओढेर लालपुर्जाको सपना देख्दै सुत्न अभिशप्त नेपालीहरुको कम्तीमा पनि एउटा व्यवस्थित घर होस् ।

बिहान काम गर्न सक्नेहरु त्यो घरबाट उत्साहपूर्वक काममा जान पाउन्, साँझमा सन्तोषले फेर्न पाउन । त्यो घरभित्र नानीहरुले खुसी पाउन्, वृद्घहरुले शान्तिले सास फेर्न पाउन् । त्यो घरभित्र नानीहरुको कापीकिताब होस् । वृद्घहरुका लागि औषधि र पोषक तत्व होस् । त्यो घरभित्र कमसेकम साँझबिहानमा सजिलै पाक्ने दालभात होस् ।

एउटा त्यस्तो घर जुन घरको हामीले दशकौंदेखि सपना देखिरहेका छौं, चाँडोभन्दा चाँडो त्यस्तो घर सबैको हुनु पर्दछ । त्यसैका लागि हामी सम्पूर्णलाई चुनाव चिन्ह घरमा भोट हाल्न अनुरोध गरिरहेका छौं ।

नागरिक अनलाइनबाट

Source:Nagarikonline.com

4 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %