मनोज घर्तीमगर
बजारमा रियालिटी शो को लहर चलेको छ । पाँच/छ वर्षदेखि सुरु भएका रियालिटी शो पछिल्लो समय पोखरामा हप्तैपिच्छै भइरहेका छन् ।
गायनमा होस् वा अभिनय । नृत्यमा होस वा अन्य विधामा । पोखरामा यतिबेला रियालिटी शो गर्ने प्रतिस्पर्धा चलेको छ । गायन र नृत्य विधामा नवप्रतिभा खोज्नलाई गएको वर्षबाट थपिएको छ, कास्की लेखनाथको सुरताल कला केन्द्र । केन्द्रले अघिल्लो वर्ष गरेको प्रतियोगिता भव्य सफल भएपछि यस वर्ष पनि सुरताल सिजन २ गर्ने भएको छ । कला केन्द्रले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पश्चिमाञ्चलका जिल्लामा फरक–फरक समयमा अडिसन लिएपछि अन्तिम चरणको प्रतिस्पर्धा पोखरामा सम्पन्न हुनेछ । प्रतियोगिताका लागि भादै २६ गते स्याङ्जा र गल्याङ, असोज २ गते पोखरा, ९ गते लेखनाथ, १५ गते बागलुङ, १६ गते बेनी, २७ गते लमजुङ, ३० गते तनहुँ, कात्तिक ७ गते पाल्पा र १४ गते बुटवलमा अडिसन लिइने संयोजक प्रशान्त सुनारले जानकारी दिए ।
पाँच लाख खर्च लाग्ने प्रतियोगिताको निर्णायकमा नृत्यतर्फ अनुशिलन कला पाठशालाका गोरे गुरुङ, प्रीति गुरुङ, र दिपसागर, गायनतर्फ रामभक्त जोजिजु, योगेश काजी र प्रकाश नेपाली रहेका छन् । प्रतिस्पर्धामा गायन र नृत्य दुवै विधाका विजेताले एक/एकथान हाडफोर्ड स्कुटर पुरस्कार पाउनुका साथै गीत रेकर्ड तथा म्युजिक भिडियो रेकर्ड गर्ने अवसर पाउने संयोजक सुनारले बताए । उपबिजेतालाई जनही २० हजार गीत, रेकर्ड तथा म्यूजिक भिडियो तथा उत्कृष्ट नृत्य निर्देशकलाई सामसुङ ब्राण्डको मोवाइल पुरस्कार प्रदान गरिनेछ ।