मगर मिडिया
काठमाण्डौं, कात्तिक २५ – मगर्स क्रियशन र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन कार्तिक २२ गते सोमबारदेखि काठमाण्डौबाट थालनी भएको छ ।
चलचित्रको छायाँङ्कन काठमाण्डौ अलावा तनहुँ र सोलुखुम्बुको विभिन्न स्थानमा पनि गरिने जानकारी निर्माण स्रोतले दिइएको छ । चलचित्रलाई क्यामरामा निरज श्रेष्ठले उतार्दै छन् भने निर्देशनमा थुप्रै म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्देशन गरिसक्नु भएका युवा निर्देशक कमल एक्चै मगरले ठुलो चलचित्रमा डेव्यु गर्दैछन् ।
करिब ७५ लाख रुपैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको छ । चलचित्र शिरफुलको निर्माता आशिर्वाद पुन मगर हुन् भने शिरफुलमा देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा/संवादमा ढालेका छन् ।
यस चलचित्रको विषयवस्तु अनुसार अधिकांश कलाकार नयाँ अनुहारलाई चयन गरिएको छ । पर्दामा नयाँ भएपनि कलाकारहरु रंगमञ्च थ्रियटरमा भने अनुभव संगालिसकेका छन् । साथै छायाँङ्कन सुरु गर्नु भन्दा अगाडि कलाकारहरुलाई राम्रो तयारी पनि गरिएको हुदाँ कलाकारहरुले उत्कृष्ट काम गर्ने विश्वास निर्माता आशिर्वाद पुन मगरले लिनु भएको कुरा बताउनु भएको छ ।
चलचित्रमा रुपा राना मगर, विनिता मगर, राज थापा, देव आले मगर, निता पुन मगर, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर आदि कलाकारहरुले अभिनय गर्दैछन् । चलचित्रमा हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत रहने छ भने निर्माण नियन्त्रकमा सिद्धान्त एस पौडेल रहेका छन् ।
बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण शिरफुलमा गरिने भएको कुरा चलचित्रका पाका कलाकार राज थापा काउचा मगरले बताउनु भएको छ ।
नारीप्रधान कथावस्तु भएको चलचित्रले गाउँदेखि शहरसम्मको विषयवस्तुलाई र युवापुस्तालाई पनि प्रतिविम्वित गर्दै विश्व मान्यता अनुसार मनोरञ्जन पनि प्रदान गर्ने टिपीकल नेपाली चलचित्रको निर्माण हुन लागेको जानकारी निर्माण स्रोतले दिएको छ ।