समाज सेवा र अभिनयमा रमाउँदै-गौरी

रूद्र श्रीस मगर

पोखरा, २१ चैत्र

कास्कीको सिल्दुजुरे–७, पानीघाटमा जन्मिएकी गौरी गुरुङको सानैदेखि कलाकारितामा आफ्नै खालको मोह थियो । सानै उमेरदेखि नाचगानमा रमाउने स्वभावकी गौरी अहिले एक स्थापित कलाकारका रूपमा परिचित हुने क्रममा छिन् ।
खासगरी, स्थानीय गुरुङ संस्कृतिमा आधारित लोकनृत्यहरूमा आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी उनी विद्यालय तहमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा समेत सहभागी हुने गर्थिन् । गाउँमा अति नै लोकप्रिय अनि प्राचीन संस्कृति झल्कने लोकनाटक,  झ्याउरे, भजन एवं पञ्चेबाजाहरूमा नृत्य गर्दै आएकी गौरी अहिले गुरुङ चलचित्रमा समेत संघर्ष गरिरहेकी छिन् ।
हङकङ आईडी नामक चलचित्रबाट डेब्यु गरेकी गौरी हालसम्म अंग्रेजी चलचित्र ‘सोल्ड’, नेपाली कथानक चलचित्र ‘बलेनी’मा अभिनय गरिसकेकी छिन् । अहिले छायाङ्कन भइरहेको अर्को नेपाली कथानक चलचित्र ‘तिमी नभए’मा समेत उनले अभिनय गरेकी छिन् । एक पछि अर्को गर्दै चलचित्रमा अभिनयको अवसर पाएकी उनले छिटै छायाङ्कन सुरु हुन लागेको गुरुङ संस्कृतिमा आधारित चलचित्रमा समेत अभिनय गर्ने पक्का भइसकेको छ ।
अहिले कलाकार गौरीलाई चलचित्रमा एउटा स्थापित कलाकारका रूपमा चिन्न थालिएको छ । समाज सेवामा समेत अघि बढ्दै गरेकी कलाकार गौरीले चलचित्रमा अभिनय गरेबापत पाउने पारिश्रमिक समाजसेवामै खर्च गर्ने गरेकी छिन् । यही क्रममा उनले चलचित्र ‘तिमी नभए’बाट प्राप्त पारिश्रमिकबाट आफू जन्मिएको जन्मभूमिका गाउँलेलाई भोजन दान गरेकी छिन् । हरेक वर्ष फागु पूर्णिमामा हुने सीता बराहीको पूजा हुने गर्दछ । सो पूजामा सहभागी सयौं भक्तजनलाई उनले सामूहिक भोजन गराएकी हुन् । भोजन दान गर्न तिमी नभएका निर्माता टप माउण्टेन इन्टरनेशनल तेक्वान्दोका अध्यक्ष एवं समाजसेवी माष्टर गणेश गुरुङले हौसला दिएकोमा उनी कृतज्ञ छिन् ।
कसैलाई बेसहारा देख्ने बित्तिकै उनको मन रसाइहाल्छ । उनले यसअघि पनि चितवनका चेपाङ बालबालिकाहरूसँग जन्मदिन मनाउनेदेखि पाल्पाका अपाङ्गता भएका बालबालिकाहरूलाई समेत सहयोग गरेकी छिन् । आफू विवाहित भएपनि समाजसेवा र कलाकारिता क्षेत्रमा आफ्नो श्रीमानको दह्रो साथ पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् ।
भनिन्छ, सफलताको पछाडि कोही कसैको हात (सहयोग) अवश्य हुन्छ । एउटा समाजसेवी र कलाकारका रूपमा स्थापित गराउन उनलाई श्रीमानले साथ दिइरहेका छन् । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित नेपालको ग्रामीण क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील सामाजिक संस्था मिलन फाउण्डेशन नेपालमा समेत सक्रिय भएर लागेकी गौरीको आगामी दिनमा समेत कलाकारिता र समाजसेवालाई सँगै निरन्तरता दिने योजना छ ।