– त्रिलोक सिंह थापा मगर
नेपाल अधिराज्यमा १६औं सताब्दीसम्म मगरहरूको साना–साना राज्य र थुमहरु थिए । साथै विशाल “मगरात राज्य” पनि थियो । मगरात राज्यको छुट्टै स्वतन्त्र अस्तित्व र आफ्नै पहिचान थियो । प्राचीन समयमा मगरात राज्य अत्यन्त गौरवशाली राज्यको रुपमा प्रख्यात थियो ।
इतिहासकारहरूको अनुसार १४औं शताब्दीको प्रारम्भ तिर भारत दिल्लीमा सुलतान अलाउनदिन खिलनजीको आक्रमण, अत्याचार, दमन तथा हिंसाबाट आफूलाई सुरक्षित राख्न आफ्नो जिउ तथा इज्जत जोगाउन शाह राजाका पूर्वज र वंशहरु मध्ये पश्चिम नेपालका भूखण्डमा पसेका थिए । मगरात राज्यका मगर राजाहरूले उनीहरुलाई आश्रय दिएका थिए । भारतबाट नेपाल पस्ने राजपुत राजाहरुलाई मध्यपश्चिम नेपालका भिरकोट खिल्लुँ भन्ने ठाउँमा बसोबास गर्न व्यवस्था मगर राजाहरूले मिलाइदिएका थिए ।
भारतका चितौड राज्यबाट आएका राजपुतहरुले केहीसमय र कालपछि मगरात भेगमा आ–आफ्नो राज्यहरू खडा गर्न थाले । साम, दाम, दण्ड र भेदको नीति अनुसरण गर्दै सबभन्दा पहिले ढोर र नुवाकोटमा आफ्नो राज्य स्थापना गरे । त्यसपछि सन् १५५९ ई.मा मगर राजा मान सिंह खड्का लाई षड्यन्त्र पूर्वक विस्थापित गरेर गोर्खा राज्यमा आफ्नो वंश शाहा राजाहरुले स्थापना गरका थिए । सो को विवरण इतिहासमा उल्लेख गरिएको छ । यसरी नै विशाल मगरात राज्यको विघटनको काम शुरु भएको थियो । सानासाना मगर राज्यहरु पनि क्रमिक रुपले छिन्नभिन्न र लोप हुन थाले ।
लिपिबद्ध प्रमाणको अभाव :
क) नेपालको इतिहासमा मगर जातिको लामोसमय र काल सम्म शासन गरेको थियो । मगरहरुले आफ्नै राजनैतिक, सामाजिक, सांस्कृतिक एवंम् आर्थिक संरचनाहरू विकास गरिसकेका थिए । आर्थिकरुपमा मगरात राज्य आत्मनिर्भर थियो । साथै मगरहरु स्वावलम्बी थिए । आफ्नै जीवन शैली, धार्मिक आस्था, संस्कार, परम्परा, सामाजिक मूल्य र मान्यता आदि तयार गरी सकेका थिए ।
ख) मगरहरुले स्थानीय वातावरणअनुसार तीन थरीका मगर भाषाहरु पनि विकसित गरेका थिए । (काइके, मगर पाङ र मगर ढुट) प्राचीन समयमा मगर भाषाको अक्खा लिपी पनि तयार गरेका थिए । यसरी मगर जनजाति प्राचीन समयमा आदिम सभ्यता तथा संस्कृति भन्दा (Primitive Culture) धेरै माथि उठिसकेको प्रमाणित हुन्छ । उच्चस्तरको सभ्यता विकसित गरिसकेका थिए ।
ग) समृद्धिशाली मगर समाजको उत्पती, उद्भव, विकास लामो अवधिसम्म शासन गरेको क्रमिक विवरण आदिबारे कुनै दस्तावेज, हस्तलिखित पुस्तक, वंशावली, ताम्रापत्र, शिलालेख, अड्डा कागज र अन्य प्रमाणहरु प्रायः भेटिँदैन । केही प्रमाणहरु भेटिए पनि धेरै कम संख्या तथा अपुरो मात्र भेटिन्छ ।
घ) मगरहरूको सुनौलो इतिहास एक पुस्ताबाट अर्को पुस्तासम्म केवल मौखिक रूपमा मात्र हस्तान्तरण गर्ने चलन रहेको पाइन्छ । आज पनि त्यही चलन मगर समाजमा विद्यमान रहेको देखिन्छ । लिपिबद्ध गर्ने गराउने संस्कृति आजसम्म मगर समाजमा स्थापित हुनसकेको देखिँदैन । मगरहरुमा लेख्ने र लिपिबद्ध गर्ने बानी तुलनात्मक रुपमा अझ पनि कमै जस्तो छ ।
ङ) अर्को कारण हो, तत्कालीन राज्य सत्ताले नियोजित रुपमा मगराती संस्कृतिको लिपीबद्ध प्रमाण, दस्तावेज र इतिहासहरु आगोमा बालेर नष्ट गरेका थिए । साथै केही मगरहरूले पनि पुराना दस्तावेजहरुको संरक्षण प्रति चासो राखेन जस्तो देखिन्छ ।
च) तत्कालीन राज्यसत्ताले खानी उद्योगमा काम गर्ने मगर श्रमिकहरुलाई आफ्नो मातृभाषा बोल्दा चार पैसा डण्ड सजाए र तिर्न नसक्नेहरूको जिब्रो काट्ने कानून बनाएका थिए । मगरभाषामा गीत गाउन र नाचगान गर्न बन्देज थियो । यसरी मगरहरूको ऐतिहासिक दस्तावेज नष्ट गर्न तथा संस्कृतिहरुलाई समाप्त पार्न तत्कालीन राज्यसत्ताको निरन्तर प्रयास रहेको थियो ।
छ) वर्तमान समयमा मगर जनजातिको इतिहास, ऐतिहासिक दस्तावेज, सामाजिक सांस्कृतिक, धार्मिक साहित्यको खोजी र अनुसन्धान गर्न तथा लिपिबद्ध गर्न आवश्यक चाँजोपाँजो र वातावरण मिलाइदिने दायित्व नेपाल मगर संघको हुन्छ । भावी पुस्तालाई आफ्नो इतिहासको ज्ञान आवश्यक छ । भनिन्छ इतिहासको ज्ञान भयो भने नयाँ इतिहास रच्न सकिन्छ ।
राजनैतिक परिवर्तन र मगर :
क) नेपालको हरेक राजनीतिक परिवर्तनहरुमा मगर समुदायको अत्यन्त सक्रिय सहभागिता, संलग्नता, सहयोग तथा सहकार्य रहेको इतिहासकारहरूले उल्लेख गरेका छन् । वि.सं २००७ सालको क्रान्तिमा तुलनात्मक रूपमा धेरै संख्यामा मगरहरुले आफ्नो जीवनको बलिदान गरेका थिए । विसं २०४६, २०६२ र २०६३ सालहरुका जनआन्दोलनहरुमा मगर जनजातिको अत्याधिक सहभागिता थियो । माओवादीको दश वर्ष जनयुद्ध को मुख्य कर्णधार तथा आ–आफ्नो प्राणको आहूती दिने मगरहरूको संख्या तुलनात्मक रूपमा अरु समुदायभन्दा बढी थियो ।
ख) नेपालमा हुने प्रत्येक राजनीतिक परिवर्तन, आन्दोलन, संघर्ष र जनयुद्धहरुमा मगरहरूको संलग्नता तथा जिउ ज्यानको आहुति तुलनात्मकरुपमा बढी देखिन्छ । तर सो अनुसारको प्रतिफल मगर समुदायले प्राप्त गरेको देखिँदैन । प्राय यो प्रश्न मगर समाजमा उठिरहेको हुन्छ ।
ग) केही मगरहरूको आफ्नो व्यक्तिगत प्रयासमा सत्ताको सर्वौच्च स्थानहरुमा पुग्न सफल भएका छन् । तर सामूहिक र समूहगत रुपमा मगरहरूको आधिपत्य, पहुँच तथा पकड राष्ट्र र राज्यको सर्वोच्च पदहरूमा देखिँदैन । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, शैक्षिक, प्राज्ञिक, आर्थिक, वित्तीय, सरकारी संस्था, सुरक्षा, संस्कृति, सञ्चारहरुका उच्चपदहरूमा जनसङ्ख्याको आकारको तुलनामा मगरहरूको उपस्थिति नगण्य देखिन्छ ।
घ) त्यस्तै राष्ट्रिय राजनीतिक दलहरूको सर्वोच्च निकायहरुमा पनि मगर राजनीतिज्ञहरूको पहुँच पुग्न सकेको छैन । मगर राजनीतिज्ञहरूको प्रभावकारी भूमिका देखिँदैन ।
ङ) मुलुकको कुल जनसंख्यामा तेस्रो स्थान ओगटेका मगर समुदाय आज पनि राज्यसत्ताबाट अवहेलित, उत्पीडित तथा उपेक्षित नै छन् । यसका मुख्य कारणहरु निम्नानुसार परिभाषित गर्न सकिन्छ ।
केहि कारकहरूः
१) संविधानको समावेशी भावना एकातिर छ भने राज्य सञ्चालकहरूको धारणा तथा सोचाइ अर्कोतिर देखिन्छ । राज्यसत्तामा पहुँचहुनेहरुले अझ पनि विविध समुह, समुदाय र जाति जनजातिहरूको अस्तित्वलाई आत्मसात गर्न सकेका छैनन् । अझपनि शासकहरूले मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, आर्थिक विविधतालाई केवल एक पक्ष परम्परावादी र पुरानो दृष्टिकोण बाट हेर्ने तथा बुझ्ने चलनलाई परित्याग गर्न सकेका छैनन् ।
२) नेपालको संविधानले संघात्मक प्रणालीलाई स्वीकार गरेको छ तर शासनप्रणाली हाक्नेहरुले अझसम्म केन्द्रीकृत शासन प्रणाली प्रतिको मोह परित्याग गर्न सकेका छैनन् । आदिकालदेखि जनजातिको पहिचान, चिनारी तथा अस्तित्वलाई आत्मसात र स्वीकार गर्न सकेका छैनन् ।
३) उपरोक्त सोचाईहरुले गर्दा नीति निर्धारण गर्ने आर्य समूहले नियोजित ढंगबाट २ नम्बर प्रदेश बाहेक अरु प्रदेशको स्थापनामा केवल भूगोल र भूमीलाई मात्र आधार लिएको देखियो । प्रदेशहरूको नाम पनि भौगोलिक आधारमा राखियो । पहिचानको आधारमा प्रदेश पुर्नगठन गर्दा सामाजिक वैमनस्यता र सामाजिक दूरी बढ्दछ भन्ने धारणा पेस गरियो । साथै साना–साना प्रदेशहरूको गठन गर्दा राष्ट्रले खर्च धान्न सक्दैन समेतको तर्क अघि सारियो । यसरी जनजातिको पहिचानको मुद्दालाई न्यूनीकरण गरियो ।
सारांश :
तीन वर्षदेखि २ नम्बर प्रदेशमा सामाजिक समाजस्यता, समपिता तथा सद्भाव पहिले भन्दा अझ बढी भएको पाइन्छ । विभिन्न समुह, समुदाय र समाजमा निकटतामा वृद्धि भएको देखिन्छ । साना–साना प्रदेश भएमा व्यवस्थापन छरितो हुने, स्थानीय स्रोत र साधनको प्रभावकारी परिचालन हुने कारणले गर्दा आर्थिक उत्पादनमा बृद्धि हुने देखिन्छ । यसरी राष्ट्रिय खर्चमा भार कम हुन्छ ।
उदाहरणका लागि भारत सरकारले पंजाव राज्यलाई हरियाणा र हिमाञ्चलमा तथा उत्तर प्रदेशबाट उत्तराखण्ड छुट्याएर साना–साना राज्य स्थापित गर्यो । त्यसपछि यी साना–साना राज्यको प्रगति र समृद्धिमा तिव्रता आएको पाइन्छ । नागा जातीय राज्य नागाल्याण्ड राज्यको विकास र प्रगति राम्रै देखिन्छ । साना–साना राज्यमा जनताको शासन–प्रशानमा सहभागिता बढी हुन्छ । लोकतन्त्र संस्थात्मक विकास गर्न पनि सहयोग पुग्छ ।
शक्तिशाली मगर मतदाता :
नेपालको संविधान २०६२ अनुसार बालिक मताधिकार र आवधिक निर्वाचन पद्धति दुवै लोकतान्त्रिक प्रणालीको मुख्य आधारहरु हुन् । यदि मगर जनसंख्यालाई तीन प्रदेशमा विभाजन नगरेको भए मगर मतदाता तुलनात्मक रुपमा शक्तिशाली रुपमा अघि थिए ।
क) मुलुकको कुल जनसंख्यामा मगरहरु ७ प्रतिशतभन्दा बढी छन् । (१८,८७,७३३), क्षेत्रीहरु १६ प्रतिशत (४३,९८,०५३), बाहुनहरू (३२,२७,९०३) मगरहरूको जनसंख्या भन्दा क्षेत्री तथा बाहुनको जनसंख्या बढी देखिन्छ । यिनीहरु अधिराज्य भरी फैलिएका छन् । त्यसका लागि यिनीहरु मतदाताको हैसियतमा शक्तिशाली देखिदैन । कणार्लीमा खसहरूको सख्या बढ्दै छ ।
ख) मगरहरू पनि अधिराज्य भरि छरिएर बसोबास गरेता पनि पहिलेको लुम्बिनी अञ्चलको कुल जनसंख्यामा पहिलो स्थान तथा गण्डकी अञ्चल दोस्रो स्थान रहेको छ पाल्पा, रोल्पा, तनहुँ, बाग्लुङ, प्युठान र म्याग्दी जिल्लाहरुमा (६ वटा) मगरहरूको अत्याधिक घना तथा सघन बस्ती र बसोबास देखिन्छ । १३ वटा जिल्लाहरुमा मगरहरूको जनसंख्या दोस्रो स्थानमा रहेको पाइन्छ । निर्वाचनमा समुदाय र सम्प्रदायको प्रभाव पर्नु विकासोन्मुख राष्ट्रहरुमा स्वाभाविक कुरा हो ।
सामाजिक ऐकबद्धता र शिक्षा :
क) मगर समाजमा धेरै थर र उपथरहरू भएतापनि सामाजिक विभिन्नता, सामाजिक सार र सामाजिक दुरी पाइदैन । (Social difference, social stratification, social distance) आर्यहरु र केही जानजातिमा यस्तो विभेद देखिन्छ । मगरहरूको भाषाहरु पनि तीनवटा छन् । संस्कृति पनि ठाउँ अनुसार फरक–फरक पाइन्छ । तै पनि मगर समाज एक ढिक्का, एकबद्ध र संगठित समुदाय नै छ । हाल धर्मको आधारमा मगर समाजमा केहि कटुता बढेको पाइन्छ ।
ख) शिक्षाको क्षेत्रमा मगर समाजमा साक्षरताको दर ७१ प्रतिशत अर्थात राष्ट्रिय साक्षरताको दर ६५.३४ प्रतिशत भन्दा माथि छ । तर उच्च शिक्षामा मगरहरु ज्यादै तल छन् । (१.३४) नेपाल मगर संघले मगर युवाहरूको उच्च शिक्षा तथा प्रशिक्षित जनशक्ति तयार गर्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
ग) मगर जनसंख्या बसोबास गरेको भूभागमा प्राकृतिक स्रोत, खनिज पदार्थ, कृषि, पशुपालन, सञ्चार, यातायात, व्यापार, पुरात्वातिक सम्पदाको यथेष्ट पूर्वाधारहरु छन् ।
घ) मगर युवाहरुमा (१) उच्चशिक्षा वृद्धि भयो भने (२) प्रशिक्षित मगर युवा जनशक्ति तयार भयो भने (३) मगर समाजमा जनचेतना र जागरुकता आयो भने (४) मगर समाजमा एकवद्धता (Unity) आयोभने (५) मगरहरू राजनैतिक नेतृत्वको (Political Leadership) विकास भयो भने (६) मगरहरू गोलबन्द भएर एउटै भू–भागमा बस्यो भने वर्तमान एकाधिकारवादी समूहको शक्ति बिस्तारै बिस्तारै धरासहित हुने देखिन्छ । अतः मगर समुदायको यस्तो बद्ढो शक्तिलाई समयमा रोक्ने अभिप्रायले एकाधिकारवादीहरुले निम्नलिखित नीतिहरुको कार्यान्वयन गरेका हुन् ।
विभाजन :
क) जनसंख्यालाई ३ प्रदेशमा विभाजन गरेर मगर मतदाताहरूको शक्ति घटाइदिने वा कमजोर पारिदिने देखिन्छ ।
ख) मगर जनसंख्या तीन परदेशमा विभाजित हुँदा, स्थानीय संस्कृतिले मगराती संस्कृति माथि अतिक्रमण गर्न सक्दछ । (culture diffusion) भविष्यमा मगराती संस्कृति विस्तारै विस्तारै छ्यासमिस (Cross Culture) र विलय हुने सम्भावना हुन्छ ।
ग) मगर जनसंख्या विभिन्न ठाउँमा छरिएर र विभाजित भयो भने जातीय पहिचान र चिनारीको कुरा बिस्तारै बिस्तारै लोप हुँदै जाने सम्भावना हुन्छ ।
घ) यसरी राज्य सञ्चालन गर्ने समूहले नियोजित ढंगबाट शक्तिशाली मगर जनसंख्यालाई विभाजित गर्दै शासन गर्ने नीति अवलम्बन गरेको देखिन्छ ।
मगरात संघर्ष समिति :
वि.सं २०६५ माघ १ गते राष्ट्रिय राजनीतिक दलहरुमा प्रतिनिधिहसँग आवद्ध भएर सबै मगर सघं संघठनहरूको संयुक्त मगर मञ्च गठन गरिएको थियो । नेपाल मगर संघको संयोजनमा “संयुक्त मगर संघ” काठमाडौंको खुल्लामञ्चमा “स्वायत्त मगर प्रदेश”को घोषणा गरिएको थियो । यसै क्रममा “नेपाल मगर संघ”बाट विसं २०६७ मंसिर २५ गते तानसेन पाल्पामा ऐतिहासिक “मगरात प्रदेश”को घोषणा गरिएको थियो । “मगररात स्वायत्त गणराज्य” स्थापनाको लागि वि.सं २०८६ माघ ७ गते माननिय सन्तोष बुढा मगरको अध्यक्ष्यतामा दोस्रो साधारण सभा आयोजना गरिएको थियो । सो सभामा माननिय सुर्दशन बराल, मा. वसन्त घर्तिमगर,उर्फ (तुलाराम घर्तिमगर), मा. लुम बहादुर कार्की आदि लगायत १२५ जना मगर तथा गैर मगर बुद्धिजिवीहरूले सहभागिता जनाएका थिए । (दुलर्भ पुन, फे.बु.)
नेपाल मगर संघले आज पनि यो संघर्षलाई यथावत जारी नै राखेको छ । कारण मगरात भएन भने मगरको पहिचान र चिनारी पनि लुप्त हुन्छ र मेटिन्छ । “मगरात” भएन भने मगरको प्रगति र उन्नति पनि अवरुद्ध हुन्छ । मगरात छ त मगर छन् । मगर छन् त मगरात छ ।
क्रमश …………
लेखक : मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष एबं नेपाल मगर संघका सल्लाहकार हुनुहुन्छ ।
मगरात राज्यको विघटन (तेस्रो खण्ड)
Read Time:19 Minute, 4 Second