स्याङजा लामडाँडा अग्नि पीडितलाई हङकङवासीको १२ लाख ४० हजार सहयोग

Read Time:4 Minute, 45 Second

मुककाजी गुरुङ, हङकङ

१७ जुन २०१६ का दिन आगोलागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमित्त हङकङवासी नेपालीले ठुलो रकम सहयोग गरेका छन् ।

हङकङवासी नेपालीहरुले लामडाँडा अग्नि पिडितहरुका निमित्त नगद १२ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन । स्याङजा माझकोट सिंगारकोट घर भई हाल हङकङको बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यमा अग्रसर तथा संचारकर्मी मुककाजी गुरुङको बिशेष पहलमा ५ लाख ६० हजार रुपैयां संकलन भएको हो । जस मध्ये तमु प्ये ल्हु संघ हङकङ, तमु समाज हङकङ लगायत हङकङ, मकाउ र नेपालका विभिन्न ब्यक्तित्वहरुबाट संकलित रकम रहेको छ । यसैगरी भिरकोट आठथर तमु समाज, स्याङ्जा हङकङको तर्फबाट नेपाली ६ लाख ८० हजार रुपैयां गरी जम्मा नगद १२ लाख ४० हजार रुपैयां बितरण गरेका हुन्।

हङकङबाट संकलित उक्त रकम “गोर्खा वेल्फेयर स्कीम, एरिया वेल्फेयर सेन्टर, स्याङ्जाका वेल्फेयर अफिसर क्याप्टेन पिम गुरुङले अग्नि पीडितहरुलाई वितरण गरेका थिए । एकद्धवार प्रणालीबाट राहत वितरण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा क्याप्टेन पिम गुरुङले राहत संकलन पहलकर्मी मुककाजी गुरुङले हङकङ्गबाट पठाउनु भएको सन्देश समेत पढेर सुनाएका थिए । रकम वितरण गर्दै गुरुङले राहत रकम सहि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।हङकङबाट संकलित रकमले अग्नि पीडितहरुको घाउमा मलम लगाउन टेवा पुग्ने दावी समेत गरे साथै सहयोग रकम पुनर्निर्माणमा खर्चिने पनि बताए ।

त्यसैगरी स्थानिय समाजसेवी एवम लेफ्टिनेन्ट चौ बहादुर गुरुङले अग्नीपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । गुरुङले आगालागीबाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने बताउदै यसका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले गाँउलाई नमुना गाँउको रुपमा पुर्ननिर्माण गरिने बताए । हाल बर्षायाम भएकाले भदौँ दोस्रो सातादेखि घर निर्माण गर्न शुरु गर्ने योजना रहेको जिकिर गरे । साथै समाजसेवी तथा सञ्चारकर्मी भाई मुककाजी गुरुङको बिशेष पहलमा लामडांडा अग्नि पीडितहरुलाई भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङ, तमु प्ये ल्हु संघ हङकङ, तमु समाज हङकङ लगायत हङकङ, मकाउ र नेपालका बिभिन्न ब्यक्तित्वहरुले जुन किसिमको आर्थिक सहयोग गर्नुभएको छ, उक्त सहयोगप्रति सिंगो लामडांडा अग्नि पीडितहरुको तर्फबाट सम्पूर्ण सहयोगी संघसंस्था तथा ब्यक्तित्वहरु प्रती हार्दिक आभार ब्यक्त गरे । पत्रकारहरु समेत उपस्थित रहेको कार्यक्रम लामडाँडा दैविक प्रकोप समितिका सचिव धन बहादुर थापाले सञ्चालन गरेका थिए ।

लामडाडामा गत बैशाख १८ गते आगोलागीबाट २० घर पूर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म विभिन्न व्यक्तिहरु, संघसंस्था र देशविदेशबाट गरि करिव ५१ लाख संकलन भईसकेको समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %