चितवन (रत्ननगर), २८ असोज
डेङ्गु प्रभावित जिल्ला चितवन र नवलपरासीको स्थलगत अध्ययनका लागि आएको संसदीय टोलीले यहाँ भैआएको डेङ्गु नियन्त्रणको प्रयास अपर्याप्त भएको निष्कर्ष निकालेको छ ।
यही असोज २५ गतेदेखि स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले डेङ्गुका बिरामी, अस्पतालका चिकित्सक, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्राविधिक, इपिडिमियोलोजी महाशाखाका विज्ञ एवम् प्रभावित क्षेत्रका व्यक्तिहरूसँग सुझाव लिएपछि नियन्त्रण प्रयास अपर्याप्त भएको निष्कर्ष निकालेको हो ।
यहाँ तीन ठाउँमा शिविर सञ्चालन गरिएको छ । सर्वसाधारणका लागि चेतनामूलक जानकारी, घरदैलोमा प्रचार र माइकिङको काम हँुदैआएको छ । तर रोगका बारेमा कतिपय सर्वसाधारणलाई थाहा नै नभएको टोलीले बताएको छ ।
डेङ्गु नियन्त्रणका लागि राज्यको सबै अङ्ग तथा स्थानीय सर्वसाधारणको सहयोग आवश्यक रहेको संसदीय टोलीका संयोजक चित्रबहादुर श्रेष्ठले जानकारी दिए । ।
अर्का टोली सदस्य सभासद् उमा रेग्मीले योे क्षेत्र सरुवा रोगको ट्रान्जिट प्वाइन्ट भएकाले दीर्घकालीनरूपमा चितवनमा सरुवा रोग नियन्त्रण अस्पताल बताउनु पर्ने सुझाव दिए । । टोलीका अर्का सदस्य सभासद् शारदा कुमालले स्थलगत निरीक्षणका क्रममा आपतकालीन र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने बताए ।
आजबाट सरकारी बिदा परेकाले दसैँपछि पुनः स्थलगत निरीक्षण गरेपछि आएका सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ ।
टोलीले सरसफाइमा विशेष जोड दिन पनि सर्वसाधारणसँग आग्रह गरेको छ । यहाँ र सुर्खेत क्षेत्रमा गरी सरकारले दुईवटा संसदीय टोली खटाएको हो ।
डेङ्गुको महामारी फैलिएको चितवनमा अहिलेसम्म २९४ जनामा डेङ्गु रोग देखिएकामा दुईजनाको मात्र रोग पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
एकजनाको गत २३ गते डेङ्गुकै कारण मृत्यु भएकोे छ भने एकजनाको ल्याप्टो स्पाइरोसिसबाट ज्यान गएको छ ।
अहिलेसम्म एक हजार ५६७ शङ्कास्पद बिरामीको रगत परीक्षण गरिसकिएको छ । यस्तै ४३ जनामा लेप्टो स्पाइरोसिस र २४ जनामा स्वाइन फ्लु भनेर चिनिने (ए एचवान एनवान) भाइरस लागेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यहाँ बिरामीको चाप भने घट्न सकेको छैन ।
रासस