कन्दराको कमब्याक

Read Time:7 Minute, 30 Second

मनोज घर्तीमगर,

कुनै समय चर्चामा रहेर सेलाएको कन्दरा ब्याण्ड फेरी संगीत कर्ममा फर्किएको छ । भताभुङ्ग भएको पोखरेली पप ब्याण्ड कन्दरा हङकङमा ‘मर्दि हिमाल साँझ’ सांगीतक कार्यक्रममा बृहत प्रस्तुति दिएर फेरि जोडिएको हो । ‘हिउँ त हैन फाप्रेको डंगुर, माया भयो अमिलो अंगुर…हंङकङ पोखरा, निर्मोही आफ्नो को छर ?’ कन्दरा ब्याण्डले निकालेको यो गीतले एकताका बजार पिटेको थियो । झन्डै १७ वर्षपछि बजार पिट्ने त्यही गीत हङकङमा गाएर कन्दरा जुर्मुराएको हो ।

हङकङको मर्दिखोला सेवा समितिले गरेको ‘मर्दि हिमाल साँझ–२०१६’ मा ब्याण्डका सम्पूर्ण सदस्यसहित एकल लाइभ शो गरेर कन्दरा ब्याण्ड कमब्याक भएको हो । यस अघि पटकपटक ब्याण्डलाई कम ब्याक गराउन प्रयास भए पनि यो ब्याण्ड जोडिन सकेको थिएन । कन्दराले २०६२ सालमा ‘वर्षौपछि’ एल्बम निकालेरै कमब्याक हुन प्रयास गरे पनि सफल भएन । ब्याण्डका मेन भोकलिष्ट विवेक श्रेष्ठ बेलायत छाडेर सँधैका लागि नेपाल फर्किएपछि कन्दरा फेरी ब्यूँझिएको छ । ‘कन्दरा ब्याण्डको फेरी कमब्याक भएको छ’ देउराली ब्याण्डका संगीतकार÷एरेन्जर÷ड्रमर सुन्दर थापा भन्छन्,‘हामीले यो वर्ष (सन् २०१६) लाई कमब्याक वर्ष भनेरै सांगीतिक कार्यक्रम गरिरहेका छौं ।’

जोडिएको ब्याण्ड कन्दराले ‘के पहाड, के तराई’ बोलको गीतमा म्यूजिक भिडियो बनाइसकेको छ । ‘भेठी गोठैमा…’, ‘चन्द्रकोटकी नानी…’, लगायत गीत यूटुबमा सार्वजनिक गरेर सांगीतक क्षेत्रमा कन्दराको उपस्थिती जनाइसकेको छ । ब्याण्डले ‘कन्दरा फिट’ नामक नयाँ एल्बमको सम्पूर्ण काम सकिसकेको छ । दुई तीन महिना अघि नै रिलिज गर्ने योजना भए पनि भारतले गरेको अघोषित नाकाबन्दिले कार्यक्रम हुन सकेन । कन्दराले काठमाडौंमा ‘कमब्याक कन्सर्ट’ गरेर पुनारागमन गर्ने योजना बनाए पनि त्यसलाई पनि नाकाबन्दीले पछाडी धकेलिदिएपछि हङकङमा सांगीतक प्रस्तुति दिएर कन्दरा कमब्याक भएको हो ।

ब्याण्डलाई नयाँ तरिकाले लैजान पुरानै सदस्य विवेक श्रेष्ठ, सुनिल थापा, बुद्धराज बज्राचार्यसँग सहकार्य गर्न काठमाडौंका सुन्दर महर्जन मादल र बेस्ट गीटारिष्ट मानिक सिंह जोडिन आएका छन् । सुन्दरले मादल बजाउँछन् भने मानिक बेस्ट गीटारिष्ट हुन् । यस्तै पोखराका अमित गुरुङ र अशिम शेरचन कन्दरामा जोडिन आईपुगेका छन् । यी दुवै लिड गीतार र रिदम गीतारिष्ट हुन् ।

५० को दशकको अन्त्यदेखि पोखराका व्याण्डहरु भताभुङ्ग हुन सुरु भएको हो । व्याण्डहरु भताभुङ्ग भएपछि कन्दरामा संलग्न केही युवाको मन त्यतिबेलै कुडिएको थियो । उनीहरु व्याण्डलाई व्यूझाउँन निरन्तर प्रयासरत भए पनि साईत जुरेन । व्याण्डमा रहेका कलाकारहरु कोही विदेश पलायन, कोही आफ्नै व्यवसाय गर्ने त कोही सोलो एल्बम निकाल्ने क्रम भएपछि निस्क्रिए बनेका पोखरेली व्याण्डहरु फेरी कमब्याक भएका हुन् । ‘कन्दरा ब्याण्डले पोखरामा ब्याण्डकै नामबाट थुप्रै प्रस्तुति दिइसकेको छ’ देउराली ब्याण्डका संस्थापक तथा किबोर्डबादक बुद्धराज बज्राचार्य भन्छन्,‘पोखराका ब्याण्डहरु सुसुप्त भएको अवस्थामा ब्याण्डहरु जुर्मुराउनुपर्छ भन्ने भावना कन्दराको छ । हामी त्यही अनुसार लागेका छौं ।’

पोखराका ब्याण्डले लोक पपलाई आधार बनाएर नेपाली गीत संगीतमा क्रान्ति नै गरेको बेला थियो त्यो । एकपछि अर्को हिट भएपछि व्याण्ड खुल्ने लहर चल्यो । यहि लहरमा मिसिएको थियो कन्दरा ब्याण्ड । २०४७ मा खुलेको ब्याण्डले पहिलो एल्बम २०५० मा ‘चन्चले कान्छी’ निकाल्यो । यसले खूब चर्चा कमायो । अनि झन् हौसिए ब्याण्ड सदस्य । त्यतिबेला विवेकले गीत गाउँथे । बिजय गुरुङ, अमर गुरुङ, सदिप तुलाचन, बुद्धराज बज्राचार्य बाद्यदनमा थिए । दिपक मुल्मीले म्यानेजरको जिम्मा निभाएका थिए । आनन्द तज्याले किबोर्ड बजाउँथे भने सुनिल भट्टचनले रिदम गीतार बजाउँथे ।

ब्याण्डले सांगीतिक माहौललाई निरन्तरता दिन २०५३ मा ‘डाँडा पारी’ एल्बम निकाल्यो । यसले पप बजारमा खैलाबैला मच्चियो । हौसिएको ब्याण्डले २०५५ मा ‘हङकङ–पोखरा’ एल्बम निकाल्यो । ब्याण्डको यो एल्बमलाई स्रोताले अत्यधिक रुचाए । समय एकनास भएन । ६० को दशक सुरु हुन नपाउँदै पोखरेली ब्याण्डहरु एकपछि अर्को हराउन थाले । रहरले खोलिएका कति व्याण्डहरु गुमनाम भए । केही टुक्रिए । कति नयाँ जन्मिए । संगीतकर्मले खान लाउन पुगेन । त्यसपछि ब्याण्ड सदस्य कतिले व्यवसाय परिमार्जन गरे । कोही घरजम गरेपछि ब्याण्डमा फर्किएनन् । देउराली पनि त्यही घानमा पिसियो । ‘म परिबन्दमा परेर बिदेश गएको हुँ । वर्षौपछि संगीत कर्ममै रहने गरि फर्किएको छु । जसले कन्दरालाई कमब्याक गराउन सघायो’ ब्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ भन्छन्,‘हामी पूरानो लयलाई समात्न लागि परेका छौं । स्रोता दर्शकको माग पति उत्तिकै बढेको छ ।’ श्रेष्ठका अनुसार हङकङपछि कन्दराले कोरिया, मलेशिया, अष्ट्रेलिया लगायत देशमा कन्सर्ट गर्दै छ । यस्तै उसले तयार गरेको ‘कन्दरा फिट’ नामक एल्बम रिलिजको तयारी पनि गरिरहेको छ । एल्बममा सात वटा नयाँ गीत छन् भने, चलेका पूरा केही गीत पनि समावेश गरिनेछन् । यस्तै ‘तिमी पारी त्यो गाउँमा’ गीत रिमेक भर्सनमा आउँदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %