नयाँ गीत कन्सर्टकै भर

Read Time:3 Minute, 51 Second

मनोज घर्तीमगर

हरेक हप्ता गीत निकालिन्छन् । हप्ताहप्तामै अनेकन कलाकारले नयाँ गीत र एल्बम बजारमा ल्याउँछन् । पर्वे गीतको त कुरै नगरौं । उदाहरण, तीजलाई नै लिउँ न । तीज आउनु दुई तीन महिना अघिदेखी गीत बजारमा आउँछन् । पर्व मात्रै हैन हरेक याममा नयाँनयाँ गीत गाइएकै छन् । म्यूजिक भिडियो बनाइएकै छन् । गायकगायिकालाई गीत गाउन भ्याइनभ्याइ तर, एल्बम बिक्री शून्य ।

एल्बम बिक्री छैन । गीतमा लगानी बालुवामा पानी हाले सरह हो । रिटर्न छँदैछैन । तैपनी किन निस्कछन् दिनदिनै गीत ?,‘नयाँ गीत भरपर्ने एउटै क्षेत्र हो स्टेज कार्यक्रम । देशविदेशमाका मेलामहोत्सव र अन्य कार्यक्रमका लागि स्टेज पाउने आशामा कलाकारले लाखौं खर्च गरेर एल्बम सार्वजनिक गर्छन्’ गायक पशुपति शर्मा भन्छन्,‘ब्यवसायिक रुपमा लाग्नेहरुले हामी हराएका छैनौं, यहि क्षेत्रमा छौं है भन्नलाई पनि एल्बम गर्छन् ।’ समसामयिक गीत गाएर चर्चा कमाएका पशुपति शर्माले २०६४ सालबाट एल्बम निकाल्न थालेका हुन् ।

सुरुमा थोरै एल्बम बिक्री भए पनि अहिले कसैका एल्बम पनि बिक्दैनन् । त्यही भएर धेरैका लागि गीत गाउनु लगानी खेर जानु मात्रै भएको छ । नयाँ कलाकार चर्चा कमाउन र गायनमा जम्ने रहरमा गीत निकाल्छन् । पूराना कलाकार गीतसंगीत क्षेत्रमै रहेको जनाउन दिन, कन्सर्ट र महोत्सवलाई नै तार्गेट गरेर त्यस्तै प्रकारका गीत निकाल्छन् । ‘नयाँ गीत निकालेको छ भनेर स्टेज कार्यक्रम दिन्छन् अनि निरन्तरमा मात्रै हो’ गायक शंकर विरही गुरुङ भन्छन् । उनले एल्बम बिक्रिबाट आम्दानी नहुने सुनाउँदै केवल निरन्तरताका लागि बर्सेनि नयाँ गीत गाउँदै आएको स्वीकारे ।

गायिका देवी घर्तीमगरले एल्बम निकाल्न छाडेको धेरै भो । बिक्री नै नभएपछि खर्च नगर्ने भन्दै उनले बिचमा आफ्ना गीत निकालिनन् । आफ्नो एल्बम नगरे पनि अरुका गीत गाएरै वर्षमा ४०/५० भन्दा बढी स्टेज कार्यक्रम पुग्छिन् । विदेशमा पनि उनको उत्तिकै माग छ । ‘एल्बम बिक्री गरेर आम्दानी गरौंला भन्ने छैन । अहिले त गीत गाएर चर्चा कमाउनु मात्र हो’ देवी भन्छिन्,‘म हराएकी छैन है भनेर दर्शक स्रोतालाई जानकारी दिन धेरैपछि घुम्टेकी छोरी नामक एल्बम गर्दैछु । एक दुई हप्तामै बजारमा आउँछ ।’

एल्बम बिक्री नभए पनि संगीतलाई निरन्तरता दिन भन्दै एल्बम लगातार निकालीरहन्छन् गायक सागर शाह । फरकफरक शैलिमा गाइएका उनका गीत मन पराएका छन् दर्शकले । तैपनि आजभोली एल्बम बिक्रि हुँदैनन् । ‘पैसोसँग मात्रै तुलना गर्नुभन्दा नयाँ गीत आए ए यसले गाउँदै रैछ है भन्ने हुन्छ’ सागर व्यङ्ग्यात्मक पारामा भन्छन्,‘त्यहि नभए मेला महोत्सवमा स्टेज त पाइन्छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %