“नेपाल मगर संघ”लाई केही व्यक्तिगत सुझावहरु (खण्ड चार)

Read Time:7 Minute, 47 Second

–त्रिलोक सिंह थापा मगर
परापूर्वकालदेखि मगर जनजातिको पहिचान, अस्तित्व, मौलिक संस्कृति, सभ्यता, इतिहास, सामाजिक परम्परा, संस्कार, धार्मिक आस्था रितीथितीहरूलाई जोगाउन, संरक्षण, संवद्र्धन र समयानुकूल परिमार्जित, सुधार गर्न वर्तमान पुस्ताका मगरहरूको कर्तव्य हो । मुलुकको लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यासमा प्रत्यक्ष रूपमा संलग्न, सहभागीता, सहकार्य र नेतृत्व लिन मगरहरूको हक र अधिकार हो । मगरहरूको गुमेको, अतिक्रमित गरिएको, खोसिएको भूमि “मगरात परदेश” फिर्ता लिन र प्राप्त गर्न “नेपाल मगर संघ”को प्रमुख दायित्व हो । अतः

मगरात प्रदेश :

१) “मगरात प्रदेश”कोे प्राप्तिका लागि सञ्चालन गरिएको “संयुक्त मगर मञ्च”लाई “मगरात जन आन्दोलन” वा “मगर जनआन्दोलन”को रूपमा रूपान्तरित गरेर अझ बढी सशक्त तथा निर्णायक बनाउन सर्वसम्मतिबाट निर्णय लिनुपर्ने ।

सांस्कृतिक–सामाजिक आन्दोलन (Socio-Cultural Movement)

२) “मगर मुक्ति” तथा मगरहरूको बहुमुखी प्रगति र विकासका लागि परम्परागत ढङ्गबाट सञ्चालन गरिएको संघर्ष भन्दा पनि बौद्धिक, सामाजिक, सांस्कृतिक तथा मगरहरूको भावनात्मक जनआन्दोलनको रुपमा अगाडि बढाउने निर्णय लिनुपर्ने ।

राजनिती मुक्त नेपाल मगर संघ

३) विभिन्न राजनीतिक दलहरूको चासो र प्रभावबाट “नेपाल मगर संघ”लाई सकेसम्म मुक्त हुन संघको केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नवनिर्वाचित पदाधिकारीहरुले आफ्नो पदावधि सम्मको लागि मात्र सम्बन्धित राजनीतिक दलहरूको साधारण सदस्यबाट स्वेच्छाले राजीनामा दिने निर्णय लिनुपर्ने ।

संगठन :

४) “मगरात प्रदेश” का लागि सञ्चालन गरिने मगर जनआन्दोलनलाई सशक्त तथा निर्णयक बनाउन संघीय, प्रादेशिक र स्थानीय तहहरुमा “मगरात जनआन्दोलन समिति” वा “मगर जनआन्दोलन समिति”हरु गठन वा पुनर्गठन गर्ने निर्णय गर्ने ।

५) “मगरात जनआन्दोलन समिति” वा “मगर जनआन्दोलन समिति”लाई समावेशी, प्रतिनिधिमूलक र एकवद्ध बनाउन विभिन्न राजनीतिक दल, प्राज्ञिक, बुद्धिजीवी, सामाजिक अभियन्ता, व्यावसायिक, पूर्वकर्मचारी, जेष्ठनागरिक, विषय विशेषज्ञ आदि मगर समुदाय तथा गैर मगर समुदायका प्रतिनिधित्व संलग्न वा सभागीता गर्ने गराउने निर्णय गर्ने ।
मगर अनुसन्धान अनुसरण उपाध्यक्ष

६) मगर र मगरात प्रदेशको ऐतिहासिक दस्तावेज, पुरातात्विक स्थल, भवन, शिलालेख, गुठी, देवीस्थान, कोत, वंशावली, ताम्रपत्र, सामाजिक, सास्कृतिक, धार्मिक, राजनैतिक आदि दस्तावेज र मगरभाषामा नामाकरण गरेका स्थलहरूको निरन्तर खोजी, अनुसन्धान गर्न आवश्यक संयोजन र चाँजोपाँजो मिलाउन नेपाल मगर संघको केन्द्रीय समितिमा “अनुसन्धान मुल्यांकन वा अनुसरण उपाध्यक्ष” पद सिर्जना गर्ने निर्णय गर्ने ।

