–नन्दवहादुर घर्तीमगर

२०७२ साल फागुन १५ गते । नेपाल मगर सँघको वैधानिक उमेर ३३ वर्ष पूरा भई ३४ औं वर्षमा प्रवेश । यहाँसम्म आइपुग्दा नेपाल मगर सँघको शाखा प्रशाखाहरु देश विदेशमा दुवो झैं झाँगिएको छ । ती शाखा प्रशाखाहरुले ३४ औं स्थापना दिवश कुनै न कुनै रुपवाट मनाइरहेको मिडियाले जानकारी दियो । यसैमा हाम्रो गौरव छ , उर्जा छ ।
यो वाटो आफैमा सार्वभौम छ । यो प्रगतिपथ उन्मुख वाटो हो । यो प्रथतिपथको वाटो देखाउने हाम्रा अग्रज प्रणेताहरुप्रति हामी कृतज्ञ हुनैपर्छ । यसो भनिरहँदा को हुन हाम्रा प्रणेता ? लखन थापा पनि त युग पुरुष हुन । ज्यूदाहरुमध्ये कोहि मृत्युसँग लडिरहेका होलान त कोहि सामाजिक एवं राजनीतिक जीवनमा क्रियाशिल ।
एउटालाई देख्यो त्योलाई अग्रज ठान्ने अर्कोलाई देख्यो त्यो पनि अग्रज । मेडिकल भाषामा यसलाई Color Blindness। भनौं आँखा Decolorized भयो । योभन्दा पाँच वर्ष अगाडि पार्टीको महाधिवेशनको वन्दसत्रमा एकजना खाटी अग्रजले भने, ‘म कट्टर गणतन्त्रवादी हुँ ।’ जातीयमुक्तिसँग गणतन्त्रको सम्वन्ध के हो ? गणतन्त्र जातीयमुक्तिको दिशा समात्नको लागि रणनीति या कार्यनीति के हो ? वन्दसत्रमा उपस्थित प्रतिनिधि र त्योवेलाको नेतृत्वमा वस्नेहरुले सवाल उठाएनन । कुरा नउठ्नुको सिधा अर्थ राजनीतिक रुपमा हामी जागिसकेका रहेनछौं । चुनावी परिणाम त्यहि गणतन्त्रवादी हुँ भन्नेको पोल्टामा गयो । त्यो परिणामको दिर्घकालीन चोट के पर्ने हो अहिलेसम्म वहस वन्न सकेको छैन । राजनीतिक यात्रामा नराम्ररी धमिरा यहि हो ।
सामाजिक आन्दोलनको सन्दर्भमा पनि थोरै वहस गरौं कि ? मगर जातीको मूल संगठन नेपाल मगर सँघ । यो सवै मगरका लागि साझा संगठन । यो भनाई लगभग सवै दृष्टिले सर्वमान्य भइसक्यो । भर्खरै ३४ औं मगर स्थापना दिवश पनि मनायौं । तर, एउटा विचार विमर्श हुनसकेन त्यो के भने साठी सालपूर्व र यताको नेपाल मगर सँघको नेतृत्वमा खास तात्विक अन्तर के हो ? यो मननयोग्य कुरा हो । आज यो नहोला तर भोलिको हाम्रा सन्तानले पक्कै मनन गर्नेछन् र सहि निश्कर्षमा पुग्नेछन् । भगवान वुद्धले यो संसारमा ज्ञान छरेको छव्वीस सय वर्ष पुग्यो । वल्लतल्ल भगवान वुद्ध को हुन ? भनि अध्ययन सुरु भएको छ । ठिक त्यसैगरी नेपाल मगर सँघको नेतृत्ववारे पनि सहि निश्कर्ष आउनेमा दुइमत छैन ।
नेपाल मगर सँघको आधारभूत गुण सामाजिक क्रान्ति । सामाजिक क्रान्तिको अर्थ सामाजिक हैसियतको गुण प्रत्याभूत गराउदै जाने । यो आफैमा कष्टकर र दिर्घकालीन वाटो । जो यो गुणवारे कुनै हिसावले पनि नापतौल थाहा छैन त्यो नेतृत्वमा वसेर यसको गतिशिलतालाई फ्रिज गरिदिएको छ । त्यो नेतृत्वलाई हामी वैधानिक दिईआएका छौं । नेपाल मगर सँघको महाधिवेशन पनि नजिकिदै गरेको खवर आइरहेको छ । आउने नेतृत्व पनि त्यसैको निरन्तरता हुने हो । यो दोष अरु कसैको होइन हाम्रै अज्ञानताको परिणाम हामी आफै भोग्दैछौं ।
१७ फागुन २०७२