मनोज घर्तीमगर
शहरी युवा सुविधाभोगी छन् । उनीहरुको पहिलो रोजाई मोटरसाइकल हो । मोटरसाइकल र कारमा हुँइकिन पाउँदा सान बढ्ने ठान्छन् धेरैले । एसएलसी उत्तिर्ण हुनेबित्तिकै मोटरसाइकल किनिदिनुपर्ने बाध्यता एकथरी अभिभावकको छ । लाइसेन्स होस कि नहोस् बाइकमा हुँइकिन्छन् । त्यसैले दुर्घटना पर्नेहरु टिनएज र युवा धेरै छन् ।
समय बदलिएको छ । मोटरसाइकल र कारमा हिड्नेहरु अहिले साइकलमा झरेका छन् । रहरले होइन, कहरले साइकलिङ गर्नेको जमात बढ्दो छ पोखरामा । साइकल चढेर यहाँका डाँडाकाँडा चहार्ने युवाको जमात बाक्लिएको छ । साइकलसहित कोही युवा तालको छेउछाउमा भेटिन्छन् । कोही डाँडा वरिपरी । भारतले अघोषित नाकाबन्दी गरेपछि भएको पेट्रोलियम पदार्थको अभावले धेरैका मोटरसाइकल र कार थन्किएका छन् । तिनको ठाउँ लिएका छन् साइकलले । ‘कुनै बेला साइकलिङ गर्नु रहर थियो, अहिले कहर भएको छ’ तीन महिनादेखी साइकल चढ्न थालेका सुजित थापा भन्छन्,‘पेट्रोल नपाएपछि साइकल किने । अहिले सजिलो भएको छ ।’
पोखरालाई साइकल सिटी बनाउने अभियान चलेको धेरै भो । तर, कसले वास्ता गर्ने ? अहिले बाध्यताको भूमरिमा साइकल चढ्नेको जमात बढेको छ । पाँच वर्ष अघि पोखराका इभेन्ट म्यानेजर रविन गुरुङले ‘स्वच्छ सुन्दर हराभरा, साइकल सिटी पोखरा’ नारा लिएर साइकल चढौं अभियान चलाएका थिए । पोखरामा अहिले साइकल चढ्नेको जमात बढेपछि साइकल सिटीको अभियानलाई सघाएझै लाग्छ रविनलाई । ‘पोखरालाई साइकल सिटीको रुपमा विकास गर्न हामी पहिलेदेखी लागि परेका छौं, साइकल सिटी अभियानका सदस्य, साकलिङ संघ कास्कीले अहिले धेरै राम्रको काम गरेको छ’ साइकल चढौं अभियान चलाएर हजारौं पोखरेलीलाई साइकलसहित सडकमा उतारेका रविन भन्छन्,‘केहीको चासो भए पनि धेरैलाई मतलब थिएन । तर, आजभोली बाध्यताले हो वा बुझेर पोखरामा साइकल चढ्नेहरु बढ्दैछन् ।’
साइकल चढ्दा स्वास्थ्यमा फाइदा हुने मात्रै होइन, मनोरञ्जन पनि हुने भएकाले साइकल चढ्नेहरु बढेका हुन् । अर्कोतिर नाकाबन्दीको मारमा परेर पेट्रोलियम पदार्थ नपाइएपछि कहिलेकाँही इमरजेन्सी पर्दा बाहिर निस्कनलाई भए पनि साइकलको बन्दोवस्त गर्ने प्रचलन बढेको छ । साइकल सिटी अभियन्ता र साइकल मैत्री पर्यटकीय शहरका अभियन्ताले बढी प्रचारबाजी गरेकाले पनि साइकल चढ्नेको जमात देखिएको हो ।
अघिपछि प्राय मोटरसाइकलमा देखिनेहरु बिहान केहिबेरका लागि मात्रै भए पनि साइकल चढ्छन् । दिनदिनै साइकल किन्नेहरु पनि ह्वात्तै बढेका छन् । साइकल पसलेहरुको अघिपछिभन्दा चौगुना ब्यापार छ । ‘नाकाबन्दीको कहरले बाइक र कारमा हिड्नेहरु अहिले साइकलमा प्याडल घुमाउँछन्’ कास्की जिल्ला साइकलिङ एशोसियसनका उपाध्यक्ष प्रकाश बज्राचार्य भन्छन्,‘स्वास्थ्यमा कन्सस भएर चढ्नेहरु पनि उत्तिकै कढेका छन् । यसले टुरिजम प्रमोशनमा पनि सघाएको छ । डाँडाकाँडा र गाउँमा पुग्दा रमाइलो पनि हुने स्वास्थ्यमा पनि मद्दत पुग्ने भएकाले साइकलमा आकर्षण बढेको छ ।’
केही महिना अघिसम्म साइकलमा हिँड्नेलाई खिसि गरिन्थ्यो । साइकल पनि चढ्ने हो र भन्थे । साइकल चढ्नेलाई हेलाहोचो गर्ने मात्रै होइन, कबाडी नै सोच्थे । त्यसैले औलामा गन्न सकिने मान्छे साइकल चढ्थे पोखरामा । साइकलको महत्व बुझेर हो वा बाध्यताले अहिले सबैलाई एकै ठाउँ ल्याइदिएको छ । पोखरामा अहिले साकलिङले व्यापकता पाइसकेको छ । ‘साइकलिङ मलाई मनपर्छ । संगतले थुप्रै पटक साइकलिङ गएको छु’ नदिपुरका बाबु सुवेदी भन्छन्,‘चाहेर पनि नसकिएको काम अहिले नाकाबन्दीले गर्नैपर्ने बाध्यता भएको छ । सकाइकल चलाउँदा ज्यानले उर्जा पाएको महसुस हुन्छ ।’
पोखरामा साइकल सिटीको अवधारणा आएपछि सडक बनाउदा साइकल लेन पनि बनाउनुपर्छ भन्ने आवाज उठेको थियो । त्यतातिर कसैले ध्यान दिएन । अहिले फेरी साइकल लेनको आवाज बाक्लिन लागेको छ । पोखरालाई साइकल मैत्री शहर बनाउन लागेका अभियन्ताहरु अहिले खुसी छन् । ‘नेपालीहरुमा साइकल चढे सानो भइने सोचाई छ । स्वास्थ्य, वातावरण प्रदुषण हुनबाट जोगाउन साइकलको भूमिका महत्वपूर्ण छ’ साइकल सिटी पोखराका सल्लाहाकार एवं साइकल मैत्री पर्यटकीय शहरका संयोजक निरज थापा भन्छन्,‘पोखरामा पछिल्लो समय साइकल चलाउने ट्रेन बढेको छ । हामीले गरेको प्रचार विस्तारै सार्थक हुँदैछ ।’