कास्की जिल्लास्तरीय गायन प्रतियोगिताको उपाधि जुनियर सिटिजनका निखिल गुरुङलाई

Read Time:4 Minute, 14 Second

रूद्र श्रीसमगर
पोखरा, २५ पुस
उच्च माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा सम्पन्न कास्की जिल्लास्तरीय गायन प्रतियोगिताको उपाधि जुनियर सिटिजन उच्च माविका निखिल गुरुङले जितेका छन् ।
कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माविमा आयोजित प्रतियोगितामा न्यू लाइफ उच्च माविका आरजु विक द्वितीय, सैनिक आवासीय उच्च माविका सुजन रानाभाट तृतीय तथा शिशु निकेतन उच्च माविका सृष्टि गौतम र कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माविका सोनी गुरुङ सान्त्वना भए । प्रतियोगिताको निर्णायकका रूपमा पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व प्रमुख प्रा.डा. पशुपतिनाथ तिमिल्सिना, प्रजापति पराजुली, तुलसी प्रभास खनाल र दिलीप गायक रहनुभएको थियो ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गड्तौलाले विद्यालयहरूमा अन्य प्रतियोगिता हुने गरेको भएपनि गायन प्रतियोगिता भने नौलो भएको बताउनुभयो । पठनपाठनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै गड्तौलाले गायन प्रतियोगिताका माध्यमबाट गायन प्रतिभा उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
उच्च माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, पोखराका प्रमुख अशोक न्यौपानेले उच्च माध्यमिक शिक्षा परिषद्मा विद्यमान अतिरिक्त क्रियाकलापको बजेटमार्फत् गायन प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।
गायन प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुशी लागेको बताउँदै कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माविका संस्थापक÷प्राचार्य एवं एन–प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले पाठ्यक्रमभन्दा बाहेक विद्यार्थीमा लुकेर रहेको क्षमता र राष्ट्रलाई चाहिएको प्रतिभा निकाल्न विद्यालयले निरन्तर अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताउनुभयो ।
त्यस्तै, पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख एवं प्रतियोगिताका निर्णायक मण्डल संयोजक प्रा.डा. पशुपतिनाथ तिमिल्सिनाले व्यवहारिक शिक्षाका लागि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै व्यवहारिक शिक्षाका विभिन्न पाटाहरूलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष बाबुराम पन्तले गायन प्रतियोगिता गरिनु विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि राम्रो सुरुवात रहेको भन्दै अन्य प्रतियोगितासँगै गायन प्रतियोगितालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %