पोखरा उद्योग बाणिज्य संघ ५७ औ वर्षमा प्रवेश गरेको छ । ब्यवसायीको हकहित संरक्षण गर्न २०११ साल माघ २५ गते पोखरा उद्योग बाणिज्य संघको स्थापना भएको हो । तत्कालिन अवस्थामा संघको नाम पोखरा ब्यापार संघ थियो । २०३५ सालमा संघले आफ्नो नाम परिवर्तन गरी पोखरा उद्योग बाणिज्य संघ बनाएको हो ।
संघको संस्थापक अध्यक्षमा अमृतप्रसाद सेरचन रहेका थिए । नौ सदस्यीय कार्यसमितिमा मथुराप्रसाद बजिमय सचिव,सर्वज्ञमान प्रधानाङ्ग कोषाध्यक्ष तथा सदस्यहरुमा चित्रबहादुर तुलाचन, जगदिशप्रसाद गौचन, कृष्णबहादुर जोशी, दिलबहादुर भारी, समरबहादुर बजिमय र अमृतमान विजुक्छे रहेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
मोटर भन्दा पहिले जहाज आएको पोखरामा विमानस्थलदेखि ब्यवसायीको घरसम्म सामान पु¥याउने कार्य सहज बनाउन संघ स्थापनाको सोच राखिएको संस्थापक कोषाध्यक्ष सर्वज्ञमान प्रधानाङ्गको भनाई छ ।पोखरामा ब्यापार ब्यवसाय बढ्दै गएपछि संघको भूमिका पनि बढ्दै गएको उनले जनाए ।‘अहिलेको अवस्था देख्दा साह्रै खुसी लाग्छ ।’–झण्डै सयको हाराहारीमा पुग्न आँटेका उनले भने–‘संघले पोखराको हितमा ठूलो काम गरेको छ ।’
ब्यापारीको हितमा स्थापना गरिए पनि संघले पोखराको चौतर्फी विकासमा ठूलो योगदान गरेको संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले जनाए ।‘खासगरी पोखरामा शैक्षिक जागरण ल्याउन संघले खेलेको भूमिका गर्व गर्न लायक छ ।–‘उनले भने–‘ पोखराको सबैजसो शैक्षिक संस्था स्थापनामा संघले आर्थिक सहयोग गरेको छ ।’ पृथ्वीनारायण क्याम्पस तथा पोखरा विश्वविद्यालयको स्थापनाको लागि संघले अभियान नै चलाएको उनले जनाए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका विषयमा संघले आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले भने–‘ नीजि क्षेत्रबाट सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने मान्यताले सामाजिक कार्य गर्ने संभवत पोखरा उद्योग बाणिज्य संघ नै पहिलो हो । ’
संघले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहर बनाउने अवधारणा अनुरुप काम गरेको संघका पूर्व अध्यक्ष अशोक पालिखेले जनाए । उनकै पहलमा पोखरामा पर्यटन विकासको लागि पोखरा पर्यटन परिषद गठन भएको थियो । संघको नेतृत्वमा दुई कार्यकाल बिताएका पालिखेका अनुसार सर्वप्रथम नीजि क्षेत्रबाट विदेशी संघ÷संस्थाहरुसँग साझेदारी कार्यक्रम संचालन गर्ने जस पनि संघसँगै रहेको छ । संघले जर्मनको एचडब्लुके माइञ्जसँग उनकै कार्यकालमा साझेदारी कार्यक्रम शुरु गरेको थियो । सो परियोजना सन् २०१० को डिसेम्बरबाट सकिएको छ । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेको पोखरा उद्योग बाणिज्य संलघे महासंघको नेतृत्वमा आफ्नोतर्फबाट प्रतिनिधित्व पनि गरिसकेको छ । संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी २०५४ देखि २०५६ सम्म महासंघको अध्यक्ष भएका थिए । महासंघको आगामी नेतृत्वको लागि पनि पोखरा उद्योग बाणिज्य संघले आफ्ना पूर्व अध्यक्ष आजाद श्रेष्ठलाई उम्मेदबारको रुपमा प्रस्तुत गरेको छ ।
पोखरा उद्योग बाणिज्य संघ ५७ वर्ष पुग्यो
Read Time:4 Minute, 36 Second