मोरङ २५ माघ
पक्राउ परेका कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्ले आजदेखि मेची र कोशी अञ्चलका नौ जिल्ला बन्द गरेपछि जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र धनकुटामा बिहानैदेखि यातायात सेवा ठप्प भएपछि जनजीवन प्रभावित भएको हो ।
परिषद्ले धनकुटामा पक्राउ परेका आफ्ना केन्द्रीय सदस्य इन्द्र रसाइली, चन्द्रसिंह नेम्बाङ, जिल्ला उपाध्यक्ष फौदसिंह चोङवाङ, लिम्बुवान भोलन्टीयर्स धनकुटाका सिनियर फिल्ड कमान्डर गङ्गाहाङ तिगेला र सदस्य निरज श्रेष्ठको रिहाइ नभएसम्म अरुणपूर्वका नौ जिल्लामा अनिश्चितकालीन बन्द आह्वान गरेको जनाएको छ ।
चारदिनअघि धनकुटा–४ स्थित कोशी राजमार्गमा हिलेतर्फ जाँदै गरेको को १ ख २८५० नम्बरको माइक्रो बसलाई परिषद्का कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरेपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।