रूद्र श्रीसमगर
पोखरा, मंसिर २५ – तराना म्यूजिक सेन्टरले गत वर्ष २०७२ साल फागुन २३ गते सम्पन्न ‘तराना सांगीतिक साँझ–२०७२’को आयव्यय सार्वजनिक गरेको छ ।
शनिबार आयोजित बृहत वनभोज कार्यक्रमका अवसरमा तराना म्यूजिकले आयव्यय विवरण सार्वजनिक गरेको हो । कार्यक्रममा तराना म्यूजिकका प्रबन्ध निर्देशक एवं संगीतकार श्रीमान थुलुङले आयव्यय विवरण सार्वजनिक गर्नुभयो ।
संगीतकार थुलुङका अनुसार कार्यक्रमबाट १ लाख ५३ हजार ५ सय रुपैयाँ आम्दानी र ९८ हजार ५ सय रुपैयाँ खर्च भएको छ भने ५५ हजार रुपैयाँ बचत भएको छ । विगतमा भएका कार्यक्रमबाट पनि १ लाख १३ हजार रुपैयाँ बचाउन सफल भएको थुलुङले जानकारी दिनुभयो ।
कार्यक्रमबाट बचत भएको रकम बैंकमा जम्मा गरिएको र सो रकमबाट संस्थाको कार्यक्रम एवं असहाय जेहेन्दार प्रशिक्षार्थीहरूलाई संगीत सिकाइरहेको समेत थुलुङले जानकारी दिनुभयो । साथै, आगामी दिनमा पनि कार्यक्रमबाट बचत भएको रकम नेपाली संगीतको उत्थानमा खर्च गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । कार्यक्रममा तराना म्यूजिकका प्रशिक्षार्थी कलाकारहरूले सांगीतिक प्रस्तुती समेत राखेका थिए ।