मगर प्रकाशन उपाध्यक्ष :

७) मगर समाज तथा मगरात राज्यको इतिहास, मगरहरूको परम्परिक संस्कृति, धर्म र सामाजिक संरचना आदि विविध विषयमा लिपिबद्ध साहित्यको अभाव रहेको छ । तुलनात्मक रुपमा विशाल मगर समाजको बारे आधिकारिक लिखित जानकारी बहुत कम उपलब्ध छ । पुरानो इतिहास बनाउने बुढापाकाहरूको संख्या पनि बिस्तारै बिस्तारै घट्दै गइरहेको छ । मगरात राज्यको लिखित पुष्टिका लागि पनि लिखित प्रमाण आवश्यक पर्दछ । अतः पुरानो दस्तावेज संकलन, सम्पादन, प्रकाशन तथा मगरात पत्रिकाको सार वृद्धिका लागि आवश्यक संयोजक चाँजोपाँजो मिलाउन “मगर प्रकाशन उपाध्यक्ष” पदको नेपाल मगर संघ केन्द्रीय समितिमा पद सिर्जना गर्ने निर्णय गर्ने ।

मगर दक्षजनशक्ति :

८) समाज र मुलुकको सम्बृद्धि, समुन्नति तथा बहुमुखी प्रगति र उन्नतिका लागि एकमात्र मुख्य आधार दक्ष प्रशिक्षक, कुशल, सक्षम तथा उच्च शिक्षा प्राप्त गरेका मानवीय जनशक्ति हो । (Human Resource) अतः मगर दक्षजनशक्ति, कुशल, सक्षम मगर जनशक्ति, उच्च शिक्षा तथा प्रशिक्षित शक्ति उत्पादन गर्न गराउन समन्वय र संयोजनका (Coordination) लागि नेपाल मगर संघ केन्द्रीय समितिमा “मगर जनशक्ति उपाध्यक्ष” पदको सिर्जना गर्नुपर्ने निर्णय गर्ने ।

मगर जनजाति :

९) राणाकालीन मुलुकी ऐनले मगर जनजातिलाई हिन्दू वर्ण व्यवस्था अन्तर्गत जाति (Caste) शब्द भिराएको हुँदा सो मिल्दैन । अतः अब उपरान्त मगरहरुले “मगर जाति” भन्नुभन्दा पनि “मगर जनजाति”, “मगर समाज”, “मगर समुदाय”, “आदिवासी मगर”, “मगर मुलवासी”, “मगर समूह” आदि शब्दहरुबाट सम्बोधन गर्ने चलन गर्ने निर्णय गर्ने ।
मगरात दिवस

१०) “मगरात प्रदेश”को ऐतिहासिक महत्व, अस्तित्व, आवश्यकता, भावी उपलब्धिहरूको बारेमा मगर र गैर मगर समाजमा जानकारी गराउन, जनचेतना जगाउन, जागरूकता बढाउन, प्रचारप्रसार गर्न गराउन आवश्यक छ । अतः अब उप्रान्त “फाल्गुन १५ गते”को दिनलाई “लाङ्घाली दिवस”, “मगर दिवस” वा “मगर एकता दिवस”को ठाउँमा “मगरात राज्य दिवस” वा “मगरात प्रदेश दिवस” को नामाकरण गरी सम्बोधन गरेर समारोह उत्सव मनाउने निर्णय गर्ने ।

ज्य मगरात
लेखकको परिचय :
त्रिलोक सिंह थापा मगर
पूर्व वरिष्ठ अधिकृतः नेपाल सरकार,
अध्यक्षः मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, नेपाल,
सल्लाहकारः नेपाल मगर संघ, नेपाल,
सल्लाहकारः हिमाली मिलन केन्द्र, नेपाल,
सल्लाहकारः प्रथम सहित लखन थापा प्रतिष्ठान, नेपाल,
सल्लाहकारः नेपाल हंगेरी मैत्री संघ, नेपाल र
सामाजिक विश्लेषक, लेखक समाजसेवी हुनुहुन्छ ।
triloksthapa@gmail.com

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %