दुबई, युएई
१८ फेब्रुअरीका दिन दुबईस्थित फोरप्वाइन्ट शेराटन होटलमा नेपाली मगर संघ युएईको आयोजनामा “२९ औं मगर दिवस २०६७” मगरहरुको संस्कृति झल्काउने तथा विभिन्न लोक संगीतको माहौलमा धुमधांमसंग मनाइएको छ ।
उक्त कार्यक्रम सोही संस्थाका अध्यक्ष गिरमान थापाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावासका महामहिम राजदूत अर्जुनबहादुर थापा थिए । बिशेष अतिथिमा संस्थापक पूर्वअध्यक्ष कर्णबहादुर थापा थिए ।
कार्यक्रम संयोजक तथा वरिष्ठ केन्द्रीय उपाध्यक्ष पुर्णबहादुर थापाले स्वागत मन्तव्य र संस्थाको कार्यबिवरण केन्द्रीय महासचिव नुनप्रसाद सोमैले पढेर सुनाएकाथिए । कार्यक्रमको अवसरमा नेपाली मगर संघ युएईको आफ्नो वेवसाइट पनि शुभारम्भ गरिएकोछ ।
स्थानीय कलाकारहरुद्धारा प्रस्तुत गरिएको मगरहरुको परम्परागत झ्याउंरे नाचले दर्शकहरुलाई छमछमी नचाएको थियो भने हांस्य कलाकारहरुले पेट मिचि–मिचि हसाएकाथिए ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणमा केन्द्रीय महासचिव नुनप्रसाद सोमै र केन्द्रीय सचिव भरत रानाले संचालन गरेकाथिए भने दोस्रो चरणमा लोक गायक धनेन्द्र मास्की र रोमिसा पुनले संचालन गरे । दर्शकको अर्धकट्टि टिकटलाई ड्रा गरी विभिन्न पुरस्कारहरुको व्यवस्था समेत गरिएको थियो । जसमा प्रथम पुरस्कार ल्यापटप, डीभिडी, मोबाइल फोन र घडी रहेको थियो ।
लालबहादुर ढेंगा