मनोज घर्तीमगर
पोखरा, माघ ९ – चर्को आवाजमा भोजपुरी फिल्मका गीत । बलिउड फिल्मका हिरो–हिरोईनका तस्विर लहरैसँग टाँसिएका । सँगै केहि देवीदेवताका फोटोहरु । पान चपाउँदै, बजिरहेको चर्को आवाजका भोजपुरी गीतको शब्दसँग शब्द मिलाउँदै कैँची र ब्लेड चलाउने ‘नाईको सैलुन’मा कपाल काट्न जाने प्रचलन पछिल्लो समय फेरिएको छ ।
अझै पछिल्लो युवापुस्ता त झन् यस्ता सैलुनमा आफ्नो शैलीअनुसारको कपाल काट्न हच्किन्छन् । आधुनिक, सफा र उत्कृष्ट सुविधा भएको सैलुन पछिल्लो पुस्ताको रोजाईमा पर्न थालेको छ । शहरको युवापुस्ताले आधुनिक र व्यवस्थित ‘सैलुन’मा आफ्नो हेयरस्टाईललाई विभिन्न शैलीमा ढाल्न थालेपछि पुरानै ढर्रामा व्यवसाय चलाईरहेका नाईहरुले पनि आफ्नो व्यवसाय गर्ने शैली बदल्न थालेका छन् । सस्तो भन्दा पनि गुणस्तरमा ध्यान दिने पछिल्लो पुस्ताको रोजाई अनुसार सैलुनहरु खुल्न थालेका छन् ।
भारतमा जन्मिएर पोखरालाई २० वर्ष यता कर्मथलो बनाएका प्रमोद ठाकुर पनि ‘सैलुन’ व्यवसायी हुन् । शुरुमा उनले अरुले खोलेको सैलुनमा कपाल काट्ने काम गरे । त्यसको १० वर्षपछि उनी आफैले पृथ्वीचोकको बिबि मार्केटभित्र ‘सैलुन’ खोले । ‘अघिल्लो १० वर्षसम्म मेरो सैलुनमा थुप्रैले कपाल र दाह्री काटेका छन् । तर पछिल्लो समय मलाई धेरै रेगुलर ग्राहकले आधुनिक र व्यवस्थित सैलुन संचालन गर्नका लागि आग्रह गरिरहे ।’ ग्राहकले भनेको कुरा उनलाई पनि ठिक लाग्यो । किनभने अवस्था १० वर्ष अगाडिको जस्तो थिएन ।
ठाकुरले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै नयाँ सैलुन खोले । पृथ्वीचोकको नेपाल बैंक अगाडि उनको ‘सैलुन’ खुलेको छ । विहिबारमात्रै उद्घाटन भएको नयाँ ‘सैलुन’लाई उनले आधुनिक र व्यवस्थित गराउन कुनै कसर बाँकी छाडेका छैनन् । ‘प्रमोद ह्याण्डसम पार्लर’ नाम दिएर संचालनमा ल्याएको ‘सैलुन’ले ग्राहकहरुलाई स्तरिय सुविधा दिनेमा संचालक प्रमोद ठाकुर विश्वस्त देखिए ।
गायक विनोद बाँनिया, संचारकर्मी संजोग बस्याल, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिक र फेशन फोटोग्राफर संजय शाक्यले सँयुक्त रुपमा विहिबार ‘सैलुन’को उद्घाटन गरे । ‘सैलुनको सुविधा उत्कृष्ट लाग्यो । व्यवसायलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ भन्ने कुरामा यसका संचालक निकै अगाडि रहेको मैले पाएँ’ गायक बाँनियाले भने,‘एउटा कामदार बनेर आएका प्रमोदले व्यवसायी बनेर यहाँसम्म चालेको पाईलाले उनलाई सफलतातर्फ डोर्याईरहेको मैले पाएको छु ।’
‘सैलुन’ कपाल, दाह्री काट्नुका साथै कलर, स्ट्रेट, फेसियल, फेस ब्लिज लगाएतका सुविधाहरु उपलब्ध छन् । त्यस्तै ‘सैलुन’ले ग्राहकको सुविधालाई मध्येनजर गर्दै प्रत्येक कुर्चीकै अगाडि ‘वास बेशिन’ राखेको छ । ‘सैलुन’ले सरसफाईलाई पनि विशेष ध्यान दिएको छ । वातानुकुलित हलमा निकै उत्कृष्ट साजसज्जासहितको ‘सैलुन’मा ग्राहकले सुविधा लिन सक्ने यसका संचालकले बताएका छन् । १५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको ‘सैलुन’मा चार जना ‘हेयर डिजाइनर’ रहेका छन् ।