मोतीलाई सम्झेर…

Read Time:5 Minute, 27 Second

मनोज घर्तीमगर

  पोखरामा हरेक शनिबार कुनै न कुनै साहित्यीक कार्यक्रम भएकै हुन्छन् । कहिलेकाँही त कार्यक्रम गर्नलाई यहाँ प्रतिस्पर्धा चल्छ । सँधै भइरहने साहित्यिक गनथनभन्दा यो शनिबार पोखरेलीले फरक स्वाद पाए । कार्यक्रम थियो, नेपालमा गजल भित्र्याउने मोतीराम भट्टको सम्झनामा ‘बिशेष गजल वाचन तथा गायन’ ।

यी सानै उमेरदेखि मन हर्न लागे
यीनै सुन्दरीले जुलुम गर्न लागे ।
कहाँ सम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनि तर्न लागे ।

  गजल सन्ध्या पोखराका सहसचिव मोहन भण्डारीले मोतीराम भट्टको यहि गजल वाचन गरेपछि पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा गजलको माहोल सुरु भयो । मोतीराम भट्टको १५० औँ जन्म जयन्तीका अवसरमा गरिएको कार्यक्रम पोखराका अग्रज गजलकार तीर्थ श्रेष्ठले आफ्नो ३६ वर्ष पुरानो गजल वाचन गरेर उद्घाटन गरे । आफ्नो लेखनको युवा काल सम्झँदै कविका श्रेष्ठले वर्तमान युवा पुस्ताको गजलबाट आफू प्रभावित भएको सुनाए । ‘युवाका गजल सुन्दा म पनि युवा भएको महसुस गर्छु’ कविका रुपमा बढी परिचित गजलकार श्रेष्ठले भने, ‘नाक खुम्च्याउनेहरुलाई आजका गजलले गतिलो जवाफ दिएको छ ।’

मोतीरामकै सम्झनमा गरिएको कार्यक्रममा त्यसपछि पोखरा र बाहिरका कहलिएका गजलकारले आआफ्ना गजल सुनाएर दर्शकलाई उचाले । ललितपुरका गजलकार समिर हुमागाईं स्टेज उक्लिए । अनि वाचन गरे यस्तो गजल ।

पानीको आकार जे पनि हुनसक्छ
जसरी मान्छेको विचार जे पनि हुनसक्छ ।
बर्षौंपछि कोइला पनि हिरा बनिदिन्छ
समयको आविष्कार जे पनि हुनसक्छ ।

मोतीलाई सम्झेर पोखरा आएका देशभरका १० गजलकार अतिथीका रुपमा थिए । ती मध्ये उमेरले सबैभन्दा साना थिए, कास्कीका विशाल थापा । मान्छे साना भएपनि उनका गजलले स्रोता दर्शकलाई उनी सानो भएको अनुभुति गर्न दिएनन् । तीन वटा गजल सुनाएका उनले ताली र वाहवाही पाइरहे ।

स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम थापा ‘अविरल’, अछामका तपेन्द्र घोरासैनी, गोरखाकी सुमी प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समीर हुमागार्इँ, कास्कीका विशाल थापा, कृष्ण देवकोटा, कृष्ण अधिकारी ‘त्रुपक’ र पवित्रा भण्डारी ‘पारु’ले गजल वाचन गरिरहँदास्रोता दीर्घाबाट सेरैपिच्छे बज्ने तालीको गड्गडाहटले गजलकारहरु जोसपूर्वक सेरहरुमा आरोह अवरोह मिलाउँदै थिए । कार्यक्रमको सहजीकरण गरिरहेका संयोजक अमृत सुवेदी ‘गुराँस’ले गजलकारहरुलाई वाह्वाही थप्दै हौस्याइरहेका देखिन्थे । ‘नेपाली साहित्यप्रति पोखरेली उद्योगी व्यवसायीको धेरै सकारात्मक सहयोग पाएका छौं’ कार्यक्रमको माहोल देखेर संयोजक अमृत हौसिए, ‘पोखरेली साहित्यलाई उचाई दिन गाह्रो छैन । अब साहित्य पनि बिक्न थालेको छ ।’

एकै गजलकारले पनि कहिले प्रणयले लछप्पै भिजेका गजलहरुमा माधुर्य भर्दै थिए त कहिले राष्ट्रियताले ओतप्रोत गजल प्रस्तुतीमा हौसिएका थिए । हरेकले ३/३ गजल प्रस्तुत गरेका कार्यक्रममा गायक विनोद बानियाँ, नरजङ गुरुङ र केशव आचार्यले मोतीरामलगायत अन्य विभिन्न गजलकारका गजल गाउँदासम्म दर्शक दीर्घा मन्त्रमुग्ध बन्थ्यो । ‘म गजललाई खासै बुझ्दिन, तर गजल गुनगुनाउँछु’ गायक बिनोद बानियाँ हार्मोनियम समाउँदै मुसुक्क हाँसे,‘दर्शक स्रोताले दिने यस्तै वाह्वाही र तालीले गजल गाउन उर्जा दिन्छ ।’

अध्यक्ष बिर्सना बस्नेतले मोतीरामको गजलकारिताको चर्चा गर्दै भदौ महिनालाई गजल सन्ध्याले गजल प्रतिभा सम्मान र पुरस्कार वितरण, अक्षरयात्रा, महफिललगायतका कार्यक्रमसहित गजलमय बनाएको बताईन् । कार्यक्रमममा गजल वाचन र गायनमा सहभागी स्रष्टाहरुलाई अध्यक्ष बस्नेतसँगै सल्लाहकारहरु दीपक समीप, ईश्वरमणि अधिकारी, रुपिन्द्र प्रभावी, कपिल शर्मा, उदिपराज ढुङ्गानालगायतले पारिश्रमिक र मायाको चिनो वितरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %