ज्ञानेन्द्र पुन मगर
काठमाण्डौ , असोज २ – मिति २०७२ भाद्र ३१ र असोज १ गते दुई दिनसम्म संयुक्त मगर मञ्च, नेपालका संयोजक श्री लोकबहादुर थापामगरको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरि सो निर्णयहरुको जानकारी तथा आ–आफ्नो संगठनहरु र क्षेत्रमा कडाईका साथ कार्यन्वयन गर्न गराउनका लागि यो परिपत्र जारी गरिएको छ ।
१) मगर जातियता (राष्ट्रियता) / समुदायको भाषिक, सास्कृतिक, भौगोलिक/क्षेत्रगत तथा ऐतिहासिक निरन्तरता रहेको सिंगो क्लस्टर (सघन बसोबास) मगरात भूमिलाई क्षतविक्षत बनाएर विभाजन गरिएको पहिचान र अधिकारविहिन सात प्रदेशको संघीयता, धर्मनिरपेक्षताको अपव्याख्या गरिएको, राज्यको सबै अङ्ग र तहमा जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी नभएको, बहुभाषिक नीति उल्लेख नगरिएको लगायतका अधिकारको सुनिश्चितता विना जारी गर्न थालिएको संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधान (नेपालको संविधान २०७२) प्रति असहमति जाहेर गर्दै यसको घोर विरोध गर्ने निर्णय गरिएको छ ।
साथै मगराँतको अधिकार प्राप्तिको चालु आन्दोलनलाई थप शसक्त र नयाँ उचाईका साथ अधि बढाउन मगरात संघर्ष समितिले निम्न निर्णयहरू गरेको छ ।
२) यही २०७२ असोज ३ र ४ गते दुईदिन मगरात प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।
३) प्रस्तावित मगरात प्रदेशभन्दा बाहिर अन्य प्रदेशमा रहेका संयुक्त मगर मञ्च, नेपालका घटक संगठनहरु बिच “संयुक्त मगर मञ्च, नेपाल” गठन गरी तत् तत् प्रदेशमा भएका पहिचान र अधिकारमुखि आन्दोलनहरुमा सक्रिय सहभागिता र सहयोग जनाउने निर्णय गरेको छ ।
४) २०७२ असोज ५ गते देखि १४ गते सम्म मगरात प्रदेश भित्र हाम्रो मुद्दा र आन्दोलनको पक्षमा जनमत श्रृजना गर्न संगठनात्मक र प्रचारात्मक निम्न कार्यहरु गर्ने निर्णय गरिएको छ ।
क) मगरात प्रदेशभित्रका सबै जिल्लाहरु, गाऊ/नगरहरुमा नेपाल मगर संघको नेतृत्वमा संयुक्त मगर मञ्च, नेपालको घटक संगठनहरु सहितको “मगरात संघर्ष समिति” गठन गरी नामावली केन्द्रमा पठाउन भनिएको छ ।
ख) मगरात प्रदेश भित्रका जिल्लाहरुमा स्वंसेवा तथा रचनात्मक गतिविधी गर्नका लागि “मगरात युवा दस्ता” निर्माण गरि घोषणा गर्न भनिएको छ ।
ग) मगरात प्रदेशमा प्रचारात्मक कार्यहरुः भित्ते लेखन, पत्रकार सम्मेलन, पर्चा अपिल वितरण, गोष्ठी, छलफल आदि कार्यहरु गर्ने निर्णय गरेको छ ।
घ) सघर्षका गतिविधी तथा कार्यक्रमहरु गर्नका लागि आर्थिक व्यवस्थापन गर्न प्रवासका समितिहरुबाट र नेपालको जिल्ला जिल्लाहरुमा आर्थिक समिति गठन गरि अर्थ संकलन गर्ने ।
५) मगरात प्रदेशमा आम हड्ताल (बन्द):
यहि २०७२ असोज १५ गतेदेखि मगरात प्रदेशमा अनिश्चितकालिन आम हड्ताल (बन्द) गर्ने । जस अन्तरगत मगरात प्रदेशको नक्सा सहितको साइनबोर्डहरु जिल्ला जिल्लामा राख्ने, मगरात प्रदेशभित्र पहिचान र उत्पीडित वर्गसमुदायहरुको अधिकार विरोधी गतिविधी गर्ने सभासद् / नेताहरुलाई सामाजिक बहिस्कार गर्ने ।
६) मगरात संघर्ष समितिको संयोजक सम्बन्धमाः
मगरात संघर्ष समितिको संयोजकमा नेपाल मगर संघ रहने निर्णय गरेको छ ।
७) मगरातको झण्डा सम्बन्धमाः
मगरातको झण्डा निर्माण गर्ने निर्णय भएको छ । जसमा रातो पृष्ठभूमिमा सुनौलो रंगको तीन वटा तारा र धनुषबाँण चिन्ह भएको छ ।
जसमा रातो रंगको परिभाषा क्रान्ती अर्थात परिवर्तन, सुनौलो रंगको परिभाष स्वर्णिम भविश्यको लक्ष्य प्राप्ति, धनुषवाँणको अर्थ हाम्रो इतिहास, तीन तारा मध्ये पहिलो ताराको अर्थ पहिचान, दोस्रो ताराको अर्थ अधिकार र तेस्रो ताराको अर्थ सम्मृद्धि हुने गरि व्याख्या गरिएको छ । झण्डा स्वयम नेपाल मगर संघ केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले निमार्ण गरेका छन ।
मगराँत संघर्ष समिति, नेपालको परिपत्र र नेपाल मगर संघ र संयुक्त मगर मञ्चको प्रेषबिज्ञप्ति पढ्न यो लिङ्क थिच्नुहोस ।