पोखरा, २७ असोज
विश्वकै होचा खगेन्द्र थापामगरलाई प्रमाणपत्र र पदक दिन गिनिज बुकको टोली इटालीबाट हिजो
पोखरा आइपुगेको छ ।
मार्कोको नेतृत्वमा आएको दुई सदस्यीय टोली यहाँ आइपुगेको छ भने आज दुईजना आउने
खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरले बताए ।
प्रमाणपत्र दिनुअघि पोखराको फेवासिटी अस्पतालमा आज तीनपटकसम्म उनको स्वास्थ्य
परीक्षण गरिने कार्यक्रम छ ।
स्वास्थ्य परीक्षणपछि दुरुस्त प्रमाणित भएमा भोलि असोज २८ गते एक कार्यक्रम गरी
उनलाई प्रमाणपत्र र पदक दिने बताइएको छ ।
असोज २८ गते खगेन्द्रको जन्मदिन परेको र सोही दिन उनी १८ वर्ष पूरा हुनेहुँदा गिनिज
बुकको टोलीले खगेन्द्रको कीर्तिमानलाई औपचारिक मान्यता दिनेछ ।
झन्डै पाँच वर्षको प्रयासपछि प्रतिष्ठानको पहलबाट खगेन्द्रलाई प्रमाणपत्र दिन गिनिज बुकको
टोली यहाँ आएको हो ।
बागलुङ जिल्लाको धुल्लु बाँसकोट गाविस वडा नं ६ उर्लेनीमा बाबु रुपबहादुर थापामगर र
आमा धनमाया थापामगरको कोखबाट विसं २०४९ साल असोज २८ गते खगेन्द्र थापामगरको
जन्म भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले उनलाई वंशजको आधारमा नेपाली नागरिकताको
प्रमाणपत्र दिएको थियो ।
नेपाल भ्रमण वर्ष २०११ का लागि खगेन्द्रलाई सद्भावना राजदूतसमेत घोषणा गरिएको छ ।
विश्वकै सबैभन्दा अग्लो सगरमाथा भएको देशमा विश्वकै सबैभन्दा होचो मानिस पनि भएको
तथ्यले पर्यटन वर्ष २०११ लाई समेत टेवा पु¥याउने प्रतिष्ठानका अध्यक्ष रानामगरले बताए ।
रासस