महासय ! देश बिकास गर्न, देशको इज्जत राख्न अरुको भाषा बोल्नै पर्छ र ?

Read Time:11 Minute, 32 Second

 राज्यसता २५ अप्रिल २०१६

चिम्खोले काईला, बेलायत 

नेपालको ब्यवस्थापिका संसदकी पहिलो महिला सभामुख ओनसरी घर्तिमगर बेलायतको सप्ताह भ्रमण सकेर नेपाल फर्किएकी छिन । सभामुख घर्तिमगर र प्रमुख दलका सचेतकहरु (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मावोबादी र राप्रपा) लाई बेलायतको अल पार्टी पार्लियामेन्ट्री ग्रुप (एपिपिजी) ले बेलायतको पार्लियामेन्ट्री सिस्टमको बारेमा अध्यन गर्न निमन्त्रणा गरेको थियो ।

यसै सिल्सिलामा सभामुख घर्तिमगर बेलायत भ्रमणमको अतिनै ब्यस्त तथा अस्वस्थ हुदा हुदै पनि बेलायातस्थित नेपाली राजदुत, गैर आबशीय नेपाली संघ, नेपाल आदिवासी जनजाति महासंघ, राजनीतिक पार्टीहरु, भुतपुर्ब सैनिक संघहरु, मगर संघ युके लगायत थुप्रै जातीय, क्षेत्रीय संगठनहरु, नजिकका नातेदार इस्टमित्र, साथिभाइहरु र युकेवासी नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्न भ्याएकी थिईन ।

सभामुख घर्तिमगर बेलायतको लन्डन स्थित वेस्ट मिनिस्टर सांसद भवन र उत्तरी आयर ल्यान्डको Stormont Parliament Buildings को पार्लियामेन्ट्री सिस्टम तथा संयुक्त अधिराज्य बेलायतको संधीय प्रणालीको बारेमा अध्यन सकेर नेपाल फर्किएकी छिन । भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको क्रममा नेपालको व्यवस्थापिका संसदकी पहिलो महिला तथा जनजाति भएको कारणले पनि होला सायद सभामुखज्युलाई युकेबासी नेपालीहरुले भारी मानसम्मान, इज्जत, अभिनन्दन र शुभकामना व्यक्त गरेका थिए । यस्तो मानसम्मान, इज्जत, मान सम्मान र प्रतिष्ठा यस भन्दा पहिला नेपालबाट बेलायत भ्रमणमा आउने प्रधानमन्त्री, मन्त्री, सभामुख तथा सांसदहरु कसैलाई पनि प्राप्त भएको थिएन । मगर संघ युकेको पुर्ब अध्यक्ष तथा एउटा पत्रकारको हैसियतले म पनि सभामुखज्यु उपस्थिति हुनु भएको प्राय: हरेक कार्यक्रमहरुमा उपस्थिति हुने मौका मिलेको थियो । उक्त कार्यक्रमहरुमा नजिकमा बसेर हेर्दा उहाँको व्यक्तिगत जीवन तथा देश प्रति लक्षित गरि सोधिएको प्रश्नहरुको उत्तर तथा अन्तरक्रियामा नजिकबाट अबलोकन गर्ने मौका पनि मिलेको थियो । अन्तर्कृया कार्यक्रमहरुमा बेलायतबासी नेपालीहरुले नेपालको राजनीतिक, धर्म, संबिधान, बिकाश, महिला तथा बालबालिकाहरुको हक र अधिकार, भुतपुर्ब गोर्खालीहरुको पेन्सन र दोहोरो नागरिक्त्ताको सवाल सम्बन्धि सोधिएको प्रश्नहरुमा हरेक प्रश्नहरुको सटिक, दमदार उत्तर दिनुको साथै, राजनीतिकमा गहिरो अध्ययन र उहाँको देश प्रतिको मायाबाट म लगायत युकेबासी नेपालीहरु अतिनै प्रभावित भएका छौं ।

उहाबाट  हामी प्रबासी नेपालीहरुले धेरै सिक्ने र बुझ्ने मौका मिलेको छ । यसो भन्दै गर्दा, कसै कसैलाई त इर्स्या पनि लाग्यो होला, त्यसैले होला अंग्रजी भाषा बोल्न नजान्ने सभामुख, यिनले देशको बद्नाम गरिन, आलुको भाउमा पाएको सभामुख, यिनले पढेका होइनन, यिन त मान्छे मर्ने लडाकु हुन, राजनीतिक भागबण्डामा पाएका सभामुख हुन आदि इत्यादि खासखुस टिका टिप्पणीहरु पनि सुनेको छु तथा सामाजिक संजालहरुमा पढेको छु । यसरी टिका टिप्पणी सुन्दै गर्दा तथा सामाजिक संजालहरु पढ्दै गर्दा हाँस्य कलाकार जितु नेपालज्यूले आफ्नो फेसबुकको वालमा लेख्नु भएको कमेन्ट मेरो विश्लेषण संग ठ्याक्क मेल खायो । जितु नेपालज्युले यस्तो लेख्नु भएको छ: “अंग्रेजी बोले मान्छे असल, बुद्दीमान, ट्यालेन्ट, ईज्जददार र विद्वान हुने, अनि आफ्नो देशको मात्री भाषामा बोल्दा चै खिल्ली उडाउने यो कस्तो परम्परा हो …? संन्सारका धेरै बिकशित देशका राष्ट प्रमुख लगायत उच्च ओहोदाका व्यक्तीहरूले अंग्रेजी बोल्दैनन के ति सबै मुर्ख हुन…? तिनले प्लेन बनायका छैनन..? तिनले आधुनीक युगमा आफ्नो पहीचान बनायका छैनन..? यो सब हॉम्रो गरीव देश र गरीव मानसीकता हो । अंग्रेजी जान्न पर्छ र बोल्न पनि पर्छ तर यसको मतलब यो हैनकी न बोल्दैमा देशको ईज्जत जान्छ । देशको ईज्जत सम्माननीय सभामुखले अंग्रेजी नबोलेर जाने हैन । इज्जत जाने त समयमा संबिधान नलेखेर, दीनको १५ धन्टा लोडसेडीगं गराएर, १/१ बर्षमा सरकार परीवर्तन भएर, आफ्नो देश आफैले बन्द गरेर, जनता जनतामा फुट ल्यायर, बिभीन्न झुटा आस्वासन र उखान टुक्के भाषण छॉटेर, ६ जना उप प्रम ४६ जना मन्त्री बनायर देशको इज्जत गएको छ । नेपालको राजनीतक पार्टीहरुले समयमा बुद्धि नपुर्याउने हो भने अझै इज्जत जाने छ । त्यसैले कसले कुन भाषामा बोल्यो भनेर पछी लाग्न छोडौं के बोल्यो र कस्तो बोल्यो भन्ने समिक्षा गर्न तिर लागौं” ।

मेरो विश्लेषणमा पनि ठ्याक्कै यस्तै लाग्छ । हामी आफु पनि गर्दैनौ अर्काले केहि गर्न खोजे पनि उसलाई पनि गर्न दिदैनौ बेकारमा अनावश्यक टिका टिप्पणी गर्छौं । मानौ बादरले घर पनि बनाउदैन अरुले बनाएकी घर पनि भत्काई दिन्छ, हामि नेपालीहरु पनि ठ्याक्कै त्यस्तै भएका छौं, केहि गर्न चाहने व्यक्तिलाई उत्साह दिनुको सट्टा निरुत्साही गर्ने काम गर्छौं । विस्वका धनि देशहरु जस्तै जर्मनी, रसिया, चाइना, फ्रान्स लगायत बिस्वका अन्य मुलुकहरुका राष्ट्र प्रमुख तथा मन्त्रिज्युहरु पनि प्राय: अंग्रजी बोल्दैनन, आफ्नो देशको मातृ भाषा बोल्न गर्ब गर्छन तर उक्त देशहरु द्रुत गतिमा बिकाश भैराखेको छ , अंग्रजी नबोलेर इज्जत जाने, देश बिकाश हुने होइन क्यारे ! नेपालका धेरै नेताहरु राम्रो अंग्रेजी बोल्न सक्छन, धेरै त बिदेशमा पढेका पनि छन् खैत हाम्रो देश बिकाश भएको ? गत साल नेपालका सम्मानीय उपप्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि कमल थापाज्यु गोर्खाली सेनाहरु ब्रिटिश आर्मीमा शेवा गरेको दुइसय बर्ष पुगेको उपलक्षमा दुइसय बर्षगाथ मनाउन बेलायतको परराष्ट्र मत्रालयको कमनवोल्थ अफिसको निमन्त्रणामा बेलायत आउदा हामी परराष्ट्र मत्रालयको कमनवोल्थ अफिसमा एकै ठाउमा दुइसय बर्षगाथ मनाएका थियौ । सम्मानीय उपप्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि कमल थापाज्यु याहांको परराष्ट्र मन्त्रि र बिकाश मन्त्रिसंग राम्रो अंग्रजी बोलेर जानु भएको थियो । हामी उपस्थित बेलायतबासी नेपालीहरुले वा-वा- नेपालको उपप्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि भनेर गर्ब गर्न मिल्ने भनेर प्रशंसा गरेका थियौं ।

यदि अंग्रजी बोलेर देश बिकाश हुने हो भने खैत हाम्रो देश बिकाश भएको । कमल थापाज्यु लगायात धेरै अंग्रेजी बोल्ने सक्ने नेताहरु पंचायतकाल देखी हालसम्म नेपालको राजनीतिको वागडोर सम्हाली बसेका छन् त नेताज्यूहरु ? खैत हाम्रो देशमा शान्ति आएको ? खैत तिन करोड जनताको मर्म र भावना भुझने संबिधान लेखेको ? बिस बर्ष भन्दा बढी भयो खैत स्थानीय निकायको निर्वाचन गर्न सकेको ? देश बिकाश गर्न सकारात्मक बिचार हुन पर्छ, व्यक्तिगत तथा राजनीतिक पार्टीको स्वार्थ भन्दा माथि उठेर राष्ट्रको स्वार्थ हेर्न सक्नु पर्छ, राष्ट्रबाट लिन भन्दा राष्ट्रलाई दिन सक्नु पर्छ, देशलाई अस्थिर होइन स्थिर राजनीतिक दिनु सक्नु पर्छ जसले गर्दा देशमा शान्ति आउछ ।

देशमा शान्ति आयो भने जनता शिक्षित हुन्छन, जनता शिक्षित भए नेपालीहरुको हक अधिकार समान हुन्छ । हाम्रो हक अधिकार समान भए देश बिकाश हुन्छ । हाम्रो देश विकास भए देशमा रोजगारको सृजना हुन्छ । हाम्रो देशमा रोजगार सृजना भए हाम्रो देश सम्वृद्धि हुन्छ, हामि एक अर्कालाई सम्मान गरौँ, पढेर मात्र हुदैन परेर पनि सिकिन्छ, हाम्रो देशका नेताहरु पढेका पनि छन् परेका पनि छन तर समयमा नै सदबुद्धि पलावोस । हाम्रो देशमा शान्ति आवोस, सबै राजनीतिककर्मीहरु मिलिजुली राम्रो अनि हाम्रो संबिधान लेखुन, हामी सबै नेपाली सानो ठुलो नभनिकन बाच्ने अधिकार प्राप्त होस् । शुभकामना !

काइला मगर संघ यु केका निवर्तमान अध्यक्ष ,कवी ,साहित्यकार तथा समाजसेवी हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %