रूद्र श्रीसमगर
जोर्डन, चैत्र २० – मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजनामा आगामी ७ मे आइतबारको दिन याउमातेइ कम्युनिटी हलमा गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘क्यू प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’ प्रदर्शन गरिने भएको छ ।
जोर्डनस्थित नमोबुद्ध क्लब हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त कुराको जानकारी आयोजकले गराएको छ । मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले उक्त चलचित्र प्रदर्शनबाट आएको सम्पूर्ण रकम नेपालका ग्रामीण क्षेत्रको स्वास्थ्य र शिक्षाका लागि अक्षयकोष स्थापना गरिने बताउनुभएको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष तथा सो चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले अहिलेसम्म मिलन फाउण्डेशन नेपालमार्फत् नेपालमा धेरै परोपकारी काम गरिसक्नुभएको छ । उहाँले यो चलचित्र निर्माण गर्दा फाइदा र घाटा नहेरी आफ्नो समुदायको संस्कार र संस्कृतिमा आधारित चलचित्र निर्माण गर्दा यो एउटा दस्तावेजको रुपमा पछिसम्म रहने र अहिलेका नयाँ पिढीले आफ्नो पुर्खाको बारेमा जान्न र बुझ्न सहयोग पुग्ने हेतुले चलचित्र निर्माण गरेको बताउनुभयो ।
शिक्षा र स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा आफूले धेरै योगदान गरिसकेको साथै उक्त चलचित्रको लगानी पनि समाजसेवाकै अर्को पाटो रहेको उल्लेख गर्नुभयो । सो चलचित्र नेपालको लमजुङमा पहिलो प्रदर्शन भइसकेको र त्यसबाट प्राप्त रकम पनि क्होंइबो धिं निर्माणको लागि प्रदान गरिसकेको उहाँले जानकारी दिनुभयो ।
सुवास गुरुङको लेखन तथा निर्देशन रहेको सो चलचित्र लमजुङ जिल्लाका भेडीखर्कहरूमा छायाड्ढन गरिएको छ । ९० प्रतिशत संवाद नेपाली भाषा रहेको हुँदा यो चलचित्र गुरुङ समुदाय लगायत गैरगुरुङ सम्पूर्णलाई उपयुक्त रहेको कार्यकारी निर्माता गुरुङले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) हङकङका अध्यक्ष रोशन गुरुङले हङकङमा रहने सम्पूर्णलाई चलचित्र हेरिदिन अनुरोध गर्दै चलचित्र प्रदर्शनको भव्य सफलताको शुभकामना दिनुभयो । उहाँले चलचित्र भेडी गोठाले मौलिक कथामा आधारित रहेर बनाइएको चलचित्र भएको उल्लेख गर्दै हङकङबासी दर्शकका लागि यो चलचित्र अर्गानिक खुराक हुने दाबी गर्नुभयो ।
सो अवसरमा चलचित्रका निर्देशक एवं नायक सुवास गुरुङ, नेपाली महिला संघ हङकङकी अध्यक्ष टीकादेवी गुरुङ, रचनाकार विनोद गुरुङ, मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा तमुस्योका लागि हङकङ यात्राका प्रायोजकहरू तिलक गुरुङ, हरि गुरुङ र युवराज गुरुङ, नायक विश्वास गुरुङलगायतले बोलेका थिए ।
चलचित्र प्रदर्शनको दिन मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा तमुस्यो र भेडी गोठालेका नायिका अश्मी तमुस्योलाई हङकङमा निमन्त्रणा गरिएको छ । प्रायोजक युवराज गुरुङले आदिवासी जनजातिमध्ये गुरुङ समुदायको भाषा, संस्कृतिलाई उजागर गर्न मिस तमुस्यो प्रतियोगिता गर्ने गरिएको जनाउँदै मिस तमुस्योलाई अवसरको सिर्जना गर्नका लागि हङकङ निमन्त्रणा गरिएको उल्लेख गर्नुभयो ।