संविधानका विवादित विषय टुङ्ग्याउन उपसमिति गठन गर्न दलहरुको सुझाव

Read Time:2 Minute, 59 Second

काठमाडौँ, ११ फागुन

संविधानका विवादित विषयहरुलाई छिटो टुङ्गो लगाउने अभिप्रायले संवैधानिक समितिको पहलमा सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुको बैठकले विवादित विषय निरुपण गर्न उपसमिति बनाउन सुझाव दिएको छ ।

संविधान लेखनका क्रममा शासकीयस्वरूप, राज्य पुनःसंरचनालगायतका विवादित विषयहरुका बारेमा समाधान खोज्न आजको बैठकले उपसमिति बनाउन सुझाव दिएको हो । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले उपसमितिको गठन गरी विवाद सुल्झाउने सम्बन्धमा छलफल भएको बताए  । बैठकमा राज्य पुनःसंरचना आयोग गठन गर्नुपर्ने बारेमा छलफल उठे पनि कुनै टुङ्गो लागेको छैन । आयोग गठनका बारेमा प्रमुख दलहरुबीच फरकफरक मत छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राज्य पुनःसंरचना आयोगको गठनका विषयमा सभामुख र अन्य दलसँग कुरा गरेर टुङ्गो लगाउने बारेमा छलफल भएको बताए ।

उनले संविधान लेखनका क्रममा उठेका विवादका विषय टुङ्ग्याउन प्रमुख दलसहित अन्य दलहरु समावेश गरेर उपसमिति गठन गरेर काम अघि बढाउनेबारे छलफल भएको बताए  । नेता नेपालले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन माओवादी लडाकूको समायोजन, पुनःस्थापनाजस्ता विषयमा विशेष समितिअन्तर्गत काम टुङ्गो लगाउने विषयमा जोड दिइएको पत्रकारहरुलाई बताए  ।

नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्तिप्रक्रियालाई अघि बढाएर संविधान लेखनको काम सक्नुपर्नेमा जोड दिँदै राज्य पुनःसंरचना आयोगको गठन गर्दा उपयुक्त सुझाव आउन सक्ने धारणा व्यक्त गरे ।

बैठकमा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय डा बाबुराम भट्टराई, मोहन वैद्य र नारायणकाजी श्रेष्ठ  सहभागी थिए  । त्यसैगरी नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहलगायतको पनि बैठकमा सहभागिता थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %