तमुहरू पहिचानका लागि बलिदान दिन तयार होऔं : प्रा.डा. ओम गुरुङ (फोटो सहित)

Read Time:11 Minute, 51 Second

तमुवान संयुक्त संघर्ष समितिद्धारा पोखराको लखनचोकमा धर्ना सम्पन्न

हुम तमु

  पोखरा, २६ भदौ – नयाँ बन्ने संविधान तमु लगायत विभेदमा पारिएको जातिको अधिकार, तमुवान प्रदेश घोषणा, धर्म निरपेक्ष राष्ट्र कायम, पुर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता सहितको माग राख्दै तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले शनिवार पोखराको लखनचोकमा सडक धर्ना सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख वक्ता नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, आदिवासी जनजाति अगुवा प्राध्यापक डाक्टर ओम गुरुङले नयाँ बन्ने संविधानमा संवैधानिक रुपबाटै जातिय पहिचान सुनिश्चित गराउन आफु बलिदान दिन तयार रहेको र तमुवानी जनतालाई कुर्वानीका लागि तयार रहन आग्रह गरे ।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता समेत रहेका गुरुङले पहिचानको आधारमा संघीय प्रदेश, समानुपातिक प्रतिनीधित्व, धर्म निरपेक्ष राष्ट्र, बहुभाषिक नीति हाम्रो पहिचान र अस्तित्वसँग जोडिएको समानताको माग नयाँ बन्ने संविधानले नसमेटेसम्म पहिचानका आन्दोलन सशक्त ढंगले अघि बढ्ने दावी गरे ।   पहिचान, अस्तित्व र अधिकारका लागि करिब एक महिनादेखि भईरहेको आन्दोलनलाई अल्मल्याउन सरकारले थारुवान र मधेशीलाई वार्ताको ललिपप देखाएको भन्दै वार्तामा नफस्न सुझाव दिए ।

१६ बुँदे सहमतिका कारण थरुहट, मधेशी लगायतका आन्दोलन र मुलकुमा आतंक निम्त्याएको आरोप लगाए । थरुहटको कार्यक्रमलाई सम्बोधन गरेर पोखरा आइपुगेका डा. गुरुङले थरुहटमा राज्यले आतंक मच्चाएको छ भन्दै टिकापुरमा घरबाट थारुहरु घरबाट निस्कन पाएका छैनन, घाइतेले उपचार गर्न अस्पताल पुग्न सक्ने अवस्था छैन भने । सभामा उनले थारुवान आन्दोलनकारीहरुको तर्फबाट तमुवान आन्दोलनलाई ऐक्यवद्धता सन्देश पठाएको जानकारी गराए ।

पहिचानको मागलाई एमाओवादीले धोका दिएको भन्दै जनयुद्धको अपमान नगर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिए । यसरी नै नेपालमा शासन टिकाउन सरकारमा रहेकाहरुले हिन्दु मुलुक फर्काउने कुचेष्टा गरिरहेको भन्दै खबरदारी गरे ।  

बन्दुकको बलमा आउने संविधानको प्रतिकार गर्ने : आलेमगर

 आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले तमुवान जातको राज्य होइन, जातिय पहिचानको अधिकार सहितको प्रदेशको माग गरेको बताउँदै पहिचानलाई जातिय साम्प्रदायिकतको कुप्रचार गरी बाध्य पारिए जातिय युद्ध लड्ने चेतावनी दिए । शासकहरुले मुलुकलाई जवरजस्त जातिय युद्धमा धकेल्न खोजेको आरोप लगाए । उनले बन्दुकको बलमा संविधान जारी गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।आदिवासी जनजाति अगुवा आङकाजी शेर्पालाई सरकारले पक्राउ गरि साइवर अपराधको अभियोग लगाएको आपत्ति जनाउदै शेर्पालाई तत्काल विना शर्त रिहाई गर्न माग गरे ।  

आन्दोलनहरु एकिकृत गरिए वादशाहहरु ढल्ने : संग्रौला

प्रगतिशील लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले सभालाई सम्बोधन गर्दै विगतदेखि उत्पिडन सहेकाहरु र पहिचानको माग गरिरहेकाहरु एक भएर आन्दोलित भए तानाशाहहरु चिहानमा गाडिने चेतावनी दिए ।

उनले अहिलेको सत्ता ज्ञानेन्द्रको फौजी शासन भन्दा कठोर बन्दै जनता माथि गोली बर्षाएको बताए । मेचीदेखि महाकाली सम्मका उत्पिडितको मागेको अधिकार समानताको, पहिचान र अस्तित्वको हो, अन्तिरिम संविधानमा लेखिएकै अधिकार नयाँ संविधानमा सुनिश्चित होस भन्ने हो तर शासकहरु मुलुकलाई पछाडि फर्काउन षडयन्त्र गरिरहेको उनको आरोप थियो । अन्तरिम संविधानमा हस्ताक्षर गर्नेहरु नै धर्म निरपेक्षता हटाएर मुलुकमा धार्मिक युद्ध निम्त्याउन खोजेको उनको भनाई थियो । अहिले बन्दुकको भरमा संविधान थोपर्न खोजिदैछ भन्दै त्यस्तो संविधान जारी हुने वित्तिकै च्यातिने दावी गर्दै पहिचान सुनिश्चित गराउन तमुवान प्रदेश घोषणा गर्नुपर्नेमा जोड दिए ।

तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष जितबहादुर तमु मामाले देश जलिरहेको बेला अधिकार नदिए तमुवान पनि जल्ने चेतावनी दिए । पहिचानसहितको तमुवान घोषणा नगरिए युद्ध लड्ने घोषणा गर्नुहुदै मामाले आदिवासी जनजातिलाई अधिकार विहीन बनाउन षडयन्त्र गर्नेहरु ज्ञानेन्द्रको छाप्रो शरण लिनुपर्ने अवस्था नआओस भने ।

नेपाल मगर संघका पूर्व केन्द्रीय महासचिव अधिवक्ता सुरेन्द्र थापामगरले राजतन्त्र भन्दा निरंकुश बनेको सरकारलाई बारुद मिसिएको आदिवासी जनजातिको रगत विष्फोटको अवस्था नआओस भन्ने चेतावनी दिए । बाँकेबाट चुनाव जितेका प्रभानमन्त्री शुसील कोइराला आफ्नो क्षेत्रमा पुग्न सक्दैनन, रौतहटबाट निर्वाचित माधव नेपाल रौटहट जान सक्ने अवस्था छैन, तराईबाट सभासद बनेका प्रचण्ड आफ्नो ठाँउमा पुग्ने अवस्था नरहेकाहरुले अझै पनि बहुमत जनसंख्यामाथि मिचेर, मारेर शासन चलाउन खोजेको भन्दै आपत्ति प्रकट गरे । मुलुकका ७० प्रतिशत जनताले जलाईसकेको संविधानका मस्यौदा होइन, तमुवान प्रदेश, मगराँत प्रदेश, थरुहट लगायतको पहिचान सुनिश्चित भएको संविधान जारी गर्न माग गरे ।

नेपाल तामाङ घेदुङ कास्कीका प्रमुख सल्लाहकार दीपक तामाङले शरिरमा एक थोपा रगत हुञ्जेल पहिचानको आन्दोलनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै विगतमा विभेदमा पारिएका जनता, समुदायको अधिकार सुनिश्चित भएको संविधान जारी नगरे ढाकाटोपीधारी श्री ३ लाई आन्दोलनबाटै सडकमा ढाल्ने चेतावनी दिए ।

अल्पसंख्यक समुदायका तर्फबाट मन्तव्य व्यक्त गर्दै ज्योति भट्टचनले सबै जाति, समुदाय, वर्ग, क्षेत्र, लिंगको पहिचानको सम्मानले मुलुकको समृद्ध हुने बताउदै पहिचानहरुको संवैधानिक सुनिश्चितताको माग गरे । उनले मधेश, थारु र आदिवासी जनजातिको अधिकारमुखी आन्दोलनलाई एकिकृत गरेर अघि बढ्नुपर्ने बताउदै नचाहिदो ढिपी नगर्न हिन्दुहरुलाइ आग्रह गरे ।

धार्मिक समुदायको तर्फबाट सम्बोधन गर्दै आचार्य थुप्तेन ऐशे गुरुङले धर्म निरपेक्षतामा मात्रै सबै धर्मको सम्मान हुने भन्दै धर्म निरपेक्षता कायम गर्न माग गरे । धर्म निरपेक्षता नहुदा एउटै तहको प्रमाणपत्र प्राप्त बौद्ध र हिन्दुलाई फरक फरक व्यवहार हुने गरेको दुखेसो गरे । उनले तमुवान तमुहरुको पहिचान भएकाले तमुवान प्रदेश घोषणा गरिनुपर्नेमा जोड दिए ।

महिला अधिकारकर्मी अधिवक्ता जुनाकुमारी गुरुङले विगतदेखि विभेदमा पारिएकाहरु अधिकारका लागि एकतावद्ध आन्दोलनमा जुट्नुपर्ने बतादै ५१ प्रतिशत महिलालाई अंश र बंशको मात्रै नभई समानुपातिक प्रतिनीधित्वको सुनिश्चितता हुनुपर्ने बताए । उनले आइएलओ १६९, युएनड्रिप लगायतको अन्र्तराष्ट्रिय सम्झौताहरुको आधारमा नयाँ संविधान निर्माण हुनुपर्नेमा जोड दिए । उनले थरुहटमा थारुहरु माथि गरिएको अमानवियताका विरुद्ध मावअधिकारकर्मी, पत्रकारहरु नबोल्दा पहिचानका विरुद्ध भइरहेको षडयन्त्रको पर्दाफास भएको बताए ।

दलित समुदायको तर्फबाट बोल्दै रामबहादुर नेपालीले दलित भनेर आफुहरुलाई अपमानित गर्दै आएको तर, आफुहरु शिल्पी समुदाय भएको दावी गरे । उनले पहिचान सहितको तमुवान प्रदेश घोषणाको माग गर्दै शिल्पी समुदायका लागि छुट्टै प्रदेश घोषणा गर्न आग्रह गरे ।

कार्यक्रममा प्रगतिशील लेखक, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौंलालाई पहिचानको पक्षमा आन्दोलित भएको भन्दै तमुवान संयुक्त संघर्ष समितिका अध्यक्ष हुमबहादुर तमुले भाङ्ग्राद्धारा सम्मान गरेका थिए।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती र संचालन संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले गरेका थिए । कार्यक्रममा कलाकार सुवेदार जसबहादुर गुरुङले गित प्रस्तुत गरेका थिए भने किराँत सेवा समितिको तर्फबाट मौलिक धुन प्रस्तुत गरिएको थियो । धर्ना सभामा विभिन्न संघ संस्था, समुदायको तर्फबाट संस्थागत बृहत सहभागिता रहेको थियो भने कार्यक्रम पाँच घण्टा संचालन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %