काठमाडौँ, १ फागुन
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यादेशबाट ल्याइएको बजेटलाई पारित गर्ने सहमति भएको छ ।
दुई शीर्ष नेताबीचको छलफलमा मन्त्रालय बाँडफाँड र सरकारलाई पूर्णता दिने विषयमा छलफल भए पनि कुनै सहमति नभएको भेटमा सहभागी माओवादी नेता देव गुरुङले पत्रकारहरूलाई बताए ।
उनले प्रधानमन्त्रीले एनेकपा माओवादीलाई दिने भनिएका मन्त्रालयकाबारेमा पार्टीभित्र सहमति कायम गरी फेरि वार्ता गर्ने भनेकाले आज सहमति हुन नसकेको जानकारी गराए ।
गत पुस ३ गते सरकारले अध्यादेशद्वारा ल्याएको बजेट ६० दिनभित्र अर्थात् फागुन ३ गतेभित्र व्यवस्थापिका–संसदबाट पारित गराइसक्नुपर्ने प्रावधान रहेको छ ।