मगरात प्रदेश नभए सशक्त आन्दोलनः रोका

Read Time:5 Minute, 20 Second

रूद्र श्रीसमगर

पोखरा, २५ मंसिर

सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरूमा बन्द भइरहँदा पोखरामा भने संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै मगर समुदायले भव्य जनप्रदर्शन गरेका छन् ।

संविधान संशोधन प्रस्ताव अनुसार प्रस्तावित पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरूलाई चार नम्बर प्रदेशमा गाभेर मगरात क्लस्टरलाई केही हदसम्म भएपनि एकै ठाउँमा राखिएकोमा मगर समुदायले संशोधनको स्वागत गरेका हुन् । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा प्रस्तावित चार नम्बर प्रदेश अन्तर्गतका गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चल अन्तर्गतका जिल्लाका मगरहरूले पोखराको लखनचोकमा मगरात प्रदेश घोषणा गर्न माग गर्दै जनप्रदर्शन गरे ।

जनप्रदर्शन पछि आयोजित मगरात जनसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं मगरात संघर्ष समितिका संयोजक नवीन रोकामगरले मगरात प्रदेश नबनाइए सशक्त आन्दोलन गर्ने उद्घोष गरे । ‘अहिले आएको संविधान संशोधन प्रस्तावले हाम्रो मागलाई केही हदसम्म सम्बोधन गरेको छ’, रोकाले भने, ‘यो संशोधनको हामी स्वागत गर्छौं, साथै, मगरात र तमुवानलाई अलग अलग प्रदेशका रूपमा घोषणा गर्नुपर्दछ भन्ने हाम्रो माग पनि दोहो¥याउन चाहन्छौं ।’

नेपाल मगर संघका संस्थापक महासचिव सदस्य सुरेश आलेमगरले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गर्नैपर्ने बताए । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलन गरेर एमालेले संघीयताविरोधीका रूपमा आफूलाई प्रमाणित गरेको जनाउँदै आलेमगरले संघीयता विरोधीको भण्डाफोर गरिनुपर्ने उल्लेख गरे । ‘मगरात स्वायत्त प्रदेश हाम्रो अन्तिम बटमलाइन हो’, आलेमगरले भने, ‘संविधान संशोधन गरी मगरात स्वायत्त प्रदेश नबनाइए सशक्त आन्दोलन गर्नुको विकल्प छैन ।’

नेपाल मगर संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक महेन्द्र थापामगरले मगरात स्वायत्त प्रदेशलाई फेरि पनि विभाजन गर्ने दुस्साहस गरिए मगर समुदायले त्यसको प्रतिरोध गर्ने चेतावनी दिए । प्रदेश विभाजनका क्रममा तीन टुक्रा पारिएको मगरात भूमिलाई अहिलेको संविधान संशोधन प्रस्तावले केही हदसम्म जोड्ने काम गरेको भन्दै थापामगरले संशोधन प्रस्ताव कुनै पनि मूल्यमा पारित गर्न राजनैतिक दलहरूलाई आग्रह गरे ।

संघका पूर्व महासचिव लोक बहादुर थापामगरले मगरात स्वायत्त प्रदेश प्राप्त नभएसम्म मगर समुदायले लडाइँ जारी राख्नुपर्ने बताउँदै अधिकार प्राप्तिको आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिए । सो अवसरमा संघका पूर्व महासचिव एवं अधिवक्ता सुरेन्द्र थापामगर, केन्द्रीय सल्लाहकार हर्क बहादुर पुनमगर, केन्द्रीय उपाध्यक्ष दल बहादुर वीरकट्टामगर, आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापामगर, लिम्बुवानका नेता राम जर्घामगर, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुम बहादुर गुरुङ, नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्ती, खेम पुनमगरलगायतले बोलेका थिए ।

नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष मन्धरी आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका सचिव याम बहादुर थापामगर र अध्यक्ष पूर्ण बहादुर रानामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %