कविता गाउँ लुम्लेमा कवि गौचनको सम्झना

Read Time:5 Minute, 13 Second

रूद्र श्रीसमगर
पोखरा, २० पुस
दुई वर्ष अघि दिवंगत भएका लोकप्रिय कवि एवं गीतकार विनोद गौचनको दोस्रो स्मृति दिवसका अवसरमा गौचनकै परिकल्पनामा स्थापित कविता गाउँ, लुम्लेमा छात्रवृत्ति तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आयोजित कार्यक्रममा कवि गौचनको परिकल्पनामा २०६५ साल चैत्र १५ गते कविता गाउँका रूपमा घोषित कास्कीको लुम्लेमा कविता तथा मन्तव्यमार्फत गौचनको सम्झना गरियो । सो कार्यक्रममा संगम मावि, चन्द्रकोटबाट उत्कृष्ट अंक ल्याइ प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने चन्द्रा देवकोटा र जितेन्द्र विक तथा हिमालय माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने राज सुनार र ममता पौडेललाई प्रोत्साहनस्वरुप एक/एक हजार रुपैयाँको छात्रवृत्ति वितरण गरियो ।
विनोद गौचन स्मृति प्रतिष्ठान, पोखरा, नागरिक समाज, पोखरा र कविता गाउँको समन्वयमा सो छात्रवृत्ति वितरण गरिएको हो । प्रतिष्ठानका संरक्षक एवं कवि विनोद गौचनका दाजु विश्वमोहन गौचनले आगामी दिनमा छात्रवृत्तिको राशी वृद्धि गरी विनोद गौचन स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने सोंच बनाएको बताए ।
सोही अवसरमा गत साउन १३ गते लुम्लेमा गएको पहिरोमा परी पीडित परिवारलाई चिसोबाट बच्नका लागि मानव मिलन नारी जागरण नेपालले ४५ थान कम्बल समेत वितरण गरेको थियो । जागरणका तर्फबाट संस्थापक अध्यक्ष सावित्री शर्मा, कार्यवाहक अध्यक्ष रमा शर्मा ढकाललगायतको नेतृत्वमा ती कम्बल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री महादेव गुरुङले कविता गाउँ लुम्लेको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउ । हरेक मानिसको मूल्यांकन अभावका बेला हुने बताउँदै कवि गौचनको सपनालाई साकार गर्न सके त्यही नै गौचनप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले कविता गाउँलाई साँच्चैको कविता गाउँ बनाउन आवश्यक रहेको बताउँदै कविता गाउँको विकासका लागि धेरै काम गर्न सकिने उल्लेख गरे । बाँस्तोलाले कविता गाउँको परिचयका लागि कविता संग्रहालयको स्थापना र कवि, साहित्यकारहरूको सहजताका लागि होम स्टे निर्माण आवश्यक देखिएको बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कविता गाउँमा कम्तीमा वर्षको एकचोटि काव्य संगोष्ठी गर्न सके कविता गाउँको सार्थकता पूरा हुने बताउँदै नाम मात्रको कविता गाउँको कुनै औचित्य नहुने बताए ।
कविता गाउँका अध्यक्ष भक्तिराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् प्रकाश घिमिरे, विनोद गौचन स्मृति प्रतिष्ठान, पोखराका संरक्षक विश्वमोहन गौचन, मानव मिलन नारी जागरण नेपालका संस्थापक अध्यक्ष सावित्री शर्मा, नागरिक समाज, पोखराका संयोजक राम बहादुर पौडेल, समाजसेवी भरत देवकोटा, चित्र बहादुर गुरुङ, लक्ष्मण देवकोटा, शिक्षक टंकप्रसाद देवकोटा, कविता गाउँका सचिव सुनिल देवकोटा, अस्मिता देवकोटा, शुभला देवकोटा लगायतले कविता वाचन एवं मन्तव्य व्यक्त गरेका थिए ।
२०७० साल पुस २० गते सोमबार कवि एवं गीतकार गौचनको ५७ वर्षको उमेरमै निधन भएको थियो । गौचनका जति माया लाए पनि, तगारोमा रुमाल राखीलगायतका गीत चर्चित छन् भने ढुंगे साँघुको मेलैमा र पोखरामा फूल फुल्दैन नामक दुई कविता संग्रह पनि प्रकाशित छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %