गलत राज्य व्यवस्थाको विरुद्ध मगर संघको आन्दोलनः नवीन रोकामगर

Read Time:3 Minute, 24 Second

नबिन लोचन मगर

रोल्पा । नेपाल मगर संघको आन्दोलन कुनै जाति विशेष वा समुदाय विशेषको नभएर गलत राज्य व्यवस्थाका विरुद्धमा भएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले बताएका छन् । रोल्पा, रुकुमलाई विशेषाधिकार सहित सबै हिसावले सम्बोधन हुनुपर्ने भन्दै रोका मगरले सशस्त्र द्वन्दमा रोल्पाका मगर समुदायको ठूलो बलिदान भएकोले पनि राज्यले विशेष अधिकार सहित सम्मान गर्नुपर्ने बताए ।

नेपाल मगर पत्रकार संघ रोल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नवीन रोका मगरले राजनीतिक दलहरुले आदिवासी जनजाती, मगर, उत्पीडित, उपेक्षित वर्गलाई सत्तामा पुग्ने भ¥याङ मात्र बनाएको आरोप लगाए । भूमि, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएकोले कुनै जाति विशेष भन्दा पनि सबै समुदायको सकारात्मक सहकार्य हुनुपर्ने बताए । ‘संस्कार, संस्कृति जोगाए समाज जोगिन्छ, समाज जोगाए मुलुक जोगिन्छ’-उनले भने । ‘मुलुक जोगिनु भनेको व्यक्तिको मौलिकता जोगिनु हो’ । आफूहरुले जातिय राज्य नभएर सबै जातिको समानता चाहेको उनले स्पष्ट पारे ।

नेपाल मगर पत्रकार संघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमवी आस्था मगर, मगरात अभियन्ता राम जर्घा मगर, थरुहट स्वायत्त राज्य परिषदका केन्द्रीय संयोजक श्रवण थारु, एबीसी टेलिभिजनका पोखरा रिपोर्टर गीता राना मगर, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव इश्वरी घर्ती मगर, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष एवम आदिवासी पत्रकार महासंघ फोनिजका मध्यपश्चिम संयोजक खेम बुढा मगर लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा अतिथिहरुलाई अध्यक्ष नवीन लोचन मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाल मगर पत्रकार संघ रोल्पाका सचिव कमान पुन मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पहलमान घर्ती मगरले स्वागत गरेका थिए । मगरहरुको ठूलो पर्व भूम्याको अवसरमा रोल्पा आएका मगर संघका केन्द्रीय अध्यक्ष लगायतको टोली शुक्रबार नै थबाङ प्रस्थान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %