नेपाल मगर संघलाई नेपाल पुन मगर समाजको ज्ञापनपत्र

Read Time:7 Minute, 44 Second

मगर जातिको एकतालाई कायम राख्न महासंघ बनाउनुपर्ने माग

रूद्र श्रीसमगर

  पोखरा, १२ वैशाख – नेपाल पुन मगर समाजले नेपाल मगर संघलाई भाषिक आधारमा महासंघ बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरलाई नेपाल मगर संघलाई मगर जातिमा बोलिने तीन वटा भाषाका आधारमा महासंघ बनाइनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो ।

नेपाल मगर संघको यही वैशाख १८ गतेदेखि २२ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमार्फत् महासंघ बनाइनुपर्ने माग गर्दै नेपाल पुन मगर समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष थापामगरले महासंघ बनाउने सन्दर्भमा पर्याप्त छलफल र बहस गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नेपाल पुन मगर समाजले उठाएको मुद्दाप्रति हामी अत्यन्त सकारात्मक छौं’, थापामगरले भन्नुभयो, ‘महासंघका विषयमा औपचारिक प्रस्ताव लैजान समयसीमा कटिसकेको छ, यद्यपि, हामी यसलाई आगामी दिनमा सम्बोधन हुने वातावरण बनाउन तयार छौं ।’

सम्पूर्ण मगरहरूलाई एकताबद्ध बनाएर लैजाने विषयमा आफूहरू गम्भीर रहेको भन्दै थापामगरले भन्नुभयो, ‘हामी मगर जातिभित्र भएको विविधतालाई सम्बोधन गर्दै सम्पूर्ण मगरहरूलाई एकताबद्ध बनाएर लैजान असाध्यै गम्भीर छौं ।’ ‘निश्चित रूपमा मगर जातिभित्र प्रचलनमा रहेका तीन वटा भाषालाई समान ढंगले विकास गर्ने कुरामा हामी सधैं तयार छौं’, थापामगरले थप्नुभयो, ‘महासंघको विषयलाई पर्याप्त छलफल जरुरी छ, आवश्यक तयारी गरेर महासंघको विषयलाई टुंग्याउन सकिन्छ ।’

नेपाल मगर संघलाई महासंघ बनाउनुपर्ने विषयमा नेपाल पुन मगर समाजका केन्द्रीय सचिव खेमबहादुर पुनमगरले अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमाथि उठेका जिज्ञासाको जवाफ दिँदै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष श्याममाया पुनमगरले अन्य मगरलाई जस्तै पुन मगरहरू पनि मगर संघले फरक ढंगले कहिल्यै नहेरेको बताउनुभयो । ‘विवाद जहाँ पनि हुन्छ, तर, हामीले विवादको निरुपण गर्नु जरुरी छ’, पुनमगरले भन्नुभयो, ‘पुनहरू पनि मगर नै हुन्, तर, अहिले पुन मगर समाजले उठाएको मुद्दालाई मगर संघले सकारात्मक रूपमा लिनु जरुरी छ ।’ विवादलाई निरुपण गरेर मगर जातिको सिंगो एकतालाई बलियो पार्नुपर्ने बताउँदै पुनमगरले अधिकार प्राप्तिका लागि फुटेर नभइ जुटेर जानुपर्नेमा जोड दिनुभयो ।

 नेपाल मगर बुद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष एवं बौद्ध विद्वान् टीबी पुनमगर ‘रोशन’ले मगर जातिलाई धार्मिक र राजनीतिक रूपमा विभाजित गरिएको भन्दै मगर जाति स्पष्ट रूपमा बौद्ध धर्मावलम्बी भएको दाबी गर्नुभयो । पुन मगरहरूको अस्तित्व समाप्त पार्न धर्म परिवर्तनको खेल भइरहेको भन्दै पुनमगरले स्वदेशी धर्मलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । धर्म, संस्कृति र संस्कारमा पुनर्जागरण आउनुपर्ने उहाँको भनाइ थियो । नेपाल पुन मगर समाजका निवर्तमान केन्द्रीय उपाध्यक्ष क्या. जसबहादुर तिलिजामगरले धार्मिक कुराले पुन मगरमा विभाजन ल्याएको बताउँदै तागाधारी र गैर तागाधारी पुन मगरहरूका बीचमा समस्या देखिएको बताउनुभयो । ‘

भाषिक रूपमा मगर संघलाई महासंघ बनाउँदा जातीय फुटका समस्या रोकिन सक्छन्’, क्या. तिलिजामगरले भन्नुभयो, ‘महासंघले मात्रै सम्पूर्ण मगरहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्नेछ ।’ नेपाल मगर संघले पुन मगरहरूलाई उपेक्षा गरेको भन्दै संघबाट छुट्टिएका पुन मगरहरूले छुट्टै आदिवासी जनजाति समूहका रूपमा सूचीकरण हुनुपर्ने माग गर्दै आएका थिए । सुरुमा पुन मगर समाज, नेपालका नाममा स्थापना भएको पुन मगरहरूको संस्था पछि आएर विवाद भएपछि पुन समाज, नेपाल र पुन मगर समाज, नेपालका नाममा विभाजन भएको थियो । एउटै संस्थाभित्र दुई समूह भएपछि मगर होइन भन्ने एउटा समूहले काठमाडौं र अर्को मगर बताउने समूहले पर्वतमा महाधिवेशन गरेको थियो । आधारिकता विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले पुनह

रू मगर नभएको भन्दै छुट्टै सूचीकरणको माग गर्दै आएको पुन समाज, नेपाललाई वैधानिकता दिएपछि पुन मगर हुनुपर्ने भन्दै अर्को समूहले नेपाल पुन मगर समाज गठन गरी २०७२ साल फागुन २३ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा आधिकारिक रूपमा दर्ता गराएको थियो । अन्तरक्रिया कार्यक्रम बोल्ने पुन मगर अगुवाहरूले देशकै तेस्रो ठूलो जनसंख्या भएको मगर जातिलाई फुटाउन ठूलो चलखेल भइरहेको भन्दै मगर जातिको एकतालाई कायम राख्न मगर संघलाई महासंघ बनाउनुपर्नेमा जोड दिएका थिए ।

पहिले विभाजित नेपाल पुन मगर समाज र पुन समाज, नेपालबीच एकता हुनुपर्ने र मगर संघलाई महासंघ बनाउने अभियानमा अग्रसर हुनुपर्ने पुन मगर अगुवाहरूको भनाइ थियो । अन्तरक्रियामा नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरले मगर जातिको निरन्तरको फुट रोक्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाउँदै मगर जातिले चाहेमा पूरै देश ठप्प पार्न सक्ने बताउनुभयो । समाजका केन्द्रीय उपाध्यक्ष झमबहादुर गर्बुजा पुनमगरले मगर जातिलाई टुक्रिन नदिन नेपाल मगर संघले सबै मगरलाई समेट्ने नीति ल्याउनुपर्ने बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %