लाहुरे दुःखको चिरफार ‘मेम साहेब’

Read Time:6 Minute, 8 Second

मनोज घर्ती मगर

आम निर्वाचन २०७४ को मत परिणाम धमाधम आउँदैछ । संविधान सभाबाट संघीय नोपलको नयाँ संविधान जारी भएपछि पहिलोपटक मतदान मार्फत जनमत प्रकट भइरहेका बेला डा. चन्द्र बहादुर गुरुङ ‘आक्राङे’ पोखरामा भन्दै थिए ‘हाम्रो देश अझै सार्वभौमसत्ता सम्पन्न छैन ।’ यतिबेला यसोभन्दा धेरैलाई मन पर्दैन होला उनले थपे- ‘बाध्यतावश भन्नुपर्छ, वास्तविकता यही हो ।’ ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले पोखरामा शनिबार आयोजना गरेको पुस्तक परिचर्चामा गुरुङले थपे, ‘नेपालको विदेश निति भनेको सबै देशलाई बराबरी दृष्टिकोणले हेर्नुपर्छ भनेर डिप्लोम्याटहरु भन्छन्, उनले यस भनाइमा विमति राख्दै थपे, ‘१९६२ मा भारत–चीन लडाइँमा नेपालीले चिनियालाई गोार्खालीको नामबाट गोली हान्यो, पछि पाकिस्तानीलाई, कहिले हामी बेलायती र अमेरिकाको पक्षमा लागेर अरुलाई गोली हान्यौैं ।’

विदेशी सेनामा भर्ती हुने कुसंस्कार रहेसम्म मुलुक सार्वभौम भन्न नसकिने उनको भनाइ थियो । ‘बिहान मर्निङ वाकमा जाँदा हजारौँ युवा भर्ती हुन दौडिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘तर विदेशीले दुई तीन सयको संख्यामा मात्र भर्ती लिन्छ ।’ कुनै समय गोरखा भर्ती बन्द गराउने नारा लगाउने कम्युनिस्टहरु समेत अहिले चुपचाप रहेकोमा उनले असन्तुष्टि जनाए ।

नेपाली समाजमा जवर्जस्ती जकडिएको विदेशी सेनाका लाहुरे विकृतिले पारेका प्रभाव र स्वयं लाहुरेको मनोदशा उतारिएको छ कथा संग्रह ‘मेम साहेब’मा । १८ वटा कथा समावेश ‘मेम साहेब’मा यही लाहुरे संस्कार, यसले घर, समाज र राष्ट्रलाई पारेको प्रभावका बारेमा लेखिएको छ ।
नेपाली समाजमा जरा गाडेको कुसंस्कारका रुपमा लाहुरे परम्परा जकडिएको उनको निश्कर्ष छ । भारतीय सैनिक परिवार भएका कारण पाकिस्तानको अवोटावादमा जन्मिएका गुरुङ पनि २३ महिना भारतीय सेनाको जागिर खाएका थिए । त्यतिबेला सैनिक रहँदाको अनुभुतिलाई कथाको रुपमा बाहिर ल्याएको उनको भनाइ छ ।

जागिर छाडेर पढ्नका लागि नेपाल फर्किएका गुरुङले सन् २००६ मा बेलायत स्थित डाब्लिन मोट्रोपोलिटन युनिभर्सिटीबाट ‘सैनिक इतिहास’मा विद्यावारिधि गरे । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका सहायक प्राध्यापक भइसकेका गुरुङले नेपाली र अंग्रेजी भाषामा गरी ४ वटा पुस्तक प्रकाशित छन् । ‘लाहुरेले बनाएको शहर’को रुपमा परिचित पोखरामा लाहुरे संस्कारले पारेका प्रभावबारे थोरै चर्चा गर्नु आवश्यक ठानेर कार्यक्रम आयोजना गरेको ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । ‘अझै पनि विदेशी सेनामा भर्ती हुन चाहने युवाको संख्यामा कमी आएको छैन,’ उनले भने, विदेशी सेनामा भर्ती हुने कुसंस्कार विरुद्ध निरन्तर बहस चलाउनु जरुरी छ ।’

आफ्नो २३ महिने भारतीय सेनाको जागिरे रहँदा १९६४ मा पाकिस्तानसँग भएको लडाइँ समेत लेखक गुरुङले सम्झिए । विदेशी सेनामा भर्ती हुँदा ती देशहरुले गोर्खाली र आफनो देशका नागरिक सैनिकबीच भेदभाव गर्दा गेसो आन्दोलनमा गुरुङको सक्रियता चढ्दो थियो । सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले थपे, ‘हामीले आफ्नो पोजिसन देखाउनुप¥यो,’ गुरुङले भने, ‘यो नेपालको हितमा थियो कि थिएन, हेरेका थिएनौं, तर यो प्रवृत्ति अझै रहने कि नरहने प्रश्न यहाँनिर छ ।

पुस्तकमाथि आफ्नो अवधारणा राख्दै पीताम्बर शर्मा ‘नेपाली’ले कथाहरुमा सैनिक भित्र माथिल्लो तहको अफिसरले तल्लो तहका सिपाहीलाई गर्ने व्यवहार, घर परिवार र समाजमा लाहुरे संस्कारले पारेका प्रभाव र राजनीतिक सेरोफेरोमा केन्द्रित भएको बताए ।
दोस्रो विश्वयुद्धमा मारिएका नेपाली युवाको सम्झनामा गर्दै भने, ‘मेरो बुवा बेलायतको पक्षबाट विश्वयुद्धमा भाग लिनुभयो । नेपालमा केही पढेलेखेर भर्ती भएकाले लडाइँमा जानुपरेन । लडाइँमा गएका सिपाहीलाई रासनपानी र लत्ताकपडा पठाउनुहुन्थ्यो, यदी उहाँपनि लडाइँमा जानुभएको भए म जन्मिन नपाउने रहेछु ।’ कार्यक्रम सञ्चालन सोसाइटीका सचिव अनुपमणि अधिकारीले गरेका थिए । सुरेश रानाभाट, गौरी गुरुङ, मनोज घर्तीमगर, ध्रुव केसी, खिम लामिछानेले समेत टिप्पणी गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %