मगर गाउँ पाण्डवखानीको म्यूजिक भिडियो सार्वजनिक

Read Time:3 Minute, 52 Second

रूद्र श्रीसमगर

 काठमाडौं, ११ असार बागलुङ जिल्लाको मध्यपश्चिम भागमा अवस्थित पाण्डवखानी गाउँको चिनारी गराउने गरी तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पाण्डवखानी–४, फुर्सेका उदीयमान मोडल तथा गीतकार गोविन्द पुनले आफ्नै लगानीमा निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन पनि आफैं गरेका छन् । म्यूजिक भिडियोको बिहीबार पाण्डवखानी समाज, काठमाडौंले आयोजना

गरेको कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद् नरबहादुर पुन ‘निरज’, विशेष अतिथि मानवअधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारी र पाण्डवखानी समाज, काठमाडौंका अध्यक्ष क्या. शेरबहादुर पुनले संयुक्त रूपमा म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व सभासद् नरबहादुर पुन ‘निरज’ले म्यूजिक भिडियोले पाण्डवखानी गाविसको भौगोलिक र सांस्कृतिक चिनारीलाई जस्ताको तस्तै उतार्न सफल भएको बताए । मानवअधिकारकर्मी गंगाधर अधिकारीले म्यूजिक भिडियो कला र संस्कृतिको सुन्दर संयोजन बन्न सफल भएको दाबी गरे ।

म्यूजिक भिडियोको समीक्षा गर्दै मगर चलचित्रकर्मी संघ नेपालका महासचिव हिमाल पुनले पाण्डवखानीलाई चिनाउनेले एउटा ऐतिहासिक दस्तावेजका रूपमा म्यूजिक भिडियो आएको बताए । पाण्डवखानी समाज, काठमाडौंका अध्यक्ष क्या. शेरबहादुर पुनले पाण्डवखानीमा जन्मिएपनि आफू पुग्न नसकेका ठाउँहरू म्यूजिक भिडियोमा देख्न पाएकामा गर्व महसुस भएको उल्लेख गरे । म्यूजिक भिडियोका निर्माता एवं निर्देशक गोविन्द पुनले आफू जन्मेको ठाउँका लागि आफूले केही दिन नसकेपनि म्यूजिक भिडियोमार्फत् गाउँलाई विश्वभर चिनाउने प्रयास गरेको बताए । ‘मेरो पाण्डवखानी’ बोलको गीतका लेखक निर्माता स्वयं पुन हुन् भने गायक एवं संगीतकार नवीन रानाले संगीत दिएका छन् ।

गीतमा गायिका तारा श्रीसको स्वर रहेको छ । म्यूजिक भिडियोमा गायिका श्रीससहित करुणा पुन र बिनु बहिक मोडलका रूपमा छन् भने हंसराज खवास ‘विजय’को कोरियोग्राफी रहेको छ । खासगरी, मगर जातिको बाहुल्यता रहेको पाण्डवखानी गाउँका ऐतिहासिक, भौगोलिक तथा सांस्कृतिक पक्षलाई म्यूजिक भिडियोमार्फत् देखाउन खोजिएको छ । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा गायक नवीन राना, गायिकाहरू तारा श्रीस, अनु गुरुङ, सीता थापा, टाइगर ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक टेकबहादुर पुन, मोडल करुणा पुनलगायत सहभागी थिए भने संगीतकार विश्वास नेपालले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %