रूद्र श्रीसमगर
पोखरा, साउन ७ – स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो मन’ हेर्न पोखरेली दर्शक ओइरिएका छन् ।
शनिबार पोखरा सभागृह हलमा एक पटक मात्रै भएको सो चलचित्रको विशेष प्रदर्शनमा झण्डै १ हजार बढी दर्शक उपस्थित रहेको निर्माणपक्षले दाबी गरेको छ । पोखरामा पहिलोपटक गरिएको प्रदर्शनमा उल्लेख्य दर्शकको उपस्थितिले आफूहरू झनै उत्साहित भएको निर्माता विकास गुरुङले जानकारी दिनुभयो । गत असार ३१ गते पोखरामा भीआईपी शो गरिएको सो चलचित्रको शनिबार पोखरा सभागृहमा मध्याÞन १२ बजे विशेष प्रदर्शन गरिएको हो ।
सो चलचित्रको यसअघि पूर्वी लमजुङका १७ स्थान तथा मनाङमा दुई प्रदर्शन भइसकेका छन् । जनक गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका प्रमुख कलाकारहरूमा विवेक गुरुङ, सुमिन गुरुङ, कोमजड्ड घले, मिका गुरुङ, टिकाराम घले, वीरमाया गुरुङ, रेशम गुरुङ, धनसुब्बा गुरुङ, सुमित गौचन थकाली, हास्य कलाकार सुसन गुरुङ ‘पोखी’लगायत रहेका छन् ।
त्यस्तै, चलचित्रका निर्माताहरूमा विकास गुरुङ, सलिला गुरुङ, शशिला गुरुङ, मैताकुमारी गुरुङ र सुकु गुरुङ रहेका छन् । पूर्वी लमजुङको ओखरी गाउँ र काठमाडौंमा छायाङ्कन गरिएको सो चलचित्रको छायाड्ढन भने खेम थापामगरले गरेका हुन् ।
आगामी सेप्टेम्बर महिनाको १ तारिखमा संयुक्त अरब इमिरेट्सको दुबई शहरमा सो चलचित्र प्रदर्शन हुँदैछ भने काठमाडौं लगायत नेपालको पूर्वी भागमा समेत प्रदर्शनको तयारी भइरहेको निर्माता विकास गुरुङले जानकारी दिनुभयो ।
लमजुङ तथा मनाङमा भएको विशेष प्रदर्शन तथा पोखरामा भएको भीआईपी शोबाट पाएको दर्शक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ । ‘यसअघिका भएका प्रदर्शनबाट प्राप्त दर्शकको मायाले हामीलाई निकै हौसला मिलेको छ’, निर्माता विकास गुरुङले भन्नुभयो, ‘प्राप्त सुझावका आधारमा चलचित्रलाई अझै परिमार्जित गर्ने तयारी गरेका छौं ।’
प्रेम, हास्य, पूराना संस्कृति तथा द्वन्द्वको सम्मिश्रणले चलचित्रलाई रुचिपूर्ण बनाएको देखिन्छ । खासगरी, गुरुङ समुदायमा पछिल्लो समय भाषा, संस्कृतिप्रति चासो हराउँदै गएकोमा युवा पुस्तामा रहेको भाषा, संस्कृतिप्रतिको प्रेमलाई चलचित्र मार्फत् देखाउन खोजिएको छ ।