मीठा कविताहरु खोजे (कविता)

माया घले मगर

मैले सुनेको सत्यता

मैले बुझेको यथार्थ

त्यहिँ सत्यता र यथार्थ भित्र 

मीठा कविताहरु खोजे

 

तर फेवातालको पानीमा पनि भेटिन

माछापुछ्रेको शिरमा पनि भेटिन

सगरमाथामा पनि भेटिन

हुम्लामा पनि भेटिन

 

मान्छेको भिडमा

बस्ती बस्तिमा

अँह भेट्दै भेटिन

 

बरु लाशको थुप्रै -थुप्राहरू भेटे

डढेका झुप्रै झुप्राहरू भेटे

अनिकाल र अभाबहरू भेटे

बलात्कार र चित्कारहरू भेटे

शोषण र पीडाहरू भेटे  

 

मान्छे-मान्छेमा

ठूलो र सानो जातीहरू भेटे

मान्छेहरुको वर्गीय तह भेटिए

बिबादै-विवादहरू भेटे

हुलका-हुल जुलुसहरू भेटे

मुर्दावाद-जिन्दाबादहरू भेटे

नेपाल त बन्दै-बन्द भेटे

 

मैले सुनेको थिए कबिताहरुमा

नेपाल छिट्टै शान्ति हुन्छ सदभाब हुन्छ

त्यहिँ शान्ति र सदभाब भित्र

जनताहरुको आकांक्षा पुरा हुन्छ

 

तर मैले शान्ति र सदभाब पनि भेटिन

मीठा-मीठा कबिताहरु पनि कतै भेटिन

जनताहरुको आकांक्षा पनि पुरा भेटिन ।