कलाकार पुनद्वारा मगर विद्यार्थी संघ कास्कीलाई गायक अरुण थापाको पेन्टिङ हस्तान्तरण !

रूद्र श्रीसमगर


Image may contain: 3 people, people standing, tree, child, outdoor and nature

पोखरा, पुस १० – पुन आर्ट इण्डष्ट्रिज, महेन्द्रपुल, पोखराका सञ्चालक एवं कलाकार तिलकप्रसाद पुनले आफैंले तयार पारेको गायक अरुण थापाको पेन्टिङ नेपाल मगर विद्यार्थी संघ कास्कीलाई उपहारस्वरुप हस्तान्तरण गर्नुभएको छ ।

संघले शनिबार आयोजना गरेको वनभोज तथा पुनर्मिलन कार्यक्रममा संघका जिल्ला अध्यक्ष दिनेश रोकामगरलाई कलाकार पुनले सो पेन्टिङ हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पेन्टिङ प्रदान गरेकोमा कलाकार पुनलाई अध्यक्ष रोकामगरले आभार प्रकट गर्नुभयो ।

नेपाल मगर विद्यार्थी संघ कास्कीले विगतमा हरेक वर्ष साउन ५ गतेको दिनलाई अरुण स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको थियो । पछि पोखरेली युवा सांस्कृतिक परिवारले सो अरुण स्मृति दिवस मनाउन थालेपछि संघले भने परिवारकै कार्यक्रममा सहभागिता जनाउँदै आएको छ । गायक अरुण थापाको सांगीतिक योगदानको सम्मान आफूले पेन्टिङ उपहारस्वरुप मगर विद्यार्थीलाई दिएको कलाकार पुनले बताउनुभयो ।


Image may contain: 7 people, people sitting, tree, crowd, shoes, outdoor and nature

वनभोज एवं पुनर्मिलन कार्यक्रममा नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर, कोषाध्यक्ष कुमार थापामगर, मगर अगुवा भीमबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, कौह्रा संरक्षण समिति नेपालका संयोजक हर्क आलेमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य विवेक थापामगर, सञ्चारकर्मी गोविन्द सिंजालीमगर, छवि घर्तीमगर, कविता घर्तीमगरलगायतले शुभकामना दिएका थिए ।