रूद्र श्रीसमगर
पोखरा, कात्तिक १२ – हाल अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी कवयित्री शकुन्तला ज्ञवाली अर्थात् शकुन ज्ञवालीको कविता सञ्चयन ‘तिमी र म’ को शुक्रबार पोखरामा लोकार्पण गरिएको छ ।
सप्तरड्डी सांस्कृतिक प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो कविता कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पण पछि बोल्दै सरुभक्तले कवयित्रीको काव्यिक उन्नयनको कामना गर्नुभयो । मरेपछि पनि नमर्ने र नमेटिने कृति श्रृजना गर्न सुझाव दिँदै सरुभक्तले डायस्पोरामा समेत नेपाली साहित्यले निकै राम्रो फड्को मारेको उल्लेख गर्नुभयो ।
सो काव्यिक कृतिको समीक्षा प्रा. जगन्नाथ रेग्मीले गर्नुभएको थियो भने कार्यक्रममा भूमि सुधार मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अभिमन्यूविक्रम राणा र उपाध्यक्ष पद्मराज ढकालले स्वागत गर्नुभएको थियो ।