मनोज घर्ती मगर ,पोखरा
गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’ सिजन दुई अन्तरगत गायन तर्फ सुनील आरडी र नृत्यतर्फ ममता अधिकारी विजेता बनेका छन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा दुवै विधामा विजेताले पचास हजारसहित हार्टफोर्ड स्कुटर पुरस्कार पाए । साथमा उनीहरुले साँगीतिक एल्बम र म्यूजिक भिडियोमा अभिनयको मौका पनि पाएको प्रतियोगिताका सयोजक प्रशान्त सुनारले जानकारी दिए ।
सुरताल कला केन्द्रको आयोजनामा भएको दोस्रो सिजनको प्रतियोगितामा गायनतर्फ प्रिया गुरुङ फस्ट रनरअप भइन् भने सिर्जना गुरुङले सेकेन्ड रनरअपको उपाधी पाइन् । नृत्यतर्फ दिपक गर्बुजा फस्ट रनरअप भए भने जुना पुन सेकेन्ड रनरअप भईन् । फस्ट रनरअप हुनेले २०÷२० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको ग्राण्ड फिनालेमा गायन र नृत्य दुवै विधामा ६÷६ जनाले प्रतिस्पर्धा गरेका थिए । गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना सहभागी थिए ।
ग्राण्ड फिनालेमा महानायक राजेश हमालले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । धर्मपत्नी मधु भट्टराईसँग आएका हमाल कार्यक्रम चल्दै गर्दा गायक तिलकबम मल्लको प्रस्तुतीमा स्टेज उक्लेर आफ्ना प्रशंसकहरुसँग नाचेका थिए । सुर तालको यो सिजनमा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए भने नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए ।
तस्वीर ः जक्सन डटकम