मनोज घर्ती मगर
पोखरा । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे । पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै गर्दा सुवासका आँखा एकाएक भरिए । उनले खुशीको आँशु थाम्न सकेनन् । आफुलाई भोट गर्ने स्रोताहरु, सहयोग गर्ने साथीभाई, ईष्टमित्र र आफन्तलाई उनले धन्यबाद दिए । निरन्तरको प्रयास पछि आफु सफल भएको भन्दै उनले आगामी दिनमा साँगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिए ।
सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिसन राउण्डबाटै प्रतियोगिताबाट बाहरिएका थिए । यद्यपी उनले हिम्मत नहारिकन पुनः छैठौँ बिग आइकनमा सहभागिता जनाए । अघिल्लो पटक उनी उत्कृष्ट २० राउण्डबाट पुनः बाहिरिए । उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु ।’ तेस्रो पटकमा मात्रै उनी सफल भए । ‘मैले संसार जितेको अनुभव गरेको छु ।’ सुवासले भने । सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप पाएका छन् । सातौँ बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन् ।