गोप्य सहमति बृहत् शान्ति सम्झौताविपरीत : माले
काठमाडौँ, २७ माघ
नेपाल कम्युनिष्ट पार्टी (माले)ले प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच भएको गोप्य सहमति बृहत् शान्ति सम्झौता विपरीत भएको ठहर गरेको छ ।
नेकपा मालेको पाँचौ केन्द्रीय कमिटीको आज बसेको सातौं पूर्ण बैठकले सो ठहर गरेको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
बैठकले शान्ति प्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पु¥याउन माओवादी लडाकूको छुट्टै वा अन्य सुरक्षा निकायको समेत संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने सहमतिले बृहत् शान्ति सम्झौताको मर्मलाई सम्बोधन नगरेको र सो सहमति शान्ति सम्झौताविपरीत भएको जनाएको छ ।
नेकपा (माले) सभासद दलले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएको ७ महिना पछि भएपनि देशलाई निर्वाचित नयाँ सरकार प्राप्त गर्न सघाउ पुगोस् भनेर झलनाथ खनालको पक्षमा मतदान गरेको महासचिव सी.पी.मैनालीले स्पष्ट पारे ।
‘दुई दलको सो सहमति विस्तृत शान्ति सम्झौतामा नभएको सहमति हो,’ उनले भने– ‘राष्ट्रिय सहमति निर्माण नगरी यसलाई लागू गर्न नसकिने विषयतर्फ दुवै दलको ध्यान गम्भिररूपमा आकर्षित गरिन्छ र दुई दलले आलोपालो गरी सरकार चलाउने सहमति कसरी वाम तथा लोकतान्त्रिक शक्तिहरूको सहकार्य र सहमति विरोधी होइन भनी पुनर्परिभाषित हुनु आवश्यक छ ।’
बैठकले एमाले अध्यक्ष खनालको नेतृत्वमा देश राजनीतिक धु्रवीकरणतर्फ नभई वाम तथा प्रगतिशिल शक्तिहरूको सहकार्य र सहमति अनुरूप अघि बढ्ने ठहर गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणलाई सफल पार्नु वर्तमान सरकारको चुनौती रहेकोसमेत मैनालीले जानकारी दिए ।
बैठकले जनताबाट आएको माग र परामर्शलाई सम्मान गर्दै समुचित छलफलपछि यसभन्दा पहिले मुलुक सुहाउँदो सङ्घीय ढाँचा निर्माण गर्नका लागि प्रस्तावित वागमती केन्द्रशासित क्षेत्रलाई उपयुक्त ढङ्गबाट उत्तर–दक्षिण विस्तार गरी त्यसलाई बागमती प्रदेश नामाकरण गर्दै जम्मा ६ वटा सङ्घीय प्रदेशहरू निर्माण गर्ने प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ ।