मनोज घर्तीमगर
मिस पोखराको ताज सबिना राना भुजेलले जितेकी छन् । बुधबार राती पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १९ प्रतियोगीहरुलाई पछाडि पार्दै उनले ताज आफ्नो शिरमा पहिरिएकी हुन् ।
सातौँ सँस्करणको उपाधीसँगै सबिनाले मिस नेपालको अबको सँस्करणमा सोझै सहभागिता जनाउन पाउनेछिन् । त्यो सँगै उनले ५० हजार रुपैँया, एउटा स्कुटर र गोल्डेन क्राउन पुरस्कार पाइन् । मिस पोखराको विजेताले गोल्डेन क्राउन पहिरिएको यो पहिलो पटक हो ।
ताज शिरमा पहिरिएपछि सबिनाले निकै ठुलो खुशि मिलेको प्रतिक्रिया दिइन् । ‘मेरो इच्छा आज आएर पुरा भएको छ । यसलाई मैले शुरुवात मानेकी छु’ सबिनाले भनिन्,‘आगामी दिनमा यो ताजको गरिमालाई अझै बढाउनेछु ।’ प्रतियोगितामा मञ्जिता खनाल फस्ट रनरअप र लोचन बसेल सेकेन्ड रनरअप भईन् । फस्ट रनर अप खनालले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप बसेलले २० हजार रुपैयाँ पुरस्कार पाए । सेकेन्ड रनरअप बसेलले सँगसँगै बेस्ट फोटोजेनिक टाईटल पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरि बेस्ट पर्सनालिटिको उपाधी सलिफा गुरुङले जितिन् ।
मोस्ट ट्यालेन्ट टाईटल आरजु घोताने गुरुङ, बेस्ट क्याटवाक र भ्यूअर्स च्वाईस टाईटल सलिना राज्यलक्ष्मी राणाले जिते । त्यस्तै मिस पपुलारिटि टाईटल अनु रेग्मी र बेस्ट स्माईल तथा बेस्ट ड्रेस टाईटल सिर्जना विश्वकर्माको हातमा प¥यो । बुधबार भएको मिस पोखराको ग्राण्ड फिनालेमा गोपाल कक्षपती, संचारकर्मी महेश भण्डारी, ब्यूटिसियन चिनु गुरुङ, अप्सरा बस्नेत लगाएत निर्णायक थिए ।
ग्राण्ड फिनालेकै क्रममा गायन तथा नृत्य प्रस्तुतीहरु पनि भएको थियो । गायिका देविका बन्दना, विग आईकन मुस्कान रानाभाट, गायक कालिप्रसाद बाँस्कोटा, विजेश पौडेलले सहभागीलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै सारेगम कला केन्द्रका कलाकारहरुले नृत्यको प्रस्तुती पनि राखेका थिए ।
पोखरा जेसिजको आयोजनामा भएको सातौँ सँस्करणको मिस पोखरालाई ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले व्यवस्थापन गरेको थियो । कोलगेट ह्वाईट भिजिबलको मुख्य प्रायोजनमा भएको मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका थिए ।
तस्वीर : ठिकठाक डटकम