रूद्र श्रीसमगर
पोखरा, पुस १० – नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी स्वयंसेवक पृथ्वीनारायण क्याम्पस जिल्ला समितिद्वारा आयोजित ‘खुल्ला सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०७३’को उपाधि बीबीएस दोस्रो वर्ष समूहले जितेको छ ।
शनिबार भएको फाइनल प्रतिस्पर्धामा बीजे टिम विज्ञान समूहलाई ४–० गोल अन्तरले पराजित गर्दै बीबीएस दोस्रो वर्ष समूहले उपाधि कब्जा गरेको हो । उपाधि जितसँगै बीबीएस दोस्रो वर्ष समूहले खसी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, उपबिजेता बीजे टिम विज्ञान समूहले दुई वटा भाले, मेडल र प्रमाणपत्र पायो । त्यसैगरी, बीएस्सी विज्ञान छात्राबासलाई ४–० गोल अन्तरले पराजित गर्दै तेस्रो भएको बीबीए ‘ए’ समूहले एउटा भाले, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
बुधबारदेखि सुरु प्रतियोगितामा बीबीए ‘ए’ समूहका प्रदीप गुरुङ म्यान अफ दी टुर्नामेन्ट घोषित भए भने सुरज रानाभाट वेष्ट भोलिन्टियर घोषित भए । सो-अवसरमा बीएएलएलबी तेस्रो वर्षको परीक्षामा क्रमशः प्रथम र द्वितीय हुन सफल अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्यद्वय भावना खतिवडा र दीपा न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।
यसअघि, प्रतियोगिताको समापनका अवसरमा बोल्दै नेकपा (माओवादी केन्द्र)का पोखरा नगर संयोजक दीपक कोइराला ‘रुपक’ले विद्यार्थीहरूले शिक्षाका साथमा खेलकुदलाई पनि जोड दिनु आवश्यक रहेको बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहनुभएका नेता रुपकले रचनात्मक गतिविधिका माध्यमबाट विद्यार्थीहरूलाई सांगठनिक जीवनमा जोड्न सकिने बताउँदै फुटबलको विकासमा प्रतियोगिताले एउटा इँट्टा थपेको बताउनुभयो ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव एवं चार नम्बर प्रदेशका इञ्चार्ज अमरदीप पराजुलीले क्याम्पसस्तरमा हुने खेलकुद प्रतियोगिताले नेपाली खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै क्रान्तिकारीले आयोजना गरेको प्रतियोगिताले फुटबल खेलको विकासमा सघाउ पुर्याउने बताउनुभयो । क्रान्तिकारीले आसन्न स्ववियु चुनावका लागि तयारी गरिरहेको बताउँदै विद्यार्थी नेता पराजुलीले क्रान्तिकारीलाई एक नम्बरको संगठन बनाउने अभियानमा लाग्न क्रान्तिकारी विद्यार्थीहरूलाई निर्देशन समेत दिनुभयो । सो-अवसरमा अखिल नेपाल खेलकुद महासंघ कास्कीका सल्लाहकार रेशम सापकोटाले समेत बोल्नुभएको थियो ।
अखिल (क्रान्तिकारी) विद्यार्थी स्वयंसेवक पृथ्वीनारायण क्याम्पस जिल्ला समितिका संयोजक वसन्त भट्टचनको अध्यक्षतामा भएको प्रतियोगितामा २३ टिम सहभागी भएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं पृथ्वीनारायण क्याम्पस जिल्ला समितिका इञ्चार्ज क्षितिज सापकोटाले जानकारी दिनुभयो । यसअघि, प्रतियोगिताको उद्घाटन अखिल (क्रान्तिकारी) विद्यार्थी स्वयंसेवकका केन्द्रीय संयोजक दिपेश पुनले गर्नुभएको थियो ।