रूद्र श्रीसमगर
गलकोट, ८ साउन – बागलुङको गलकोट, हरिचौर (दर्म)का दगाईं श्रीस मगरहरूको वंशावली पुस्तक विमोचन गरिएको छ ।
शुक्रबार ठूलाथरमा दगाईं श्रीस मगर समाजद्वारा आयोजित एक कार्यक्रमका बीच दर्म भेगका दगाईं श्रीस मगरहरूको वंशावली र इतिहास समेटिएको पुस्तकको विमोचन गरिएको हो । सो पुस्तकको ठूलाथरका मुखिया हिराबहादुर दगाईं श्रीसले विमोचन गर्नुभयो । सो अवसरमा बोल्दै मुखिया श्रीसले वंशावली पुस्तकले भावी पुस्तालाई प्रेरणा दिने बताउनुभयो । ‘वंशले अंश खोज्छ, वंश, गोत्रबारे जान्नु राम्रो कुरा हो’, मुखिया श्रीसले भन्नुभयो, ‘वंश, गोत्र कुनै पनि जातिको चिनारी हो ।’ मगर जातिको इतिहासको पुनर्लेखनको जरुरी रहेको भन्दै श्रीसले त्यसका लागि सबैले वंशावली अध्ययन गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल लाङ्घाली परिवार संघका संस्थापक केन्द्रीय सदस्य यमबहादुर साईं श्रीसले भावी दिनमा श्रीसहरूका बारेमा गहन रूपले अध्ययन गरी अगाडि ल्याउन यस पुस्तकले प्रेरणादायी भूमिका खेल्ने उल्लेख गर्नुभयो । ‘छायाँप्रतिमा सीमित वंशावलीलाई पुस्तकाकारमा ल्याउनु प्रशंसनीय कार्य हो’, श्रीसले भन्नुभयो, ‘सबैले आ–आफ्नो वंशावली संग्रह गरेर राख्नु जरुरी छ, म आफैंले पनि खानी र मगर जातिको सम्बन्धबारे एउटा पुस्तक लेखनमा समय बिताइरहेको छु ।’
पूर्व सभासद् क्या. पूर्णबहादुर रानाले प्रकाशित वंशावली पुस्तक दरमखोला क्षेत्रकै पहिलो भएको दाबी गर्दै मगर जातिमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न पुस्तक उपयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । ‘अहिलेको इतिहास जितेकाहरूको हो, हामी हारेका हौं, हाम्रा इतिहास कति जलाइए र ध्वस्त गरिए’, पूर्व सभासद् क्या. रानाले भन्नुभयो, ‘दगाईं श्रीस मगरको वंशावलीसम्बन्धी पुस्तकले अन्य थरका मगरलाई पनि प्रेरणा दिनेछ, अब हाम्रो इतिहासको पुनर्लेखन जरुरी छ, इतिहास लेखनको यो सुरुवात हो ।’
पुस्तकका लेखक एवं सम्पादक डिलबहादुर दगाईं श्रीसले दर्म क्षेत्रका दगाईं श्रीस मगरहरूको पुस्तक प्रकाशन गरेर वंशावली अध्ययन क्षेत्रमा आफूले सानो प्रयास गरेको बताउनुभयो । ‘कैयन् कुरा अझै इतिहासको गर्भमै लुकेका छन्, ती कुराको खोज जरुरी छ’, श्रीसले भन्नुभयो, ‘मैले एउटा सानो प्रयास मात्र गरेको हुँ, यसमा थुप्रै कमीकमजोरी हुन सक्छन्, सबैबाट सुझावको अपेक्षा गरेको छु ।’
कार्यक्रममा नवज्योति (दुर्गा) निमावि, ठूलाथरका निमित्त प्रधानाध्यापक मीनबहादुर विक ‘हरि’, संगम युवा क्लबका अध्यक्ष शेरबहादुर साईं पुन, देहरादूननिवासी सूर्यबहादुर दगाईं श्रीसलगायतले आफ्नो वंशका बारेमा अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि पुस्तक सहयोगी हुने उल्लेख गरेका थिए । लोपोन्मुख संस्कृति संरक्षण समिति, ठूलाथरका अध्यक्ष चित्रबहादुर दगाईं श्रीसले पुस्तकका लेखक एवं सम्पादकको परिचय गराउनुभएको थियो । सो अवसरमा दिवंगत पितृहरूका स्मरणमा मौनधारण समेत गरिएको थियो ।
दगाईं श्रीस मगर समाज, ठूलाथरका अध्यक्ष मोहनप्रसाद दगाईं श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार रूद्रबहादुर दगाईं श्रीस र स्वागत शिक्षक चन्द्रबहादुर दगाईं श्रीसले गर्नुभएको थियो ।