काठमाडाँ २९ माघ
प्रजातन्त्र र विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुगे । भ्रमणका क्रममा उहाँले प्रकोप जोखिम न्यूनीकरण गोष्ठीलाई सम्बोधन गर्नुका साथै मानव बेचबिखन तथा शरणार्थीसम्बन्धी विषयहरूमा छलफल गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
साथै उनले राजनीतिक नेता, वरिष्ठ सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग भेट गर्नेछन् ।
ओटेरोले “सचेत बनौं, तयार रहौं ः अन्यत्रका भूकम्पबाट सिकिएका पाठहरूको कार्यान्वयन गरौं” नामक प्रकोप जोखिम न्यूनीकरण गोष्ठीलाई राजधानीमा सम्बोधन गर्नेछन ।
अमेरिकी राजदूतावास र संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गरेको सो कार्यक्रमको उद्देश्य भूकम्पको खतराबारे चेतना जगाउने, प्रकोप जोखिम न्यूनीकरणप्रति नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता प्रदर्शन गर्ने, र हालसालैका प्रकोपहरूबाट सिकिएका पाठहरूको समीक्षा गरी नेपालमा नीति र योजनाबारे जानकारी दिने रहेको छ ।
ओटेरोले आजै माइती नेपालको भ्रमण गरी बेचबिखनबाट उम्केका पीडितसँग भेट गरेका थिए । त्यस अवसरमा उनले बेचबिखनविरुद्धको लडाइँमा माइती नेपालले गरिरहेका कार्यहरू उल्लेखनीय रहेको भदै सराहना गरेका थिए ।