प्रमुख अतिथि लालीगुरॉस, अतिथिमा वन्यजन्तु
नारायण गाऊँले
कुनै सम्मेलन भन्नेबित्तिकै प्रायः हामी अतिथिहरूको लामो लिस्ट र तिनका पट्यार लाग्दा भाषण सम्झिन्छौं ।
तर लण्डनमा आज आयोजित वातावरण साहित्य सम्मेलन अनौठो रह्यो । नेपालको राष्ट्रिय फूल लालीगुराँसको बिरुवालाई प्रमुख अतिथि बनाएर अनि मञ्चमा विभिन्न जीवजन्तुका आकृतिलाई अतिथि बनाएर उक्त कार्यक्रम सम्पन्न गरियो ।
विश्व वातावरण दिवसको अवसर पारेर बेलायत स्थित नेपाली साहित्यकारहरूले वातावरण विषयक साहित्य सम्मेलन आयोजना गरेका हुन् ।
साहित्यमा प्रकृति र वातावरणको सौन्दर्य चर्चा हजारौं वर्ष देखि हुँदै आए पनि यसको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायत स्थित प्रायः सबै साहित्यिक सङ्घसंस्थाको संयुक्त आयोजनामा यस्तो सम्मेलन आयोजना गरिएको संयोजक विजय हितान मगरले बताए ।
मगर विगत केही वर्षदेखि वातावरण साहित्यमा निरन्तर क्रियाशील अभियन्ता हुन् । स्वस्थ जीवन र समृद्ध पृथिवीका निम्ति वातावरणको स्वस्थता अनिवार्य रहेको छ । विश्वव्यापी रूपमा वातावरणमा आएको ह्रासले गर्दा जीवनको गुणस्तर ओरालो लागेको प्रति चिन्ता गर्दै साहित्यलाई वातावरण मुखी र जीवन मैत्री बनाउन यस्तो साहित्यिक प्रयास बहुमूल्य हुने वक्ताहरूले बताए । सम्मेलनको आयोजन आठ वटा साहित्यिक सङ्घसंस्थाले गरेका थिए । सम्मेलनमा एनआरएन युकेको भाषासाहित्य विभाग, विश्व साहित्य महासङ्घ युके, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास युके, अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान तथा समकालीन साहित्य प्रतिष्ठान लगायतका संस्थाको संयुक्त सहभागिता रहेको थियो ।
स्थापित देखि नव सर्जक सम्मले निकै गतिला र घतिला रचना मार्फत वातावरण प्रति गम्भीर चासो व्यक्त गरेको उक्त सम्मेलनमा वातावरण अभियन्ता विजय हितानले प्रस्तुत गरेको कार्यपत्र माथि छलफल समेत भयो । कार्यक्रममा सुनाइएका वातावरणीय कविताहरू मध्ये उत्कृष्ट घोषित नवसर्जक सन्तोष कार्कीलाई लालीगुराँस उपहार दिएर पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई साहित्यकर्मी एवं नेपाल नर्सिंग एसोसिएसन युकेकी अध्यक्ष सुशीला कार्कीले नेपाली शैलीको वातावरण मैत्री खाजा खुवाएकी थिइन् । कार्यक्रमको संचालन हरियो टिसर्ट लगाएक़ी कुशल प्रस्तोता लाराले गरेकी थिइन ।
