काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेशै नगरी शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । एकीकृत नेकपा (माओवादी) का तर्फबाट झापा जिल्ला क्षेत्र नं २ बाट निर्वाचित सांसद गौरीशङ्कर खड्काको निधन भएकोमा सो शोक प्रस्ताव पारित गरेको हो ।
सांसद खड्काको ललितपुरस्थित बिएन्डबी अस्पतालमा क्यान्सर रोग उपचारका क्रममा ५२ वर्षको उमेरमा यही फागुन ९ गते निधन भएको हो । सभामुख सुवास नेम्बाङद्वारा प्रस्तुत शोक प्रस्तावमा ‘दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ’ भनिएको छ ।
आजको कार्यसूचीमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमाथि छलफल तथा अनुमोदन गर्ने कार्यक्रम थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक भोलि फागुन १२ गते बिहीबार दिनको १ बजे बस्नेछ ।
