रूद्र श्रीसमगर
पोखरा, वैशाख २७ – मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा गुरुङले तमु (गुरुङ) जातिको ऐतिहासिक पुख्र्यौली थलो क्होंला सोंथरको माटो हङकङ पुर्याएकी छिन् ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को प्रिमियर शोमा सहभागी हुन हङकङ पुगेकी मिस तमुस्यो नेपाल निशाले आफ्नो जातीय पुख्र्यौली भूमिको माटो लिएर गएकी हुन् । त्यहाँ उनले हङकङस्थित विभिन्न तमु संघसंस्थाका प्रतिनिधिहरूलाई सो माटो हस्तान्तरण गरिन् ।
त्यस अवसरमा उनले भनिन्, ‘मलाई आज निकै खुशी लागेको छ, मैले मिस तमुस्यो नेपालको ताज पहिरेपछि गरेको वाचा पूरा गरेकी छु ।’ मातृभूमिको माटोले मातृभूमिप्रति सदा उत्तरदायी बनाइराख्न प्रेरित गर्ने भन्दै उनले परदेशमा रहेर पनि नेपालको भाषा, धर्म, कला, संस्कृति र संस्कार जोगाउन खेलेको भूमिकाप्रति आभार प्रकट गरिन् ।
हरेक वर्ष आयोजना हुने मिस तमुस्यो नेपालको बिजेतालाई हङकङ भ्रमणको प्रायोजन भने समाजसेवी दुर्गा गुरुङ ‘मिलन’, हरि गुरुङ, युवराज गुरुङ र तिलक गुरुङले गर्नुभएको छ । तमु समुदायको ऐतिहासिक र पुख्र्यौली थलो मानिएको क्होंला सोंथर कास्की र लमजुङको सीमा क्षेत्रमा पर्दछ ।