नेपाली संगीतकी उदीयमान तारा : गायिका तारा श्रीस !

Read Time:6 Minute, 30 Second

रूद्र श्रीसमगर


Image may contain: 1 person, standing

पोखरा, माघ ११ – बागलुङको छिस्ती–९, केवैमा जन्मिएकी प्रतिभाशाली गायिका हुन्, तारा श्रीस मगर । जनकल्याण उच्च मावि, छिस्तीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेकी गायिका ताराले विभिन्न सांगीतिक प्रतियोगितामा पनि भाग लिएकी छन् । ‘विग आइकन’को उत्कृष्ट चार र भ्वाइस अफ पोखराको उत्कृष्ट दशसम्म पर्न सफल गायिका तारा नेपाली संगीतकी एक उदीयमान चम्किलो तारा हुन् भन्दा फरक नपर्ला । लोक, पप, रक एवं आधुनिक सबैमा उत्तिकै जम्न सफल बनेकी गायिका ताराले हालसम्म २ सय २५ भन्दा बढी गीत गाइसकेकी छिन् । छोटै समयमा यति धेरै गीत गाउने उनीजस्ता कलाकार सायदै होलान् । विगत दुई वर्षदेखि व्यवसायिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी उनी अहिले काठमाडौंको चर्चित मालिड्डो गजलमा कार्यरत छिन् ।

उनी कसरी संगीत क्षेत्रमा लागिन् त ? उनी भन्छिन्, ‘सानैदेखि गाउने बानी थियो, सुरुमा घर परिवारको खासै राम्रो सहयोग थिएन, तर पछि एउटा कुनै कार्यक्रममा गीत गाउँदा बुबा बाहिर हुनुहुन्थ्यो, त्यही बेला छोरीको राम्रो स्वर रहेछ भनेर कसैले भनिदिएछन्, अनि मात्र मैले विशेष बाबाको र पछि आमा, दिदी अनि सिंगो परिवारको हौसलाले नै गीत संगीतमा लागेकी हूँ ।’ करिब अढाइ सय गीतमा स्वर दिएपनि उनको आफ्नै सांगीतिक एल्बम भने ‘खैंजडी बजाउँदै’ नामक कौह्रा गीति एल्बम हो । रक र पप संगीतमा निकै जमेकी उनी लोकगीत पनि मजाले गाउन सक्छिन् । मगर भाषा तथा गुरुङ भाषाका गीतमा समेत स्वर दिएकी उनले दुई दर्जन बढी फिल्मी गीत र आधा दर्जनजति दोहोरीमा समेत स्वर दिएकी छिन् । गीत गाउँदाको अनुभवबारे उनी भन्छिन्, ‘मलाई सोलो पप गाउँदा निकै आनन्द लाग्छ ।’ संगीतको कुनै भाषा हुँदैन भन्दै उनी भन्छिन्, ‘मलाई भाषाभाषीको गीत गाउने अफर पनि उत्तिकै आइरहन्छ ।

उनले स्वर दिएको गुरुङ चलचित्र ‘मैरीमो’को गीत ‘ए ङोलो, ए ङोलो’ निकै चर्चित र लोकप्रिय छ । त्यसले झनै गुरुङ गीत संगीतमा उनको डिमाण्ड बढेको छ । त्यसैले सो गीत गाउने अवसर दिने संगीतकार तेजेन्द्र गुरुङ र गीतकार प्रेम गुरुङलाई उनी विशेष रूपले सम्झना गर्छिन् । उनले नै स्वर दिएको मगर चलचित्र ‘रैयाँ’को ‘रैयाँ बूमले’ बोलको गीत पनि निकै नै चलेको गीत हो । सुरुमा शौखले गीत गाएपनि अहिले नजानिँदो किसिमले व्यवसायिक बनेको बताउने उनले संगीतको औपचारिक शिक्षा भने पोखराका गुरुकूल संगीत प्रशिक्षण केन्द्रबाट जुनियर डिप्लोमा गरेकी छिन् । अहिले उनी काठमाडौंको गान्धर्व संगीतालयमा थप संगीत प्रशिक्षण लिँदै छिन् ।

पोखरा, काठमाडौं, पर्वत, बागलुङ, स्याङ्जा, वीरगञ्जलगायतका नेपालका विभिन्न सहर तथा गाउँमा आफ्नो सांगीतिक कला र प्रतिभा प्रस्तुत गरिसकेकी गायिका ताराको व्यस्तता पछिल्लो समय बढ्न थालेको छ । आफ्नो सुमधुर स्वर र गायकीद्वारा दर्शक, स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता बोकेकी उनले संगीत क्षेत्रमै लागेर बाँच्न सक्ने अवस्था भने देखेकी छैनन् । ‘संगीतमै मात्र लागेर बाँच्न सक्ने अवस्था तत्काललाई छैन’, उनी भन्छिन्, ‘अन्य पेशा नगरी गाह्रै छ ।’ संगीत क्षेत्रका अग्रजहरूबाट निकै राम्रो हौसला र प्रेरणा प्राप्त गरेको बताउँदै उनी भन्छिन्, ‘अग्रजहरूकै प्रेरणा र सल्लाह, सुझावले मलाई राम्रो गर्न थप हौसला प्राप्त भएको छ ।’ भविष्यमा संगीतलाई नै निरन्तरता दिने उनको सोंच छ । विगतमा भूकम्पका कारण रोकिएका केही सांगीतिक प्रोजेक्टहरू सक्ने तयारीमा रहेकी उनी भन्छिन्, ‘विगतमा रोकिएका केही प्रोजेक्टहरू छन्, ती प्रोजेक्ट ल्याउने तयारीमा दौडधूप गर्दैछु ।

संगीत क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई उनी साधना गर्न सल्लाह दिन्छिन् । ‘साधनाविना केही पनि पूरा हुँदैन’, उनी भन्छिन्, ‘त्यसैले साधना आवश्यक छ, साधना गर्न सक्यो भने राम्रो गर्न सकिन्छ ।’ राम्रा कलाकारहरूलाई दर्शक, स्रोताले माया गर्ने भन्दै उनी भन्छिन्, ‘दर्शक, स्रोता हाम्रा भगवान हुन्, दर्शक, स्रोताले हाम्रो भन्दा पनि राम्रो कलाकारलाई माया गरिदिनुपर्यो ।’ सबैको सुझाव र सल्लाहलाई अनुसरण गरेर भविष्यमा अझै राम्रो गर्ने प्रयत्न गर्ने बताउँदै उनी संगीतको कुनै सीमित परिभाषा नरहेको बताउँछिन् । नेपाली संगीतकी एक उदीयमान गायिका तारा श्रीस मगरलाई सांगीतिक सफलताका लागि हाम्रो पनि  शुभकामना ।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %