दुबईमा २९ औं मगर दिवसको धुमधाम (सचित्र)

दुबई, युएई
१८ फेब्रुअरीका दिन दुबईस्थित फोरप्वाइन्ट शेराटन होटलमा नेपाली मगर संघ युएईको आयोजनामा “२९ औं मगर दिवस २०६७” मगरहरुको संस्कृति झल्काउने तथा विभिन्न लोक संगीतको माहौलमा धुमधांमसंग मनाइएको छ ।

उक्त कार्यक्रम सोही संस्थाका अध्यक्ष गिरमान थापाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावासका महामहिम राजदूत अर्जुनबहादुर थापा थिए । बिशेष अतिथिमा संस्थापक पूर्वअध्यक्ष कर्णबहादुर थापा थिए ।
कार्यक्रम संयोजक तथा वरिष्ठ केन्द्रीय उपाध्यक्ष पुर्णबहादुर थापाले  स्वागत मन्तव्य र संस्थाको कार्यबिवरण केन्द्रीय महासचिव नुनप्रसाद सोमैले पढेर सुनाएकाथिए । कार्यक्रमको अवसरमा नेपाली मगर संघ युएईको आफ्नो वेवसाइट पनि शुभारम्भ गरिएकोछ ।

स्थानीय कलाकारहरुद्धारा प्रस्तुत गरिएको  मगरहरुको  परम्परागत झ्याउंरे नाचले दर्शकहरुलाई छमछमी नचाएको थियो भने हांस्य कलाकारहरुले पेट मिचि–मिचि हसाएकाथिए  ।

दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणमा केन्द्रीय महासचिव नुनप्रसाद सोमै र केन्द्रीय सचिव भरत रानाले संचालन गरेकाथिए भने दोस्रो चरणमा लोक गायक धनेन्द्र मास्की र रोमिसा पुनले संचालन गरे । दर्शकको अर्धकट्टि टिकटलाई ड्रा गरी विभिन्न पुरस्कारहरुको व्यवस्था समेत गरिएको थियो । जसमा प्रथम पुरस्कार ल्यापटप, डीभिडी, मोबाइल फोन र घडी रहेको थियो ।

लालबहादुर ढेंगा