धरानमा आरम्भको पुनरागमन

Read Time:4 Minute, 29 Second

भैरब आङ्ला, धरान

धरानका पुरानो रंगसंस्था आरम्भ नाट्य डबली, धरानले १६ वर्षपछि आफूलाई पुनरागमन गर्ने घोषणा गर्दै धरानमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।

आरम्भका संस्थापक अध्यक्ष गोपाल देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आरम्भले विगतमा गरेका नाट्य प्रस्तुतीहरु, कार्यक्रमहरु र आगामी योजनाहरु समावेश गरिएको ब्रोसर पनि वितरण गरिएको थियो ।

धरान १२ चतरालाईन स्थित होटल किचन सम्राटमा सम्पन्न पत्रकार भेटघाटमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष देवानले भने–“भारतीय प्रसिद्ध रंगकर्मी तथा निर्देशक, विचारक एम.के.रैनाले ३ दशक अगाडि नै थियटर कहिले मर्दैन भनेका थिए । मानिसहरु–दर्शकहरु फिल्म र टिभिमा केही समय आकर्षित भए पनि अन्तिममा कृत्रिम अभिनयबाट वाक्क भएर वास्तविक अभिनय हेर्न थियटरमै फर्किनेछन् भन्ने उनको विचार थियो ।”

आज विश्वभरि थियटरको पुनरागमन भएको चर्चा गर्दै नेपालमा पनि यहीँ कुरा देखिदो रहेको र धरानमा पनि अब आरम्भ नाट्य डबली संकल्पका साथ थियटरको पुनरागमनका लागि तयारीमा जुर्मुराएको जनाएको छ ।

विगतमा धरान रंगकर्ममा देशकै अब्बल दर्जाको रहेको दावी गर्दै अब पुनरागमन सँगै आरम्भले जस्तोसुकै सुनामी नै किन नआओस् धरानको रङ्गकर्ममा भगीरथ अग्रसारिता राख्ने र धरानलाई फेरि एक पटक राष्ट्रिय रुपमा रङ्गकर्मीहरुको शहरको रुपमा पहिचान गराउन उद्धत रहने प्रण गरे । धरानलाई रंगकर्मको बेशक्याम्प बनाएर राष्टिय रंगमञ्चको सगरमाथा आरोहण गर्ने सोंचसहित आरम्भ नाट्य समूहको भोटो फेरेर आरम्भ नाट्य डबलीको रुपमा पुनर्जन्म भएको बताएको छ ।

धरानमा रंगकर्म सुस्ताउनुमा रंगकर्म व्यावसायिक हुन नसक्नु, रंगकर्ममा सार्थक सोंच र प्रतिबद्धताको कमी हुनु, रंगकर्मसम्बन्धी थियटर हल, प्राविधिक सामग्री र अन्य साधन स्रोतहरुको अभाव हुनु, कलाकारमा चलचित्रप्रतिको अन्धमोह जाग्नु र पलायन हुनु, थियटरको विकासमा राज्य उदासिन रहनु, अभिनय प्रशिक्षण, गोष्ठी, कार्यशाला गराउने निकाय नहुनु, कलाकारहरु व्यावहारिक जिम्मेवारीहरुका कारण विभिन्न बाध्यता र विवशताहरुको जञ्जालमा फस्नु जस्ता कारणहरु रहेको गोपाल देवानले बताए ।
आरम्भका आगामी कार्यक्रमहरुबारे बताउँदै देवानले विधान दर्ता विधिवत् रुपमा रङ्गमञ्चीय गतिविधिहरुलाई गति दिने, अधुरो क्यान्भास एकल नाटकको प्रस्तुतीसहित सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ, चर्चित रङ्गकमी तथा निर्देशकहरुलाई बोलाई भव्य लञ्चिङ कार्यक्रम गर्ने, प्रशिक्षण तथा अभिनय कार्यशाला गरी नवागन्तुक कलाकारहरुको जन्म गराउने, रङ्गमञ्च तथा रङ्गकर्मबारे बौद्धिक अन्तक्र्रिया र गोष्ठी गर्ने, सम्भव भएसम्म महिनामा एक पटक नाटक मञ्चन गर्ने र नाटक संग्रह प्रकाशन गर्ने जानकारी दिए ।

पानस गुरुङको उद्घोषण रहेको कार्यक्रममा प्रवीण राईले विज्ञप्तीरुपी ब्रोसर पाठ गरेका थिए भने आरम्भका पुराना कलाकारहरु सन्तोष थेबे, राजन दाहाल, सुवर्ण पलिखे, सचिन क्षेत्री, राजेश थापा मगर, राजिव आचार्य, प्रताप राईलगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : गोपाल देवान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %