मास्टर मित्रसेनको १२५ औं जन्मजयन्ती सम्पन्न !

Read Time:12 Minute, 11 Second

त्रिलोक सिंह थापामगर
काठमाण्डौ , पुष २३ । बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ मा भारतको हिमाञ्चल प्रदेश काँगडा जिल्ला भाग्सु धर्मशालाको तोतारानी गाउँमा भएको थियो । सोही गाउँको छेउमा पर्ने तोतारानी गाउँमा ९ अप्रिल १९४६ मा उनको देहावसान भएको थियो ।

मास्टर मित्रसेन थापा मगर आफ्नो समयका महान साहित्यकार, सर्जक, संगीतकार, रङ्गमञ्च कर्मी, तथा समाज सुधारक थिए । यिनी कवि, गीतकार, नाटककार, कथाकार, अनुवादक, निबन्धकार, गायकका साथै धर्म प्रचारक पनि थिए । प्रवासमा जन्मिएर तथा हुर्किएर पनि आफ्नो पितृभूमि नेपाललाई कर्मथलो बनाउने मास्टर मित्रसेन थापाले नेपाली साहित्य संगीत तथा रंगमञ्चिय कला साहित्यमा अतुलनीय योगदान पुर्याएका थिए । यिनी नेपाली गाउँघरको मार्मिक भावहरुलाई समेटेर आफ्ना कृती तथा रचनाहरुमा अत्यन्त मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्न शिपालु थिए । यिनले गद्य, पद्य र नाट्य विद्यामा ज्यादै सारगर्भित, रोचक तथा सन्देशमूलक रचनाहरू सृजना गरेका थिए ।

सन् १९३६ को दशकमा लाहोर, दिल्ली र त्यसपछि काठमाडौ, खर्सायाङ्ग, गनतोक, व्रिटिश गोर्खा र अन्य रेडियो स्टेसनहरू बाट यिनका गीतहरू प्रसारण हुने गरेको थियो । त्यसबेला मित्रसेनको नाम तथा गीतहरू अत्यन्त लोकप्रिय एवं जनप्रिय हुने गर्दथ्यो । नेपाल तथा भारतका विभिन्न शहर, गाउँ, वेशी, पौवा पाटी र घर आँगनहरुमा मित्रसेनका गीत गुञ्जिने गर्दथे ।

मित्रसेन ओझलमा

सन् १९८२ ई. सम्म अर्थात् ६० र ७० वर्षसम्म मास्टर मित्रसेन थापा को हुन्, कहाँ जन्मिए, जीवनमा के कति संघर्ष गरे, साहित्य नाट्य विधा र समाज सुधारमा के कस्तो योगदान थियो भन्ने विषयमा उनका परिवारका सीमित सदस्य तथा केहि मित्रहरु बाहेक अरुलाई केही ज्ञान थिएन । भएता पनि थोरै थियो । यसरी उनका व्यक्तित्व एवं कृतिहरु ओझलमा परेका थिए ।

“मास्टर मित्रसेन साहित्य संगीतमा”

अखिल भारतीय नेपालीभाषा समितिका पूर्वअध्यक्ष प्रख्यात साहित्यकार इन्द्रबहादुर राई भाषा आन्दोलनको सिलसिलामा सन् १९७९ जनावरीमा भाग्सु धर्मशालामा पुग्नुभयो । उहाँको खोज र सल्लाहमा १७ जनवरी १९८२ मा “मास्टर मित्रसेन साहित्य संगीत सभा” भाग्सुका साहित्यकार, सङ्गीतकार तथा समाजसेवीहरुले मिलेर गठन तथा स्थापित गरेका थिए । अर्थात ६० र ७० वर्षपछि सन् १८८४ देखि मात्र मास्टर मित्रसेन थापामगरको जन्मजयन्ती र पुण्यतिथि संस्थात्मक एवं सार्वजनिक रुप मा मनाउने चलन सुरु भयो ।

भाग्सुमा उनको नाममा संस्था गठन भएको १३÷१४ वर्षपछि जन्म शताब्दी समारोहको आयोजना पूर्वअध्यक्ष कर्नेल शिवनारायण गुरुङको सक्रियता एवं पहलमा सम्पन्न भयो । त्यही वर्ष अर्थात् १०० बर्ष पछि २९ डिसेम्बर १९९५ मा काठमाडौंमा डा. हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा शत बार्षिक जन्मजयन्ती समारोह तथा “मास्टर मित्रसेन स्मृति प्रतिष्ठान”को गठन र स्थापना भयो ।
धेरै वर्षसम्म मास्टर मित्रसेनको जन्मजयन्ती र पुण्यतिथी समारोहहरु केवल नेपालको काठमाडौँ र भारतको भाग्सु धर्मशालामा मात्र मनाउने चलन थियो । “मास्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाडौंले मित्रसेनको व्यक्तित्व कृति एवं रचनाहरूको प्रचार प्रसार विभिन्न ठाउँ र मुलुकहरुमा गर्ने गराउने निति तथा कार्यनिति निर्धारण गर्यो ।

“मित्र जन्मजयन्तीको विस्तार”

उक्त मिती अन्तर्गत सन् २००४ मा मगर संघ हङ्गकङ्गका तत्कालीन अध्यक्ष हुमबहादुर थापामगरको सक्रियतामा “मास्टर मित्रसेन साझ” कार्यक्रम प्रथम पटक विदेशमा धुमधामले सम्पन्न भयो । यसैक्रममा प्रर्यावरण विज्ञ र साहित्यकार विजय हितानको पहलमा सन् प्रतेक बर्ष बेलायतमा मित्रसेनको जन्म दिवस मनाउने कार्यक्रम प्रारम्भ भयो ।

“मास्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाडौँको पहलमा सन २०१६ सालदेखि भारतीय मगर समाजका महासचिव रवि रानाको नेतृत्वमा देहेरादुनमा “मास्टर मित्रसेन फुटबल टुर्नामेन्ट” द्वारा युवाहरूमा मित्रसेनको बारेमा परिचय दिने कार्यक्रम प्रारम्भ भयो । सो कार्यक्रम प्रभावकारी थियो । सन् २०१७ देखि नै विश्व मगर महासङ्घका महासचिव बिष्णु राना मगर, बिमल थापा, राजेन थापा, दुर्गा मगर लगायतको सक्रियतामा सिक्किमको पायोङ जिल्लामा मित्रसेन जयन्ती धुमधामले मनाउने कार्यक्रम सुरु भयो । आसाम राज्यमा भरत पुलामीको नेतृत्वमा सन २०१७ सालदेखि मित्रसेन जन्मजयन्ती संस्थापक रुपमा मनाउने कार्यक्रम सुरु भएको हो । सन् २०१५ देखि दार्जिलिङमा प्रारम्भ भयो । सन् २०२० डिसेम्बर २९ का दिन मित्रसेनको १२५औं जन्मजयन्तीको अवसरमा उहाँको शालिक अनावरण भएको छ । मित्रसेनको शालिक भारतको भाग्सु धर्मशालामा सन् २०१६ डिसेम्बर २९ र नेपालको कपिलवस्तु जिल्लाको कपिलधाममा २०१९ डिसेम्बर २९ मा स्थापित गरियो ।

हालका पुस्तक प्रकाशन

विश्व पुस्तक मेला दिल्लीमा प्रसिद्ध लेखक ज्योति मनि थापाद्वारा सम्पादित मित्रसेनको पुस्तक “बुद्ध बाणी”को सन २०१८ सालमा विमोचन भयो । सन् २०१३ सालमा त्रिलोक सिंह थापा मगरको “मास्टर मित्रसेन र उनका सिर्जना” परिचयात्मक पुस्तक, प्रसिद्ध लेखक सुवास दिपकको “मास्टर मित्रसेन थापा” हिन्दी भाषामा, प्रा.डा. खगेन शर्माको अनुसन्धानात्मक पुस्तक “नेपाली संगीतका भानुभक्त मित्रसेन” सन् २००९ मा प्रकाशित भएको पाइन्छ ।

जुममा मित्रसेन जयन्ती

मास्टर मित्रसेन थापा मगरको १२५ औं जन्मजयन्तीका अवसरमा “विश्व नेपाली साहित्य महासँघ” साउथ युकेद्वारा जुम परिचय कार्यक्रम गत ३ जनवरी २०२१ मा आयोजना गरेको थियो । सो कार्यक्रममा डाक्टर खगेन शर्माले भन्नुभयो, “मास्टर मित्रसेन बीसौं शताब्दीका किंवदन्ति हुन्, सामाजिक चेतना देखि जातीय जागरण सम्म ल्याउने काम गरेका छन् । उनको विषय थप अध्ययन आवश्यक छ । ” सोही कार्यक्रममा “मास्टर मित्रसेन साहित्य संगीत सभा” भाग्सुका अध्यक्ष श्रीमती साधना नेपालीले मित्रसेनले गीत–संगीतका माध्यमबाट सामाजिक चेतना फैलाएको बताइन् । मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष त्रिलोक सिंह थापामगरले प्रतिष्ठानको भावी कार्यक्रमबारे प्रकाश पार्नुभयो ।

मास्टर मित्रसेनका विषयमा अन्तर्राष्ट्रिय गोष्ठी संचालन गरिने योजना छ । सो गोष्ठीमा
(क) मित्रसेनका कृतिहरूका पाण्डुलिपिहरूको सम्पादन र प्रकाशन,
(ख) प्रकाशित पुस्तकहरूलाई नेपाली भाषा पढाउने विद्यालयहरूको पाठ्यक्रममा समावेश गर्ने,
(ग) साहित्यका र सङ्गीतकारहरुका पर्यटन प्रर्वद्धन र
(घ) भावी पुस्ताहरूलाई मित्रसेनको विषयमा के कसरी जानकारी गराउने आदि विषयहरुमा छलफल विचारविमर्श सञ्चालन र निष्कर्ष निकालने प्रयास हुनेछ ।
मास्टर मित्रसेन भारतीय साहित्यका निर्माता र भारतीय नेपाली भएकाले भारतका प्रत्येक गोर्खाली बसोबास गरेको शहरहरुमा मित्रसेन संस्था खोल्ने अभियान सञ्चालन गर्ने ।
त्यस्तै मित्रसेन नेपाली संस्कृति र साहित्यका प्रवर्तक भएको हुँदा नेपालका विभिन्न शहरहरुमा पनि मित्रसेनका नाममा संस्थाहरु क्रमश स्थापित र गठन गर्दै प्रयास गरिने छ भनेर थापाले बताउनुभयो ।

उक्त गोष्ठीमा नेपाल, भारत, यूके, रसिया, अमेरिका, इजराइलबा ९० जनाभन्दा बढी साहित्य, संगीत, समाजसेवी अभियान्तहरुको सहभागिता थियो । विभिन्न संघसंस्थाहरूको संलग्नता थियो । प्रख्यात कलाकार, संगीतकार र साहितयकार क्याप्टेन वीरबहादुर थापा, थिर थापा, प्रतिमा पुर्जा, मनिष, प्रवल थापा, लखन थापा, सुरेन्द्र इङनाम, सेमन्त राई, भरत लोहोङ, मिरा राना आदिको प्रस्तुतिले कार्यक्रम संगीतमय र अन्यन्त मनोरञ्जक भएको थियो ।
सोही अवरसमा औतारी साइँलाको कविता पाठले साहित्यिक वातावरण सिर्जना गर्यो । युके मगर संघका प्रतिनिधीले आगामी वर्ष मित्रसेन जन्मजयन्ती कार्यक्रम भब्य रुपले मनाउने बताउनुभयो । यसै क्रममा विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिजय हितानले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सुचनामुलक र साहित्यिक, सांगीतिक तथा प्रेरणात्मक वातावरणमा सम्पन्न भएको दर्शकहरूको निक्र्योल थियो । कार्यक्रम संचालकले अति कलात्मक ढंगले कार्यक्रम संचालन गरेका थिए ।

triloksthapa@gmail.com
लेलक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %